Comments Add Comment

‘म कोरोना भाइरस होइन, कलकत्तामै जन्मिएको हुँ’

१६ चैत, काठमाडौं । भारतको कोलकाता (कलकत्ता)मा एउटा ठाउँ छ, वाले टेङ्गरा । यसलाई ‘चाइना टाउन’ वा ‘मिनी चाइना’ भनिन्छ । किनभने यहाँ चिनियाँ मूलका धेरै भारतीय नागरिकहरु साढे दुई सय वर्ष अगाडिदेखि बस्दै आएका छन् ।

जब कलकत्तामा कोरोना भाइरसको संक्रमण फैलिन थाल्यो र एक जनाको ज्यान गयो । तब ‘चाइना टाउन’मा बस्दै आएकाहरुको कडा आलोचना हुन थाल्यो । वरपरका बासिन्दाको आलोचनाले गर्दा उनीहरुलाई बसिनसक्नुभयो । जबकी मिनी चाइनामा बसेकाहरु धेरैजसो यस्ता व्यक्ति छन् जो कहिल्यै चीन गएका छैनन् ।

तर, पनि वरपरका बासिन्दाले हेप्न नछाडेपछि उनीहरु घर बाहिर निस्किन बन्द गरे । पत्रकारहरुले क्यामरा तेर्साउनासाथ उनीहरुले आफ्नो अनुहार लुकाउन थाले र कुरा गर्न पनि इन्कार गरे ।

स्थिति यस्तोसम्म भयो कि चाइना टाउनमा बस्नेहरुले आफूले लगाएको टिसर्टमा एक सन्देश छपाउन थाले । त्यो सन्देशमा लेखिएको छ, ‘म कोरोना भाइरस होइन, मेरो जन्म कलकत्तामै भएको हो र म कहिल्यै चीन गएको छैन ।’

चिनियाँ मूलका भारतीय फ्रान्सिस यी लेप्चाको परिवारको तेस्रो पुस्ता अहिले कलकत्ताको मिनी चाइना भनिने वाले टेंगरा भन्ने इलाकामा बस्दै आएका छन् । फ्रान्सिसलाई यसअघि आफ्नो रुपरंगको कारण कुनै पनि प्रकारको जातिगत भेदभाव सहनु परेको थिएन । तर, कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि स्थानीयबासीले उनलाई ‘कोरोना’ भनेर बोलाउन थाले । उनलाई अहिले चिनियाँ मूलको हुनु अभिशाप जस्तो भएको छ ।

खासगरी विगत दुई हप्ताको बीच धेरै कुरा बदलिएको अनुभव उनले गरेका छन् । हैरान भएपछि उनले आफ्नो टिसर्टमा ‘म कोरोना भाइरस होइन, मेरो जन्म कलकत्तामै भएको हो । म कहिल्यै चीन गएको छैन,’ भन्ने सन्देश लेखेर लगाउन बाध्य भए ।

फ्रान्सिस भन्छन्, ‘म त एक सय प्रतिशत पनि चिनियाँ होइन । मेरो हजुरबुबा भारत आएपछि दार्जिलिङकी लेप्चा जनजातिकी केटीलाई बिहे गर्नुभएको थियो ।’

तर, उनले ओडिसाको भ्रमण गर्दा र रेलको यात्रा गर्दासमेत नश्लभेदी टिप्पणीको सामना गर्नुपर्‍यो । त्यसपछि उनी बिदा लिएर कलकत्ता फर्किए र आफ्नो टिसर्टमा ‘म कोरोना भाइरस होइन…’ भन्ने सन्देश लेखेर लगाउन थाले । त्यसपछि उनको नक्कल गर्दै अरुले पनि यस्तै सन्देश लेखिएको कपडा लगाउन सुरु गरे । आफूहरुको यो तरिकाले अब स्थानीयको सोच बदलिन्छ भन्ने फ्रान्सिसको विश्वास छ ।

कोरोना भाइरस भनेर हेपिने फ्रान्सिसमात्र एक्ला व्यक्ति होइनन् । चाइना टाउनका धेरै युवा, युवतीहरुले बस, रेल र सार्वजनिक स्थानमा यस्तै नकारात्मक टिप्पणी सहनुपरेको छ ।

चाइना टाउनमा बस्ने चिनियाँ मूलका धेरै व्यक्तिलाई चीनको मतलब छैन । त्यहाँ धेरै व्यक्तिहरु कहिल्यै चीन गएका पनि छैनन् । तर, आफ्नो मंगोलियन स्वरुपका कारण उनीहरुले विभेद सहनुपरेको छ ।

नेपाली मूलका साथै पूर्वोत्तर राज्यका धेरै युवायुवती पनि चिनियाँ जस्तो देखिने भएकाले नकारात्मक टिप्पणी सामना गर्नुपर्ने बिडम्बना छ ।

फ्रान्सिस भन्छन्, ‘म दार्जिलिङ या पूर्वोत्तरका जनतालाई देखेर दुःखी हुन्छु । भारतीय नागरिक हुँदाहुँदै पनि उनीहरुलाई पनि चिनियाँ भनिन्थ्यो । अहिले भने सबैलाई कोरोना भनिन्छ ।’

‘चाइना टाउन’को इतिहास

कलकत्तासँग चिनियाँ समुदायको सम्बन्ध करिब साढे दुई सय वर्ष पुरानो छ । ब्रिटिश भारतका पहिलो गभर्नर जनरल वारेन हेस्टिङ्ग्सको कार्यकालमा सन् १७७८ मा चिनियाँको पहिलो टोली कलकत्ताभन्दा करिब ६५ किलोमिटर टाढा डायमण्ड हार्बर भन्ने स्थान नजिक उत्रिएको थियो । उनीहरुले कलकत्ता बन्दरगाहमा मजदुरको रुपमा काम गर्न सुरु गरे । त्यसपछि रोजगारीको सिलसिलामा अरु मानिसहरु पनि कलकत्ता आउन थाले र त्यहीँ बस्ती बसाए ।

उनीहरुले दाँत, छाला र सिल्क कपडाको व्यापार सुरु गरे । केहीले महानगरको पूर्वी क्षेत्रमा छाला कारखानासमेत खोले ।

एक जना चिनियाँ नागरिक याङ्ग ताई चो (जसलाई यहाँका मानिसहरुले टोङ्ग एच्यु भनेर चिन्दछन्) ले यहाँ चिनी कारखाना पनि स्थापना गरे । मूलरुपमा उनी चिया व्यापारी थिए ।

वारेन हेस्टिङ्ग्सले कलकत्ताबाट करिब ३० किलोमिटर टाढा बजबज भन्ने ठाउँमा उखुको खेती गर्न र चिनी कारखाना खोल्न आफ्नो जग्गा भाडामा दिएका थिए । इस्ट इन्डिया कम्पनीको वर्ष १७७८ को रेकर्डअनुसार टोङ्गलाई हुगलीको किनारामा वार्षिक ४५ रुपैयाँ दिने गरी लगभग ६५० बिघा जग्गा भाडामा दिइएको थियो ।

उनले कारखानामा काम गर्नका लागि बिस्तारै बिस्तारै आफ्नो गाउँका मानिसहरुलाई बोलाए । उनीहरुको मुख्य बसोबास मध्य कलकत्ताको तिरट्टी बजार र पूर्वी क्षेत्रको टेंगरामा थियो । पछि यो क्षेत्र ‘चाइना टाउन’को रुपमा चर्चित भयो ।

फिक्का छ चाइना टाउन

कुनै जमानामा यो क्षेत्रमा चिनियाँ मूलका नागरिकको जनसंख्या २० हजारभन्दा बढी थियो । तर, १९६२ को भारत–चीन युद्ध भएपछि उनीहरुलाई लखेटियो । सयौं चिनियाँहरुलाई उनीहरुकै देश फर्काइयो । केही मानिसहरु रोजगारीको सिलसिलामा युरोप, अमेरिकातिर पुगे । कुनै जमानामा २० हजार रहेका चिनियाँ मूलका नागरिक सन् २००१ को जनगणना अनुसार जम्मा एक हजार ६ सय ४० छ ।

८० वर्षीय मिङ्ग भन्छन्, ‘मिनी चाइना भनिने कलकत्ताको बस्ती अहिले कठिन संक्रमणकालबाट गुज्रिरहेको छ । पहिले यहाँ सधैंभरी चहलपहल भइरहन्थ्यो । अहिले भने फिक्का छ । यहाँका धेरै युवायुवती काम खोज्दै पश्चिमी देशमा पलायन भएका छन् ।’

बिगत चार–पाँच दशकदेखि कलकत्तामा रोजगारीको अवसर घट्दै गएको छ । त्यसैले धेरै युवायुवती पलायन भएका छन् । हरेक महिना कुनै–कुनै व्यक्ति अमेरिका वा क्यानडा गइरहन्छन् ।

यो क्षेत्र चिनियाँ परिकार खान पाइने रेष्टुरेण्टहरुका कारण पनि चर्चित छ । तर, अहिले कोरोना भाइरसको संक्रमणको मारमा धेरैजसो होटल रेष्टुरेन्टहरु बन्द भएका छन् ।

कोरोना भाइरसको कारण यहाँ बसोबास गर्नेहरुको जीवन झनै कठिन बनेको छ । यद्यपि प्रतिकूल परिस्थितिका बाबजुद पनि फ्रान्सिस जस्ता युवाहरुले स्थानीयबासीको सोच बदल्ने प्रयास गरिरहेका छन् ।

बीबीसी हिन्दीबाट अनुवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment