+
+
Shares

एम्बुलेस चालकको गुनासो : ज्वरोका बिरामी बोक्दा डर लाग्छ

सुवास पण्डित सुवास पण्डित
२०७६ चैत १६ गते २०:०३

१६ चैत, चितवन । धादिङका एम्बुलेन्स चालक लक्ष्मण जमरकट्टेल बिरामी लिएर चितवनको भरतपुर आए । उनले सामान्य कपडाको मास्क लगाएका थिए । जमरकट्टेलको जस्तै अवस्था छ अधिकांश एम्बुलेन्स चालकको ।

नेपाल रेडक्रस सोसाइटीमा आबद्ध एम्बुलेन्स चालकले सामान्य पीपीई लगाए पनि निजी अस्पताल तथा विभिन्न संघसंस्थाका एम्बुलेन्स चालकले भने अहिलेसम्म पीपीई पाएका छैनन् ।

उनीहरु जोखिम नै मोलेर एम्बुलेन्स चलाइरहेको बताउँछन् । ‘बिरामी ल्याउनुपर्‍यो भनेर फोन आउँछ, नजाने कुरा भएन जाँदा कोरोना सल्किएला कि भन्ने’ एम्बुलेन्स चालक सुमन घलानले भने, ‘घर परिवारको दबाब पनि उत्तिकै हुन्छ नजा भन्ने ।’

चितवनका एम्बुलेन्स चालकहरुको संघका अध्यक्षसमेत रहेका उनलाई अन्य एम्बुलेन्स चालकहरुले पनि पीपीई नभएको गुनासो गर्ने गरेका छन् । ‘साथीहरुले मलाई पनि भन्नुहुन्छ, मैले पाएको छैन, कसरी उपलब्ध गराउने’ घलानले भने ।

कोरोना भाइरसबाट संक्रमित भएका वा संक्रमणको आशंका गरिएका बिरामीको ओसारपसार गर्नेलाई सरकारले सुरक्षाको सामग्री उपलब्ध गराउनुपर्ने अध्यक्ष घलानले बताए ।

चितवनमा ८० वटा एम्बुलेन्स सञ्चालनमा छन् । तीमध्ये जिल्लामा रेडक्रसका १५ एम्बुलेन्स छन् । नेपालभर चार सय ५० को हाराहारीमा एम्बुलेन्स रहेको संयुक्त एम्बुलेन्स चालक संघ नेपालका राष्ट्रिय अध्यक्ष नवराज लामिछानेले बताए ।

रेडक्रसबाहेकका अन्य संस्थाका एम्बुलेन्स चालक मास्क र पन्जाको भरमा बिरामी बोक्दै आएका छन् । उनीहरुले आफूहरुसँग सेनिटाइजरसमेत नभएको गुनासो गर्छन् ।

संघका राष्ट्रिय अध्यक्ष लामिछानेका अनुसार एम्बुलेन्स चालकहरु ज्वरोका बिरामी बोक्दा डराउने गरेको बताए । ‘अन्य समस्या भएका बिरामीलाई बोक्दा त केही भएन’ अध्यक्ष लामिछाने भने, ‘तर ज्वरो, रुघाखोकीका बिरामी बोक्दा मनै ढक्क भएर फुल्छ ।’

उनले राज्यले अहिलेसम्म एम्बुलेन्सको सुरक्षाको योजना नबनाएकोले देशभरका चालकहरु जोखिममा रहेको बताए । ‘बिरामी हेर्ने डाक्टरलाई पीपीई चाहिने, नर्सलाई चाहिने, तिनै बिरामी बोक्ने एम्बुलेन्सलाई नचाहिने भन्ने त हुँदैन नि’ अध्यक्ष लामिछानेले भने ।

कोरोना भाइरस संक्रमणको सन्त्रासपछि केही निजी अस्पताल र संस्थाहरुहरुले एम्बुलेन्स लुकाएको आरोप लाग्न थालेको छ । कोरोना संक्रमणको आंशका गरिएका बिरामीहरुको ओसारपसारका लागि भरतपुर कोरोना अस्पतालमा संयुक्त एम्बुलेन्स चालक संघले दुई एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?