Comments Add Comment

लकडाउनले अलपत्र पर्यटकको उद्दार सकियो

लुक्लामा सोमबार बिहानै उद्दारका लागि ५ उडान

१७ चैत, काठमाडौं । सरकारले लकडाउनको अवधि बढाएसँगै अब तत्कालका लागि पर्यटकको उद्दार गर्ने काम रोकिएको छ । मुलुकहरुको आग्रहमा उनीहरुका नागरिकलाई काठमाडौं ल्याइसकिएको र केही पर्यटक स्वेच्छाले जुन स्थानमा छन् ।

त्यही सुरक्षित साथ बस्ने निर्णय गरेसँगै सोमबारबाट आन्तरिक रुपमा हुने उद्दारको काम सम्पन्न भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक लीला बानियाँका अनुसार अब कुनै मुलुकले ‘हामी चार्टर्ड फ्लाइट लिएर आउँदैछौं, पर्यटक काठमाडौं जम्मा पारिदेऊ’ नभनेसम्म पर्यटकहरुको उद्दारको काम रोकिएको हो ।

‘अब जुन पर्यटक जहाँ छन्, त्यहीँ सुरक्षित रहनेगरी उद्दारको काम तत्कालका लागि रोकिएको छ’ बानियाँले जानकारी दिए । सोमबार सोलुखुम्बुको लुक्लामा कुल पाँचवटा उडान भएका छन् । समिट एयरको दुई, नेपाल एयरलाइन्सको दुई र सीता एयरले एक उडान सोमबार गरेका थिए । यो उडानबाट २८ जना विदेशीसहित नेपाली पथप्रदर्शक र सहयोगीहरुलाई काठमाडौं ल्याउन लागिएको हो ।

अब केही पर्यटक लुक्लामै बसेपनि उनीहरु सुरक्षित व्यवस्थापन सहित रहेको बानिँयाले जानकारी दिए । सोमबार भने स्थलमार्गबाट थप अमेरिकी नागरिकहरुलाई काठमाडौं ल्याइँदैछ ।

कुल १३०१ जनाको उद्दार
यसअघि मुलुकको विभिन्न स्थानमा फसेका १३०१ जना पर्यटकलाई चार्टर्ड उडानमार्फत् काठमाडौं ल्याइएको थियो । गत बिहिबारबाट उद्दारको काम सुरु भएको थियो । यसमा नेपाल पर्यटन बोर्डको नेतृत्वमा रहेको क्राइसिस रेस्पोन्स युनिट खटिएको थियो । पर्यटक प्रहरीले यसमा महत्वपूर्ण भूमिका खेलेको निर्देशक बानियाँ बताउँछन् ।

ठमेलमा ठमेल पर्यटन विकास परिषद्ले उद्दार गरेपछि ल्याएको पर्यटकलाई व्यवस्थापन गरेको थियो । यसबाहेक नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा कम्पनीहरुले समेत महत्वपूर्ण भूमिका खेलेको उनले बताए । लुक्ला र पोखराबाट भने पर्यटकसहित काठमाडौं आउनुपर्ने नेपाली सहयोगी तथा गाइडहरुलाई समेत उद्दार गरिएको छ । शनिबार र आइतबार उनीहरुको उद्दार भएको छ ।

 अलपत्र अमेरिकी लगिँदै 

नेपालमा रहेका अमेरिकी नागरिकलाई फिर्ता लैजान मंगलबार जहाज आउनेभएको छ । अमेरिकी सरकारले कतार एयरवेजको जहाज चार्टर्ड गरेको छ । यो जहाज काठमाडौंबाट दोहा हुँदै वासिंटन डिसीस्थित डल्लास एयरपोर्ट पुग्ने अमेरिकी दूतावासले जनाएको छ ।

सोही कारण बोर्डले उनीहरुलाई स्थलमार्गबाट भएपनि काठमाडौं ल्याइरहेको छ । नेपालमा रहेका अमेरिकी नागरिकलाई अमेरिकाले मंगलबार चार्टर्ड उडानमार्फत् अमेरिका फिर्ता लैजाने जानकारी गराएसँगै नेपाल पर्यटन बोर्डले अमेरिकी नागरिकलाई काठमाडौंमा ल्याउन सहजीकरण गरिरहेको छ । पूर्वका विभिन्न जिल्लामा रहेका अमेरिकी नागरिक आज स्थलमार्गबाट काठमाडौं आइरहेको बोर्डले जनाएको छ ।

अष्ट्रेलिया जाँदै नेपाल एयरलाइन्स

नेपालमा रहेका अष्ट्रेलियाका नागरिकलाई भने नेपाल एयरलाइन्सले फिर्ता लगिदिने भएको छ । १ अप्रिल राति काठमाडौंबाट अष्ट्रेलियाका लागि नेपाल एयरलाइन्सको वाइडबडी जहाज उड्नेछ । यसका लागि नेपालस्थित अष्ट्रेलियन दूतावासले इच्छुक नागरिकबाट टिकट बुक गर्न आग्रह गरेको छ ।

युरोपियनलाई लैजान थप एक उडानको तयारी

नेपालमा रहेका युरोपेली युनियनअन्तर्गतका मुलुकका नागरिकलाई विभिन्न मुलुकको समन्वयमा फिर्ता पठाइएको छ । यसअघि तीन वटा चार्टर्ड उडान उडानमार्फत् कतार एयरवेजले नेपालमा रहेका नौ सयभन्दा बढी युरोपेली नागरिकलाई फिर्ता लगिसकेको छ।

अझै केही मुलुकका नागरिक नेपालमा रहेका र केही दिनपछि उनीहरुलाई समेत चार्टर्ड उडानगरी फिर्ता लैजाने आश्वासन नेपालस्थित दूतावासहरुले दिएका छन्। यसअघि कतार एयरवेजको उडानमा छुटेका पर्यटक त्यसबेला फिर्ता जाने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment