Comments Add Comment

लकडाउन छ, तर मानिसहरु सहजै पुगिरहेका छन् वीरगञ्ज

१९ चैत, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लकडाउन गरेको ८ दिन भयो । अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेको त ९ दिन भइसक्यो ।

तर भारत जान भन्दै मानिसहरु वीरगञ्ज नाका पुग्ने क्रम रोकिएको छैन । मानिसहरु आफैं जाने मात्र, स्थानीय तहहरुले पास नै बनाइदिएर पठाउने गरेका छन् ।

दिनहुँ विभिन्न जिल्लाबाट नेपाली र भारतीय नागरिकलाई वीरगञ्ज पठाउने गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र शाहीले जानकारी दिए ।

‘लकडाउनमा जो जहाँ छन्, त्यही रहनुपर्ने हो तर विभिन्न जिल्लाबाट मानिसहरु आइरहेका छन्’ डीएसपी शाहीले भने ‘उनीहरुलाई के गर्ने कसो गर्ने भन्ने बारेमा छलफल भइरहेको छ ।’

मंगलबार राति मात्रै नेपाली र भारतीयसहित ३ सय ५२ जना वीरगञ्ज आइपुगेका छन् । उनीहरुलाई अहिले ठाकुरराम बहुमुखी क्याम्पसको शिक्षा संकाय भवनमा राखिएको छ ।

दाङलगायतका ठाउँबाट आएको ४ वटा गाडीलाई भने फिर्ता गरिएको प्रहरीले जनाएको छ ।

यसरी मानिस भित्रिँदा संक्रमणको जोखिमसँगै व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी भन्छन्, ‘यसरी ठूलो संख्यामा नागरिक नगर पस्दा नगरबासी असुरक्षित हुन्छन् ।’

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले पनि समन्वय नगरी मानिसहरु पठाइदिँदा व्यवस्थापनमा समस्या भएको बताए ।

बारा, पर्सा जान्छु भन्नेवित्तिकै मानिसहरु वीरगञ्ज पठाइदिने गरेको भन्दै उनले भने, ‘ट्रक बसले ल्याउँछ, साइकलमा आउँछन् । नाकामा पुगेर फोटो खिचेर हाल्छन् । हैरान भइसक्यौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment