Comments Add Comment

सीमाबन्दीले नछेकेको वृद्ध जोडीको प्रेम

काठमाडौं । युरोपमा कोरोना भाइरसको महामारी चलिरहेको बेलामा एक वृद्ध जोडी भने स्थानीय सेलिब्रेटी बन्न पुगेका छन् । उनीहरु दैनिक दुई मुलुकको सीमा क्षेत्रमा आएर भेटघाट गर्छन् ।

बीबीसीकाअनुसार इंगा रासमुसेन डेनमार्क र कार्स्टन टुच्सेन हान्सेन जर्मनीबाट सधैैं सीमावर्ती सहर एभेन्टोफ नजिकै भेटभाट गर्छन् । उनीहरु सुरक्षित दुरीमा सँगै बस्छन्, सँगै पिउँछन् ।

रासमुसेन ८५ वर्षकी हुन् भने हान्सेन ८९ वर्षका छन् । भाइरसको महामारी नियन्त्रणका लागि जर्मनी–डेनमार्कको सीमा दुई साताका लागि बन्द गरिएको छ । सीमा बन्द हुनुअघि सधैं घरमा नै भेटघाट गर्थे ।

तर, अहिले समय फेरिएको छ ।

अहिलेसम्म जर्मनीमा ७१ हजार संक्रमित फेला परिसकेका छन् । डेनमार्कमा पनि तीन हजारभन्दा धेरैमा यो भाइरसको संक्रमण पाइएको छ । युरोपेली मुलुकमा सामान्य अवस्थामा एकअर्को मुलुकमा भ्रमण गर्न कुनै रोक हुँदैन । भाइरसको कारण अहिले २५ वर्षमा पहिलोपटक यस्तो अवस्था सृजना भएको हो । तर, रासमुसेन र हान्सेन दम्पत्तिलाई भने विश्वव्यापी महामारीले रोक्न सकेको छैन ।

‘यो दुःखलाग्दो कुरा हो । तर, हामी यसलाई परिवर्तन गर्न सक्दैनौं’, स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै रासमुसेनले भनिन् ।

उनले यो अवस्थामा भेटघाटको योभन्दा राम्रो विकल्प नभएको बताइन् ।

स्थानीय सहर टोन्डरका मेयरले उनीहरुलाई सीमाक्षेत्रमा यसरी कुरा गरिरहेको अवस्थामा फेला पारेका थिए । त्यसपछि उनीहरु अहिले स्थानीय सेलिब्रेटी बनेका छन् ।

यो जोडीको भेट दुई वर्षअघि भएको थियो । त्यसपछि एक वर्षभन्दा लामो समयदेखि उनीहरु नियमितरुपमा भेट्दै आएका छन् । एकअर्कालाई भेट्न रासमुसेन आफैं कार चलाएर गालेसहसबाट सीमासम्म आउँछिन् भने हान्सेस सुडेरलुगुम भन्ने ठाउँबाट बाइकमा आउँछन् । रासमुसेनको पति र हान्सेनले पत्नीको यसअघि नै निधन भइसकेको छ ।

रासमुसेनसँगको भेटमा हान्सेन कहिलेकाहीँ एक गिलास मदिरा पनि पिउँछन् । रासमुसेन भने केवल कफीमात्र पिउँछिन् । डेनमार्कको एक पत्रिकासँग कुरा गर्दै उनले भनेकी छिन््, ‘भेट सकिएपछि मैले कार चलाएर जानुपर्छ ।’

यसअघि पनि उनीहरुले विभिन्न भ्रमण सँगै गरेका थिए । उनीहरु भाइरसको प्रकोप सकिएपछि पुनः यात्रामा निस्किने योजनामा छन् ।

महामारीको बेलामा यसरी रचनात्मक तरिकाले आफ्नो सम्बन्ध कायम राख्ने यो जोडी एक प्रतिनिधि मात्र हो । महामारीको कारण अहिले विश्वभर धेरै जोडीले विभिन्न माध्यमबाट सम्बन्ध बचाइराखेका छन् र एकले अर्काको ख्याल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment