Comments Add Comment

कोरोना संक्रमित युवतीको परिवारका सदस्यको नमुना संकलन

१७ चैत, काठमाडौं । बागलुङ नगरपालिका ४ कुँडुलेकी कोरोना भाइरस (कोभिड १९) संक्रमित युवतीको परिवारका सदस्यहरुको पनि ‘थ्रोट स्वाब’ लिइएको छ ।

धौलागिरि अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको टोलीले सोमबार दिउँसो संक्रमितको परिवारका सात सदस्यको ‘थ्रोट स्वाब’ संकलन गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिए । संक्रमितका बुवा, हजुरबुवा, हजुरआमा, वहिनी, भान्जा र भान्जीको पनि स्वाब लिइएको हो ।

पारिवारिक भेटघाटका लागि दुई महिना अघि बेल्जियम पुगेकी उनी ४ चैतमा कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् । कतार एयरको त्यही फ्लाइटमा आएकी काठमाडौंकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि उनको पनि नमुना परीक्षण गरिएको थियो, जसमा पोजेटिभ रिपोर्ट आयो ।

त्यसयता संक्रमित युवतीको धौलागिरि अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

उनको अवस्था सामान्य रहेको र पुनः परीक्षणका लागि स्वाब लिइएको मेसु डा. विकले जानकारी दिए ।

परिवारका सदस्यहरु भने होम क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा बसेका आफूहरुलाई कुनै स्वास्थ्य समस्या नआएको संक्रमितका बुवाले जानकारी दिए ।

त्यस्तै दोस्रो संक्रमित चढेकै विमानबाट काठमाडौं आएका अर्का युवकको पनि थ्रोट स्बाव लिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरुङले जानकारी दिए । उनले भने, ‘जिल्लाबाट हाम्रो टिम गएर उहाँको स्बाव लिइसकेका छौँ ।’

बागलुङमा लिइएको थ्रोट स्बावको सबै नमुना परीक्षणको लागि सोमबार नै पोखरा पठाउने छ । पोखराबाट टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइनेछ ।

संक्रमित चढेको विमानमा थिए ५९ यात्रु

बेल्जियबाट आएकी युवती काठमाडौंबाट यति एयरलायन्सको विमानमा पोखरा पुगेकी थिइन् ।

उनी यति एयरलायन्सको फ्लाइट नम्बर ६७९ बाट पोखरा पुगेको पाएइको स्वास्थ्य कार्यालयले बताएको छ । विमानको यात्रुहरुबारे पत्ता लागिसकेको स्वास्थ्य कार्यालयका प्रमुख गुरुङले बताए ।

‘विमानमा ५९ जना थिए । पोखराबाट जिपमा ७ जना आएको भन्ने पत्ता लागेको छ’, प्रमुख गुरुङले भने, ‘विमानमा आएको २५ जनाभन्दा बढीलाई फोन गरी अवस्था बुझ्नुका साथै होम क्वारेन्टाइनमा बस्न भनेका छौं । अरुलाई पनि सम्पर्क गर्दैछौं ।’

यो पनि पढ्नुहोस ज्वरो आउँदा अस्पताल गइनन्, क्वारेन्टाइनमा पनि बसिनन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment