
१८ चैत, काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लकडाउनको समयमा कसैलाई कुनै समस्या परे आफू सहयोग गर्न २४ सै घण्टा तयार रहेको रहेको बताएका छन् । कुनै अत्यावश्यक सहयोग चाहिए आफूलाई वा आफ्नो सचिवालयका सदस्यलाई फोन गर्न पनि उनले आग्रह गरेका छन् ।
मन्त्री मानन्धरले काठमाडौंमा समस्यामा परेका सर्वसाधारणलाई आफ्नो मोबाइल नम्वरमा सीधा फोन गर्न वा प्रमुख स्वकीय सचिव ओम राजवाहक र अर्का स्वकिय सचिव जयप्रकाश श्रेष्ठलाई सम्पर्क गर्न भनेका छन् ।
लकडाउनको सीमा बढेसँगै देशभरका जनताको दैनिकीमा समस्या नआओस् भन्नेमा सरकार सतर्क रहेको बताउँदै मन्त्री मानन्धरले जनतासँग हातेमालो गर्न आफू तयार रहेको बताए ।
‘संकटको बेला जनप्रतिनिधिमाथि जनताको ठूलो अपेक्षा हुन्छ, यदि कसैलाई ठूलै अप्ठ्यारो परेछ भने मलाई वा मेरो सचिवालयका साथीलाई सम्पर्क गर्नु होला, म हातेमालो गर्न तयार छु,’ मन्त्री मानन्धरले भने ।
मन्त्री मानन्धरले विदेशबाट आएर घरमै बसिरहेका र कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकालाई तत्काल अस्पतालको सम्पर्कमा जान पनि आग्रह गरेका छन् ।
खाद्यान्न, ग्यास लगायतका दैनिक उपभोग्य सामग्री खरिद लगायतका विषयमा समस्यामा परेका सर्वसाधारणलाई सहजीकरण गर्न उपत्यकाका केही स्थानमा नेकपाका पार्टी कार्यकर्ता र स्थानीय जनप्रतिनिधि परिचालित भइसकेको मन्त्री मानन्धरका प्रमुख स्वकीय सचिव राजवाहकले बताए ।
यसअघि काठमाडौं क्षेत्रनम्बर १ बाट निर्वाचित सांसद एवम् प्रतिनिधिसभा सांसद प्रकाशमान सिंहले पनि लकडाउनमा कुनै सहयोग आफूलाई सम्पर्क गर्न आग्रह गर्दै फोन नम्बर सार्वजनिक गरेका थिए ।
प्रतिक्रिया 4