Comments Add Comment

चीनबाट के–के आयो ? सोमबार सातै प्रदेशमा पुर्‍याइँदै

एक लाख किट्स आइपुगे, परीक्षणको दायरा बढाउने तयारी

चीनबाट ल्याइएको स्वास्थ्य सामग्री । तस्वीर : रासस

१६ चैत, काठमाडौं । चीनबाट सरकारले किनेका ११ प्रकारका मेडिकल सामग्री आइतबार नेपाल वायु सेवा निगमको चार्टर्ड विमानबाट काठमाडौं आइपुगेका छन् ।

पीपीए र किटलगायतका सामग्री आइसकेपछि अब सरकारले सोमबारदेखि देशभरका तोकिएका अस्पतालबाट बढीभन्दा बढी आशंकित व्यक्तिहरुको कोरोना संक्रमण परीक्षण गर्ने भएको छ ।

चिकित्सकहरुको व्यक्तिगत सुरक्षा उपकरण पीपीएसहितका टेस्ट किटहरु आइसकेकाले अब तीब्र रफ्तारमा संक्रमण परीक्षण हुने स्वास्थ्य मन्त्री भानुभक्त ढकालले अनलाइनखबरलाई बताए ।

चिनियाँ निजी कम्पनी र दूतावासमार्फत अनुदानमा आएका सामानसमेत सातै प्रदेशमा वितरण गरिने स्वास्थ्य मन्त्री ढकालले बताए । ती सबै सामान र उपकरण संक्रमण परीक्षणका लागि आवश्यक हुन् ।

के–के आए सामान ?

नेपाल सरकारले चीनबाट किनेर ल्याएका अत्यावश्यक सामाग्रीमध्ये प्रोटेक्टिभ गगल्स ५ हजार थान छन् । त्यस्तै कोभिड १९ कै लागि निर्मित र्‍यापिड डायग्नोस्टिक किट ७५ हजार थान आइपुगेका छन् ।

मन्त्रालयका अनुसार पाँचवटा पोर्टेबेल पीसीआर मेसिन ल्याइएको छ भने त्यसका लागि आवश्यक किट २० हजार थान आइपुगेका छन् । यो बाहेक सर्जिकल मास्क, पञ्जा, क्लोरिन, थर्मल गन पीआईआर लगायतका सामान छन् ।

चीनका विभिन्न व्यापारिक कम्पनी र सिचुवान प्रदेशबााट अनुदानमा ल्याइएका एन ९५ मास्क, पीपीईलगायतका आवश्यक मेडिकल सामग्रीहरु सोमबारबाटै तोकिएका अस्पतालहरुमा पुर्‍याइँदैछ ।

अहिले आएका सामग्री तत्काल धेरैभन्दा धेरै व्यक्तिको परीक्षण गर्नका लागि पर्याप्त रहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए ।

सरकारले काठमाडौं बाहिर पनि कोभिड १९ संक्रमणको जाँच गर्न सोमबारबाटै ल्याबहरु स्थापना गर्दैछ । त्यसका लागि पनि आवश्यक सामाग्रीहरु आइसकेकाले अब सरकारको ध्यान धेरैभन्दा धेरै मान्छेमा परीक्षण गरेर ढुक्क हुनेतर्फ केन्द्रित रहने मन्त्रालयका अधिकारीले बताएका छन् ।

काठमाडौं बाहेक धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारबाटै कोभिड १९ संक्रमणको जाँच प्रयोगशाला शुरु भइसकेको छ । सोमबार विहान १० बजेभित्र सातै प्रदेशका सरकारलाई चीनबाट किनेर ल्याइएका उपकरण तथा अन्य सामाग्री हेलिकोप्टरबाट लगेर हस्तान्तरण गरिने मन्त्री ढकालले बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले सरकारले खरिद गरेका ११ प्रकारका सामग्रीहरुमध्ये अधिकांश चिकित्सकको सुरक्षा पीपीई र प्रयोगशालामा नमूना परीक्षणका लागि आवश्यक छन् । यसको वितरण आइतबारबाटै शुरु भइसकेको र प्रदेशहरुमा सोमबार विहानै पठाइने उनले बताए ।

देवकोटाले भने, ‘यो वितरण भयो भने धेरै समस्या हल हुन्छ । हामी धेरैभन्दा धेरै व्यक्तिमा परीक्षण गर्न सक्छौं । अहिलेसम्म जो–जो संक्रमित छन्, उनीहरुका सम्पर्कका व्यक्ति ट्रेस भइसकेका छन् । उनीहरुसहित अन्य आशंकितहरुलाई पनि परीक्षण गरिनेछ । अब किट्स, पीपीई वा अन्य उपकरण नभएर परीक्षण हुन सकेन भन्ने अवस्था रहँदैन ।

सरकारसँग किनेका र अनुदानका सहित अब करीव एक लाख ‘टेस्टिङ किट्स’हरु छन् । सोमबार सबै प्रदेशमा ती सामान र उपकरण पुगेपछि एक साताभित्रै धेरैमा परीक्षण गर्ने तयारी छ । एक सातामा सातै प्रदेशबाट ३० हजारभन्दा बढी मान्छेको परीक्षण गर्न सकिने आँकलन भए पनि सरकारले संख्या भने तोकेको छैन ।

विदेशबाट आएर क्वारेन्टाइनमा बसेका वा विदेशबाट आएर पनि स्वास्थ्य परीक्षण गर्न नचाहेकाहरुलाई खोजी–खोजी परीक्षण गर्ने सरकारी अधिकारीहरु बताउँछन् । त्यसका लागि प्रदेश सरकार र स्थानीय सकारलाई बढी जिम्मेवारी दिइने छ । धेरैजसो स्थानीय तहले विदेशबाट आएकाहरुको विवरणसमेत संकलन गरिसकेका छन् ।

प्रदेशस्तरमा ल्याब स्थापनाका लागि केही सामान आइसकेकाले सोमबारबाटै काम शरु हुने विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताए । उनका अनुसार प्रादेशिक अस्पताल जनकपुर, हेटौंडा, पोखरा, बुटवल, नेपालगञ्ज,सुर्खेत र धनगढीमा कर्मचारी तथा विज्ञहरुको टिम खटाइसकिएको छ ।

मन्त्रालयका अनुसार सोमबार बिराटनगर, बुटवल, सुर्खेत र धनगढीका लागि आवश्यक उपकरण तथा चिकित्सक सुरक्षा सामाग्रीहरु सम्बन्धित प्रदेश सरकारलाई हस्तान्तरण हुँदैछन् ।

स्रोतका अनुसार एउटा प्रादेशिक अस्पताललाई यो चरणमा एक हजार थान पीपीई (चिकत्सकका व्यक्तिगत सुरक्षा उपकरण) दिइनेछ । त्यस्तै स्वास्थ्यकर्मीलाई आवश्यक एन–९५ मास्क १० हजार थान दिइनेछ भने १० हजार थान सर्जिकल मास्क दिन तयार पारिएको छ ।

केन्द्र सरकारले प्रदेशलाई २ हजार थान ग्लोब (पञ्जा), चार चार सय किलोग्राम क्लोरिन र दश–दशवटा थर्मल गन हस्तान्तरण गर्ने भएको छ । यति भएपछि पहिलो चरणमा परीक्षणको काम सहज हुने र अरु सामान एक दुई दिनमै पुनः सरकारले ल्याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विभागका महानिर्देशक श्रेष्ठले भने– हामीले मगाएका अत्यावश्यक सामानहरु आइसकेका छन् । अब ती ठाउँमा ल्याब तत्काल शुरु गरेर बढी भन्दा बढी परीक्षण गर्ने काम थाल्छौं । हामीले विदेशबाट फर्किएकाहरुलाई आफैं परीक्षण गर्न आउनुस भनेका छौं र खोजेर ट्रेस गर्छौं र सबै ठाउँमा धेरै संख्यामा परीक्षण गर्छौं ।

अहिलेसम्म सरकारले एक हजारभन्दा तलको संख्यामा मात्रै नमूना परीक्षण गर्नुको कारण यी उपकरण र सुरक्षा सामाग्री नभएकै कारण हो त ? यो प्रश्नको सपाट जवाफ छैन । तर, चिकित्सकको व्यक्तिगत सुरक्षा सामग्री र टेकु बाहेक अन्यत्र प्रयोगशालासमेत नभएका कारण धेरै व्यक्तिको नमूना परीक्षण हुन नसेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment