Comments Add Comment

सीमामा अलपत्र तीन सय नेपाली भारतको क्वारेन्टाइनमा

१८ चैत, बुटवल । नेपाल भारत सीमा नाका सुनौलीमा अलपत्र परेका तीन सय नेपालीले भारतको क्वारेन्टाइनमा फर्काइएका छन् ।

घर फर्किने प्रतीक्षामा रहेका उनीहरुलाई नेपाल र भारतबीचको सहमति अनुसार अहिले जुन देशमा छन्, त्यही देशको क्वारेन्टाइनमा राख्ने गरी व्यवस्था गरिएको हो ।

उनीहरुलाई भारतको नौतनवास्थित क्वारेन्टाइनमा राख्न लगिएको छ । मंगलबार नेपाल र भारतबीच दुबै देशमा अलपत्र परेका नागरिकलाई आआफ्नै देशतर्फ व्यवस्थापन गर्ने सहमति भएअनुसार उनीहरु नौतनवाको क्वारेन्टाइनमा पठाइएका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।

नेपालबाट भारततर्फ जानका लागि बेलहिया पुगेका १ सय २५ जना भारतीय मजदुरलाई भने नेपाल पक्षले क्वारेन्टाइनमा राख्ने भएको छ । दुबै देशका नागरिक सीमा नाका बन्द भएका कारण आफ्नो देश फर्किन पाएका थिएनन् ।

सीमामा अलपत्र भारतीय मजदुरलाई रुपन्देहीको भैरहवास्थित प्रतिमान निमा स्मृति प्रतिष्ठानमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खड्कबहादुर खत्रीले बताए ।

उनीहरुको स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राख्न लागिएको प्रवक्ता खत्रीले जानकारी दिए ।

सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई समुह बनाएर नेपाल ल्याउन प्रदेश ५ सरकारले निर्णय गरे पनि त्यो भने कार्यन्वयन हुन सकेन । प्रदेश ५ सरकारले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई समूह बनाएर नेपाल ल्याउने भनी सोमबार मात्रै निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment