Comments Add Comment

कोरोना संक्रमित आएका जहाजका यात्रु खोज्न नाट्टाले सघाउने

१७ चैत, काठमाडौं । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले कोरोना संक्रमित बिरामीसँगै जहाजमा आएका थप यात्रुको पहिचान गर्न सहयोग गर्ने भएको छ । नाट्टाले विभिन्न एयरलाइन्समार्फत् नेपाल आएर कोरोना संक्रमण पुष्टि भएकासँगै आउनेहरुकाे विवरण खोजी गरी सम्बन्धित निकायमा पठाउन सहयोग गर्ने जनाएको हो ।

नेपालमा १७ मार्चमा कतार एयरवेजको क्युआर ६५० जहाजबाट आएका दुई जना र युएईको सारजहाबाट एयर अरेवियामार्फत् दिल्ली आई २० मार्चमा विस्तारा एयरलाइन्सबाट नेपाल आएका एक जनामा कोरोना पुष्टि भएको छ । उनीहरु आएको जहाजमा भएका यात्रु सबैको पहिचान भइसकेको छैन ।

संक्रमित यात्रुसँगै यात्रा गर्ने अन्यमा समेत संक्रमणको जोखिम उच्च हुने भएकाले उनीहरुको खोजीमा संस्थाले सहयोग गर्ने बताएको हो ।

नाट्टाले आफ्ना सदस्य कम्पनीलाई सम्बन्धित ट्राभल एजेन्ट्समार्फत् टिकट काटेर आएको भए त्यसको विस्तृत विवरण पठाउन पत्राचार गरेको छ । यसरी आएको यात्रुको विवरण नाट्टाले सरोकारवाला सरकारी एजेन्सीलाई उपलब्ध गराउने भएको हो ।

जसबाट थप यात्रुको पहिचानमा सहयोग पुग्नेछ । नाट्टाले विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमै देखा पर्न थालेको नकारात्मक असरबाट नेपाल र नेपालको पर्यटन क्षेत्र पनि नराम्रोसँग प्रभावित हुन थालेको अवस्थाप्रति दुःख समेत प्रकट गरेको छ ।

कठिन परिस्थितिमा राज्यद्वारा जारी गरिएको निर्देशन पालना गर्नु तथा कुनैपनि शैलीबाट राज्यलाई सहायता गर्नु नागरिकको दायित्व पनि रहेको नाट्टाले उल्लेख गरेको छ । नाट्टाले कोरोना भाइरसको महामारी बढ्दै गएकोले नेपाल सरकारले चैत्र ११ गतेदेखि लागू गरिएको लकडाउनको पूर्ण पालनामा सबैलाई आग्रह समेत गरेको छ ।

सरकारले सबै विदेशी एयरलाइन्सलाई १५ अप्रिलसम्म नेपाल उडानमा रोक लगाएको छ । यस परिस्थितिमा सबै व्यवसायी एक भई परिस्थितिको सामना गर्न नाट्टाले आग्रह गरेको छ । मुलुकमा कोभिड-१९ को संक्रमण फैलिन नदिन विदेशबाट आएका र आफूलाई शंका लागेकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्दै मुलुकलाई ठूलो विपत्तिबाट बचाउन समेत नाट्टाले आहृवान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment