
१७ चैत, वीरगञ्ज । वीरगञ्ज–रक्सौल नाकामा नेपालबाट घर फर्किन लागेका झण्डै एक हजारको संख्यामा भारतीय नागरिक अलपत्र परेका छन् । नेपालका विभिन्न स्थानबाट वीरगञ्ज आएका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले भारत प्रवेश गर्न नदिएपछि उनीहरु अलपत्र परेका हुन् ।
काठमाडौं, पोखरा लगायतका स्थानमा मजदुरी, व्यापार गर्दै आएका उनीहरु घर फर्कन लागेका हुन् । नेपालका विभिन्न स्थानमा अलपत्र अवस्थामा रहेका उनीहरुलाई त्यहाँका प्रशासनले भारत पठाउनका लागि वीरगञ्ज पठाएको हो ।
नाकास्थित मितेरी पुलमै आइतबार मध्यरातदेखि रोकिएका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले भारततर्फ जान दिएका छैनन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन भारतमा २१ दिने लकडाउनको आव्हान गरिएको छ ।
बेतिया जानुपर्ने दिपक यादव सहित १० जनाको समूह छ । उनीहरुपनि नाकामा नै अलपत्र छन् । ‘भोकै प्यासै छौं, खानेकुरा पनि छैन, मितेरी पुलमा बसेका छौं,’ उनले भने, ‘नाकामा खटिएका सुरक्षाकर्मीले जान दिइरहेका छैनन् ।’
बिहार सरकारले आफूहरुलाई घर जान दिनुपर्ने माग उनीहरुको छ । भारतीय सीमाा सुरक्षा बलले स्वास्थ्य परीक्षणका लागि भनी राति १० बजेदेखि नै लाईनमा लगाएपनि स्वास्थ्यकर्मी समेत नआएको गुनासो उनीहरुले गरेका छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले उनीहरुको व्यवस्थापनका लागि वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावाससँग समन्वय भइरहेको बताए ।
प्रतिक्रिया 4