Comments Add Comment

विपदमा सार्वजनिक खरिदका चुनौती

अहिले विश्व नै कोरोना भाइरसको महामारीको प्रसव पीडामा छ, सम्पूर्ण देश लकडाउनको अवस्थामा छ । बजारमा स्वास्थ्य सम्बन्धी सामग्रीहरु पाइन छाडेका छन् ।

यस्तो आपतकालीन अवस्थामा जनतालाई सेवा सुविधा तत्काल उपलब्ध गराउन विभिन्न सरकारी निकायहरुबाट सेवा तथा वस्तु खरिद कार्य सुरु भएको र अहिले खरिद गरेका सामानहरुको खरिदमा भ्रष्टाचार भएको समाचार समेत प्रकाशित भएको छ । यस्ता विषयहरु अन्य विपदविरुद्ध लडिरहेका बेलामा पहिले पनि सुन्दै आइएको थियो ।

एकातिर यस्तो विषम परिस्थितिमा जसरी पनि आवश्यक सामग्रीहरु खरिद गरी आपुर्ति व्यवस्था मिलाई उन्नत सेवा प्रवाह गरी विपद न्यूनीकरण गर्नुछ भने अर्कोतर्फ यसका लागि आवश्यक सेवा तथा वस्तु खरिदलाई पारदर्शी, प्रतिस्पर्धी तथा विश्वसनीय बनाई सबैको विश्वास जित्नुको साथै खरिद प्रक्रिया तथा विपदविरुद्ध लडिरहेका सार्वजनिक क्षेत्रको मनोवल उच्च राख्नुपरेको छ ।

यस्तो विशेष परिस्थितिमा सेवा, वस्तु वा निर्माण कार्यको खरिदका समस्या, चुनौतीहरु र यसलाई थप व्यवस्थित गर्ने सम्वन्धमा यस लेखमा चर्चा गर्ने प्रयास गरिएको छ ।

समस्या तथा चुनौती

१. विषम परिस्थिति र त्यसको व्यवस्थापन : अर्थशास्त्रको माग र आपुर्तिको सिद्धान्त अनुसार उच्च माग न्यून आपुर्ति भएको बेलामा वस्तुको मूल्य त्यसैपनि सामान्य अवस्थामाभन्दा बढी हुनेगर्छ । त्यसमाथि पनि विषम परिस्थितिमा सरकारी संयन्त्र जसरी पनि सेवा प्रवाह गर्नुपर्ने बाध्यात्मक अवस्थामा अत्यावश्यक सामग्रीहरुको खरिद र व्यवस्थापनमा जोड दिएको हुन्छन् भने कमजोर नियमन र परिस्थितिको फाइदा उठाउँदै व्यापारीहरुले वास्तविकभन्दा बढी मूल्य कायम गर्न तल्लीन रहन्छन् ।

विपदको बेलामा न्यून मानव संसाधनको उपलब्धता, छोटो समय, बाहृय प्रेसर, असहज वातावरण, वस्तुको कम उपलब्धता, पत्रपत्रिकामा अतिरञ्जित अपुष्ट समाचारहरु आदिको कारणले खरिद प्रक्रियामा प्रतिकूल परिस्थिति सिर्जना हुन्छन् । विभिन्न भयको वातावरण सिर्जना भएर सार्वजनिक निकायका व्यक्तिहरुलाई आतङ्कति हुन पुग्छन् जसको कारणले न त खरिदकार्य छिटो र आवश्यकता अनुसार हुनसक्छ, न त यस्तो विपदको अवस्थामा प्रभावकारी सेवा सम्पादन नै हुनसक्छ ।

यस्तो विषम अवस्थामा खरिद गर्दा सँधै जोखिम हुने देखेपछि यस्तो कार्यमा अग्रसर नहुने र पन्छाउने प्रवृत्तिसमेत देखिएको छ जसले विपद व्यवस्थापनमा समेत चुनौती थपेको छ । तसर्थ, यस्तो विषम परिस्थितिको माझमा गरिने खरिद कार्य सामान्य अवस्थामा गरिने खरिदभन्दा बढी जटिल र चुनौतीपूर्ण हुन्छ ।

२. कानूनी व्यवस्था : सार्वजनिक निकायले खरिद गर्दा सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ बमोजिमको गर्नुपर्ने बाध्यात्मक व्यवस्था रहेको छ र यो ऐन प्रतिकूल हुनेगरी गरिएको खरिद बदर तथा अमान्य हुने व्यवस्था रहेको छ ।

सार्वजनिक खरिद ऐनले कुनै पनि किसिमको खरिद गर्नुपूर्व सार्वजनिक निकायले खरिद योजना, स्पेसिफिकेसन, नक्सा, डिजाइन, लागत अनुमान, बोलपत्र सम्बन्धी कागजात वा अन्य विवरणहरू तयार गर्नुपर्ने व्यवस्था गरेको छ ।

सो पश्चात् विभिन्न प्रक्रियाहरू पूरा गरी प्रतिस्पर्धा, स्वच्छता, इमान्दारिता, जवाफदेहिता र विश्वसनीयता प्रवर्द्धन गरी मितव्ययी तथा विवेकपूर्ण ढङ्गबाट सार्वजनिक खर्चको अधिकतम प्रतिफल हासिल गर्नुपर्ने व्यवस्था गरिएको छ ।

उत्पादक, विक्रेता, आपूर्तिकर्ता, निर्माण व्यवसायी तथा सेवाप्रदायकलाई बिना भेदभाव सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुने समान अवसर सुनिश्चित गरी सुशासनको प्रत्याभूति हुनुपर्ने भन्ने सार्वजनिक खरिद ऐनको मनसाय रहेतापनि विषम वा विशेष परिस्थितिका लागि सोझै खरिद गर्नसक्ने बाटो खोलिदिएको छ ।

सार्वजनिक खरिद ऐन २०६३ को दफा ४१ को उपदफा -१) को खण्ड (घ ३) मा सुख्खा, अनावृष्टि, अतिवृष्टि, भूकम्प, बाढी, पहिरो, आगलागी जस्ता प्राकृतिक वा दैवीप्रकोप तथा महामारी वा आकस्मिक तथा अप्रत्यासित विशेष कारणबाट सिर्जित ‘विशेष परिस्थितिमा’ सोझै खरिद गर्न सकिने अधिकार सार्वजनिक निकायलाई दिएको छ ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ मा सोझै खरिदसम्बन्धी केही कार्यविधिहरू उल्लेख गरिएका छन् भने नियम ८६ मा सोझै खरिद गर्नुअघि यकिन गर्नुपर्ने कुराहरुको व्यवस्था गरी मार्गदर्शन गरिएको छ ।

यसरी खरिद गर्दा दर रेट लिई आवश्यकता अनुसार वार्तागरी खरिद गर्न सकिने र अधिकार प्राप्त अधिकारीको स्वीकृती चाहिने कुरा उल्लेख छ । अतः विशेष परिस्थितिमा, विपद वा महामारीको समयमा सोझै खरिद कार्य गर्नकानूनी व्यवस्था भएतापनि व्यवहारिक तथा प्रक्रियागत कारणबाट त्यति सहज हुँदैन ।

त्यसको अलावा, सार्वजनिक खरिद ऐन, नियमावलीले प्रतिस्पर्धा गराएर बोलपत्रको माध्यमबाट सेवा, वस्तु वा कार्य खरिद गर्दा विभिन्न चरणमा पालना गर्नुपर्ने निश्चित समयावधि तोकेको छ । विपदको समयमा उक्त समय उपलब्ध नहुन पनि सक्छ । तर, ऐन, नियममा विपदको समयमा छोटो समयमा खरिद गर्ने विकल्पहरु व्यवस्था गरेको छैन । साथसाथै, खुल्ला प्रतिस्पर्धा गर्दा बोलपत्रदाताहरुले अस्वभाविक रुपमा न्यून बोलकबोल गरिदिने त्यसपछि कार्यसम्पादन अत्यन्त ढिलो, सोचे अनुसार नगर्ने प्रवृत्तिले गर्दा विपद व्यवस्थापन नै प्रभावित हुने जोखिम रहन्छ ।

३. खरिद कार्यको विविधता र जटिलता  : विशेष परिस्थिति भित्रपनि विभिन्न प्रकृतिका विपदहरुका लागि सेवा, वस्तु, सप्लाई तथा निर्माणकार्य जस्ता विभिन्न किसिमका खरिद गर्नुपर्छ ।

सबैका आ-आफ्ना विशेषता हुने गर्छन् यसैले पनि यो विषय जटिल छ । खरिद कार्य बहुआयामिक विषय भएकाले विभिन्न विधाका जनशक्ति पनि आवश्यक पर्छ । जस्तै- कोरोना भाइरस विरुद्ध लड्न औषधि खरिद, विभिन्न उपकरण खरिद, भूकम्पको समयमा वितरण हुने राहत सामग्री खरिद, द्वन्द्वको समयमा सुरक्षा निकायले गर्ने सुरक्षा सामग्रीको खरिद, बाढी पहिरो आउँदा त्यसका लागि आवश्यक संरचना निर्माण र व्यवस्थापनको खरिद कार्य फरक फरक प्रकृतिको हुन्छ । त्यस्तो समयमा स्वदेशी वस्तु वा स्वदेशी कम्पनीबाट गरिने खरिदभन्दा विदेशी वस्तु वा विदेशी कम्पनीबाट गरिने खरिद झन् जटिल हुने गर्छ ।

४. कमजोर सूचना प्रणाली : खरिद गर्ने निकायहरुलाई वस्तुको स्पेसिफिकेसन, उत्पादन मूल्य, बजारभाउ, विक्रेताहरुको विस्तृत विवरणहरु राम्रोसँग राख्ने परिपाटी नै छैन । प्रत्येक वर्ष विभिन्न क्षेत्रका विक्रेता, सेवा प्रदायक, निर्माण व्यवसायीहरुको विवरणको साथै त्यस्ता विभिन्न महत्वपूर्ण वस्तु, सेवा वा निर्माण कार्यको ईकाई दरहरु सार्वजनिक खरिद अनुगमन कार्यालयको सूचना प्रणालीमा राख्न सकिएमा आपतकालीन समयमा गर्ने खरिद केही सहज हुनसक्थ्यो तर त्यो भएको छैन । व्यवस्थित सूचना प्रणाली र त्यसलाई उपयोग गरी खरिद गर्ने परम्पराको अभावमा विपदको समयमा गरिने सार्वजनिक खरिद सहज भइरहेको छैन ।

५. विगतको तीतो अनुभव : २०७२ सालको महाभूकम्प गएका त्यस्तो असहज परिस्थितिमा त्रिपालहरू खरिद गरी वितरण भयो र  तत्कालीन अवस्थामा विषम परिस्थितिको केही हदसम्म समाधान गरियो तर प्रक्रिया पूरा नगरी खरिद गरियो भनेर संलग्न कर्मचारीहरूलाई अख्तियारबाट कारवाही भई विशेष अदालतमा मुद्दा दायर गरिएको थियो । पछि उक्त मुद्दामा विशेष अदालतले न्याय त दियो तर समाजमा लागेको भ्रष्टाचारको दाग त्यति सजिलै मेटिन सकेको छैन । यस्ता विगतका तीता अनुभवहरुले विपदको समयमा तीब्र गतिमा गर्नुपर्ने सार्वजनिक खरिद कारबाही समयमा वा प्रभावकारी ढंगबाट हुन नसक्दा विपद् व्यवस्थापन नै फिका हुने गरेको छ ।

६. एजेन्टहरुको पहुँच र अनावश्यक चलखेल : नेपालमा सबै क्षेत्रका एजेन्टहरु यति बलवान छन् कि उनीहरुको पहुँच माथिल्लो राजनैतिक तहदेखि अख्तियारसम्म हुने गर्छ । सार्वजनिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुको कुराभन्दा उनीहरुकै कुरा बढी सुनिने गरिन्छ ।

आफूले ठेक्का पाए सबै ठिक नत्र सबै बेठिक देख्ने यस्ता तत्वले आफूले नपाँउदा कम्तीमा उक्त खरिद प्रक्रिया रद्द गराउने वा यसमा संलग्न व्यक्तिहरुलाई पत्रिकाबाजी गरेर बदनाम गराउन तल्लीन रहन्छन् ।

यस्ता व्यक्तिहरुका क्रियाकलापहरु न त कसैप्रति जिम्मेवार वा उत्तरदायी हुन्छ न त यिनीहरुले लगाएको आरोप पुष्टि नभएमा कारबाही गर्ने कुनै कानुनी आधार नै छन् । तसर्थ, यस्ता व्यक्तिहरुको अनावश्यक चलखेलले गर्दा यस्तो विषम समयमा गर्ने खरिद कारबाहीहरु अनावश्यक विवादित भई प्रभावित हुने गर्छन् ।

७. अपर्याप्त जनशक्ति : यस्तो विपदको बेलामा विभिन्न दबाब तथा असहज परिस्थितिको बाबजुत छोटो समयमा अप्रर्याप्त जनशक्तिबाट धेरै सेवा तथा सामग्रीहरुको खरिद गर्नुपर्ने भएकोले त्यसैपनि गाह्रो हुन्छ । सार्वजनिक खरिद त्यसैपनि जटिल विषय हो र विपद आएको क्षेत्रका व्यक्तिहरु यस्ता खरिदमा पूर्ण रुपमा अनुभवी नहुनपनि सक्छन् । यस्तो कम र खरिद कार्यको कम अनुभव भएका जनशक्तिबाट विषम परिस्थितिमा छिटो खरिद कार्य सम्पन्न गरी विपद व्यवस्थापन गर्ने कार्य फलामको चिउरा चपाए सरह हुने गर्छ ।

८. नियत तथा वातावरण : केही व्यक्तिहरु विपदको असहज परिस्थितिमा गलत नियतका साथ कमाइहालौं भन्ने पनि हुन सक्छ । त्यस्ता केही गलत व्यक्ति, तत्व तथा प्रवृत्तिले गर्दा सबैलाई बदनाम गराउने भएकोले सबै सजग हुन पनि जरुरी छ ।

विपदको समयमा सिधै वार्ताद्वारा खरिद गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना हुन्छ, कानुनी व्यवस्था पनि रहेको छ । तर, बाहृय वातावरणले गर्दा त्यसको लागि हिम्मत गर्न गाह्रो हुने गरेको छ । विपद वा महामारीको समयमा कोही व्यक्तिहरु फुर्सदिला भएर अनावश्यक टीका टिप्पणी गर्ने र सामाजिक सञ्जालमा भाइरल हुनमै तल्लीन हुन्छन् भने कोही विभिन्न कठिनाईहरु सामना गर्दै कार्य सम्पादन गर्ने गर्छन् ।

बाहृय वातावरण यसरी बिगि्रएको छ कि काम गर्दा जहिले पनि आलोचित हुने, नगर्दा सुरक्षित हुने अवस्था सिर्जना हुँदैछ । यस्ता कारणले असल नियत राखी राष्ट्रका लागि समर्पित हुने कर्मचारीहरू पछि हट्न बाध्य हुन्छन् र सेवा प्रवाह नै प्रभावित हुने गरेको छ ।

समाधानका उपायहरु

विपदका बेलामा विभिन्न असहज परिस्थितिको माझ गर्ने खरिद कार्यमा पर्याप्त मानव संसाधनको उपलब्धता, अनावश्यक प्रेसरको अन्त्य, अनुकूल वातावरण निर्माण, सार्वजनिक निकायका व्यक्तिहरुलाई ढाडस दिनुको साथै विश्वस्त बनाउनुपर्छ । विपदको समयमा वा कठिन परिस्थितिमा कार्य गरिरहेकाहरुको मनोबल घटाउने गरी विभिन्न माध्यमबाट टीकाटिप्पणी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ ।

विपदको समयमा सार्वजनिक खरिद सम्बन्धी ऐन, नियममा रहेको सोझै खरिद सम्बन्धी व्यवस्था अनुसार गरिएको खरिदमा अनावश्यक रुपमा बढी टिकाटिप्पणी गर्ने र असल नियतले गरिएको कार्यमा समेत भ्रष्टचारको प्रमाणित नभई कारबाही गर्ने परिपाटीको अन्त्य गर्नुपर्छ । एजेन्टहरुले अनावश्यक चलखेलको अन्त्य गर्नुको साथै तिनीहरुलाई नियन्त्रण तथा नियमन गर्नुको साथै कानुनी कारबाहीको समेत व्यवस्था हुनुपर्छ ।

सार्वजनिक खरिद ऐन, नियमावलीमा पनि विषम परिस्थितिमा गरिने खरिद प्रक्रियालाई थप स्पस्ट हुनेगरी व्यवस्था हुनुपर्ने र कार्यविधिहरु निर्माण हुनुपर्छ ।

विपदको समयमा छोटो समयमा खरिद गर्न सक्ने व्यवस्था गर्नु आवश्यक छ । विभिन्न प्रकृतिका विपदहरुको लागि आवश्यक पर्ने सेवा, सामग्री, सप्लाई तथा निर्माण कार्यको खरिदका लागि छुट्टाछुट्टै कार्यविधिहरु, सम्झौताका स्ट्याण्डर्ड कागजातहरुको निर्माण गरी त्यसकोलागि विभिन्न विधाका जनशक्तिहरु तयार गरी सो सम्बन्धमा सार्वजनिक निकायका पदाधिकारीहरुलाई तालिम तथा क्षमता अभिबृद्धि गरिनुपर्छ ।

विपदको समयमा यसको प्रभावकारी व्यवस्थापन नै प्रमुख मुद्दा भएकोले यस अवस्थामा गर्नुपर्ने सार्वजनिक खरिदको लागि आवस्यक संयन्त्र निर्माण गरेर जानुपर्ने देखिन्छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयमा विपदको समयमा सार्वजनिक निकायको खरिदमा समन्वय तथा सहयोग गर्ने डेडिकेटड प्राविधिक टिमको व्यवस्था हुन जरुरी देखिन्छ । यस टिमले छिटो खरिद गर्ने, बोलपत्र तथा सम्झौताका कागजात तयार गर्ने, अन्य तयारी गरिदिनेदेखि प्राविधिक सहयोग समेत गर्ने व्यवस्था मिलाउँदा विपदसँग लड्न थप ऊर्जा उपलब्ध हुने देखिन्छ ।

विषम परिस्थितिमा पदमा आसिन उच्च पदका पदाधिकारीहरू तथा प्रक्रिया संलग्न व्यक्तिहरुबाट असल नियत, मितव्ययिता, सुशासनको उदाहरण प्रस्तुत गर्ने तथा जनता र समाजले पनि विवेकपूर्ण काम कारबाहीमा भरोसा राख्ने, विश्वास गर्ने संस्कृतिको विकास गर्नु जरुरी छ । पत्र, पत्रिका तथा सरोकारवालाहरुबाट उठेका रचनात्मक सुझावहरुलाई ग्रहण गर्ने र प्रश्नहरुको जवाफ दिनसक्ने धरातल निर्माण सँधै गर्नुपर्छ । यस्तो वातावरण निर्माणको लागि सरकार अभिछिन्न रुपमा लाग्नु पर्छ । यसबाट नै समुन्नत समाजको परिकल्पना गर्न सकिन्छ भने विपदसँग जुध्ने पर्याप्त सामथ्र्य प्राप्त गर्न सकिन्छ ।

अन्त्यमा,

विषम परिस्थितिमा गरिने खरिदमा पनि सार्वजनिक निकायका पदाधिकारी तथा खरिद कार्यमा संलग्न व्यक्तिहरु झन् उत्तरदायी र जिम्मेवार भई वस्तुनिष्ट ढंगबाट कार्यसम्पादन गर्नुपर्छ ।

यस्तो समयमा गलत मनासयबाट गरिने कार्य र भ्रष्टाचारलाई अझ बढी कारबाही हुनुपर्छ । यस प्रक्रियामा त्रासको स्थिति सिर्जना भएर जिम्मेवार व्यक्तिहरुले अनिच्छा देखाएको कारणबाट वा खरिद कार्यमा भएको ढिलाईबाट विपद वा महामारी व्यवस्थापन नै हुन नसक्ने परिस्थिति निर्माण हुनुहुँदैन ।

यसमा राजनैतिक नेतृत्व, नीति निर्माता, निगरानीकर्ता तथा नियमनकारी निकाय र सरोकारवाला सबै चनाखो हुन जरुरी छ ।

(लेखक बराल भेरी बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment