Comments Add Comment

लकडाउनमा घरै बसेर ‘अफलाइन’ काम !

`१९ चैत, काठमाडौं । सरकारले लकडाउनका बेला घरमै बस्न भनेको छ । घरबाहिर जान नपाइने भएपछि अधिकाशंको दिनचर्या सामाजिक सञ्जालमा बित्ने गरेको छ । कोही तास खेलेर बसेका छन् । तर, मेहनती मानिसहरुले लकडाउनलाई सिर्जनात्मक काममा प्रयोग गरेका छन् ।

सामाजिक सञ्जालमा पानीको थोपा गनेर, पखां कतिचोटि घुम्छ जस्ता गणना गरेर क्वारेन्टाइनमा बसिरहेको भन्दै पोस्ट गर्नेहरु पनि छन् । तर, लकडाउनको समयलाई घरमै बसेर सही सदुपयोग गर्नेहरुको पनि कमी छैन ।

काठमाडौं जोरपाटीका कृष्ण सनमको आफ्नो घरदेखि केही पर सडकसँगैै जोडिएको कपडा सिलाउने टेलरिङ छ । गोकर्णेश्वर नगरपालिका –५ का सनमले २ बर्षअघि कोठा भाडामा लिएर कपडा सिलाउने व्यवसाय सुरु गरेका हुन् । परिवारकै सदस्यहरु मिलेर दिनभरि टेलरमै कपडा सिलाउँथे । लकडाउन भएपछि पसल खुल्ने अवस्था भएन ।

परिवारै फुसर्दिलो हुने भएपछि उनले लकडाउन सुरु भएकै दिन बिहानै ५ नबज्दै पसलमा भएका लुगा सिलाउने मेसिन घरमै ल्याए । अनि अर्डर दिएका लुगाका थान पनि घरमै ल्याए ।

आफनै घरमा लुगा सिलाउने मेसिन ल्याएपछि उनलाई लकडाउनका बेला बाहिर जानु पनि परेन । काम नभएर बेफुर्सदिलो पनि हुनुपरेन ।

कृष्ण भन्छन, ‘मलाई त यत्रो दिन के गरेर घरमा दिन कटाउने होला जस्तो भएको थियो । त्यही भएर लकडाउनकै दिन बिहानै गएर लुगा सिलाउने मेसिन घरमै ल्याएँ । यतिकै बस्नुभन्दा त काम पनि भयो नि त ।’

अब लकडाउन थपिए पनि घरमा के गरेर दिन कटाउने भन्ने उनको चिन्ता हटेको छ । उनले पहिले जस्तै दिनभरि लुगा सिलाएर दिन कटाउने गरेका छन् । परिवारका सदस्य पनि काममा जोडिएका छन् ।

उनले थपे, ‘यो लकडाउनले बेरोजगार भइन्छ भन्ने सोचेको थिएँ , अहिले घरमै मेसिन ल्याएर पहिले जस्तै सहज तरिकाले काम गरिरहेका छौं । परिवारसँगै बसेर काम गर्दा आनन्द पनि हुन्छ, तनाव पनि हुँदैन ।’

कृष्ण बिहानैदेखि लुगा सिलाउन व्यस्त हुन्छन् । श्रीमती पनि सर्टको बटम लगाउँछिन्, लुगाको छेउ टिप्छिन् ।

कृष्णकी श्रीमती पनि लकडाउनको फाइदा घरमै लिन सकेकोमा खुसी छिन् । भन्छिन, ‘पसलमा भए धेरै मान्छेको आउजाउ हुन्थ्यो, अहिले यहाँ आफ्नै पविार मात्रै छ । कोरानाबाट सुरक्षित भएर काम गरिरहेका छौ ।’

कष्ण सनमजस्तै आफ्नै कोठामा गलैचा बुनिरहेकी रामेछापकी सीता तामाङलाई पनि लकडाउनले काममा केही प्रभाव पारेको छैन ।

अचेल उनले घरभित्रै बसेर गलैंचा बुन्ने गरेकी छिन् । सीता भन्छिन्, ‘मलाई त लकडाउन लागे पनि फरक परेको छैन । आफ्नो काम गरिरहेकै छु । आफ्नो काम पनि भयो । लकडाउनको पालना पनि भयो ।’

सीताले तीन दिनमा एउटा गलैंचा तयार पारिन् । पहिले फयाक्ट्रीमा गएर गलैंचा बुन्थिन् । साहुले कोरोनाको सक्रंमण बाट बच्न भन्दै १० गतेबाट फयाक्ट्री बन्द गरेपछि अब घरमा के गर्ने भनेर चिन्ता थियो । पछि उनले यो समय सदुपयोग गर्दै गलैंचा बुन्ने तान घरमै लगाइन् । पहिले पनि घरमा तान लगाएर गलैंचा बुन्ने गरेकाले तान लगाउने सामान घरमै थिए ।

घरका अन्य सदस्यहरु गाउँ गएपछि खाली कोठामा तान लगाइन् र काम सुरु गरिन् ।

‘नगरी काम, पाइँदैन खान’

कतिपय मजदुरहरुले लकडाउनका बेलामा पनि घर बाहिर निस्केर काम गरे । बाहिर निस्कनु उनीहरुको बाध्यता हो । निजी क्षेत्रमा काम गर्ने मजदुरहरु लकडाउनको मारमा परेका छन् ।

निजी काममा खटिएका मजदुरहरुले सामान्य मास्कसमेत नलाई काम गरेको देखियो ।

जोरपाटीमा घर बनाउने  काममा व्यस्त  खोटाङका कृष्णा राई आफूलाई कोरोना भाइरस बारेमा जानकारी भए पनि पेट पाल्न काम गरिरहेको बताउँछन् ।  उनी भन्छन्, ‘हामीले काम नगरे  खान पाइँदैन,  ठेकेदारले पनि  काममा नआइज भनेनन् । आयौ, काम गरिरहेका छौ । ।’

जोखिम मोलेर काम गरिहेका  गोपाल तामाङ पनि  मास्कविनै भेटिए । ‘काममा आएन भने त खानै पाइँदैन । हामी रहरले होइन, करले काममा आएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment