Comments Add Comment

कास्कीको रुपामा दुईभन्दा बढी भेटघाट बन्द

१९ चैत, चिप्लेढुङ्गा । कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि कास्कीको रुपा गाउँपालिका कार्यपालिकाको मंगलबार बसेको विशेष वैठकले बुधबार साँझदेखि गाउँपालिका आउने र जाने क्रमलाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाले लकडाउन प्रभावकारी बनाउन आठ नाकामा प्रहरीसहितको कोरोनाविरुद्ध परिचालित स्वयंसेवकलाई खटाएर पूर्ण कार्यान्वयन गरिने बताए ।

ओझाले गाउँपालिकावासीका लागि आवश्यक औषधि र अन्य उपभोग्य सामग्री सकिएमा गाउँपालिका वा जनप्रतिनिधिलाई खबर गरे सोको व्यवस्था गाउँपालिकाले नै गर्ने जानकारी दिए ।

रुपा गाउँपालिका बाहिरबाट आएका खण्डमा स्वास्थ्यकर्मीको निगरानी र निर्देशनमा अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने र थप अवस्था देखिएमा गाउँपालिकाको निर्देशनअनुसार बस्नुपर्ने निर्णय बैठकले गरेको छ । त्यसैगरी गाउँपालिकाभित्र दुई वा सोभन्दा बढीको समूहमा समेत भेटघाटमा बन्देज लगाइएको छ । गाउँपालिकाभित्रका नागरिकको स्वास्थ्य र अन्य समस्या समाधानका लागि वडा कार्यालयमार्फत गाउँपालिकाले गर्नेछ ।

हाल २५ शैय्याको क्वारेन्टाइन गाउँपालिकाले आफ्नै खर्चमा निर्माण गरेको छ । उक्त क्वारेन्टाइनमा १४ जना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए । यसअघि क्वारेन्टाइनमा २२ जना रहेका थिए भने एक जनाको मृत्यु भएको थियो । मृत्यु हुने व्यक्तिमा कोरोनाको संक्रमण नभएको टेकु अस्पतालको रिपोर्टले पुष्टि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment