Comments Add Comment

रामनवमीमा जनकपुरधाम सुनसान

२० चैत, जनकपुरधाम । आज रामनवमी । धनुषाको जनकपुरधाममा हिन्दु धर्मावलम्बी नेपाली र भारतीयको ठूलो घुइँचो लाग्ने दिन हो । हिन्दु धर्मावलम्बीले भगवान रामको जन्म दिनको रुपमा आजको दिनलाई धुमधामले मनाउँछन् । रामको जन्मदिनमा खचाखच भरिने जनकपुरधाम बिहीबार भने सुनसान छ ।

जनकपुरधामलाई रामकी पत्नी सीताको माइती घर मानिन्छ । यहाँ रहेको जानकी मन्दिरको मूल गेटमै ताला लगाइएको छ । पूजारीले सामान्य पूजापाठ मात्र गरेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधाममा रामनवमी समेत प्रभावित भएको छ ।

रामनवमी मनाउनु एक साताअघिदेखि नै जनकपुरमा व्यापक भिड र दर्शनार्थीको घुइँचो लाग्ने गर्थ्यो । तर, यसपटक त्यस्तो अवस्था नभएको जानकी मन्दिरका महन्थ रामरोशन दासले बताए ।

रामनवमीको अवसरमा जनकपुरको राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिर, विवाह मण्डपलगायतका ठाउँमा श्रद्धालुहरूको विशेष घुइँचो लाग्ने गर्दथ्यो । यस अवसरमा गंगा सागर, धनुष सागर, अंगराजसरसहितका पोखरीमा स्नान गरेर भजन, कीर्तनसहित भक्तिभाव तथा पूजापाठ गर्ने गरिन्थ्यो ।

त्रेतायुगमा राम नवमीका दिन अयोध्यामा श्रीरामको जन्म भएको स्मरणमा रामनवमी भव्यतापूर्वक मनाउने गरिन्छ । यसदिन भारतका श्रद्वालु एवं साधु सन्तसमेत आउने गर्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment