Comments Add Comment

१०१ वर्षे वृद्धले जिते‍ ‘कोभिड–१९ विरुद्धको युद्ध’

१८ चैत, काठमाडौं । इटालीमा १०१ वर्षका एक वृद्ध कोरोना भाइरस (कोभिड–१९) बाट निको भएर घर फकेका छन् । ‘मिस्टर पी’ नाम दिइएको उनी गत साता उत्तरपूर्वी इटालीको रिमिनी सहरको एक अस्पतालमा कोरोना भाइरस संक्रमणको कारण भर्ना भएका थिए ।

उनी बिहीबार निको भएको रिमिनीका सहायक मेयर ग्लोरिया लिसीले बताएको द साइन्स टाइम्सले जनाएको छ । लिसीका अनुसार यो निकै असामान्य घटना हो ।

किनकी एक सय वर्ष पूरा भइसकेको मानिस पनि यो भाइरस लागेपछि निको हुन निकै कठिन हुन्छ । यसअघिको तथ्यांकले पनि कोरोना भाइरसको असर वृद्ध मानिसहरुलाई बढी देखिने गरेको छ ।

उनी सन् १९१९ मा जन्मेका थिए । त्यो समयमा स्पेनिस फ्लुको महामारी चलिरहेको थियो । फ्लुका कारण विश्वभर तीन देखि पाँच करोड मानिसको ज्यान गएको थियो । उनी पहिलो र दोस्रो विश्वयुद्ध हुँदै हुर्केका थिए ।

अहिले उनी कोरोना भाइरसबाट निको हुने इटालीको सबैभन्दा वृद्ध व्यक्ति बनेका छन् । इटालीका स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार उनी सन् १९१९ मा जन्मिँदा स्पेनिस फ्लुको महामारी उनको गाउँमा पनि थियो । त्यतिबेला इटालीमा करिब ६ लाख मानिसको ज्यान गएको थियो ।

सहायक मेयर लिसी यसरी वृद्ध मानिसहरु कोभिड–१९ बाट निको हुनु सबैका लागि एक शिक्षा पनि भएको बताउँछिन् । ६५ वर्ष कटेका मानिसमा यो रोग निको हुने सम्भावना कमजोर देखिरहेको अवस्थामा सय वर्ष कटेका मानिस निको भएर जानुले अन्य बिरामीमा पनि आत्मविश्वास बढ्ने उनको भनाइ छ ।

कोभिड–१९ को महामारी विश्वभर फैलिइरहेको अवस्थामा यत्रतत्र नकारात्मक समाचारहरु फैलिएका छन् । यस्तो अवस्थामा १०१ वर्षको मानिसको भाइरसविरुद्धको लडाइँले सबैलाई प्रेरणा मिल्न सक्ने बताइएको छ । इटालीको तथ्यांक अनुसार यो भाइरसबाट ज्यान गुमाउनेमा ७० वर्ष कटेका मानिसको दर ८६ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment