Comments Add Comment

कार्यकर्तालाई समाजवादी पार्टीको निर्देशन – विपन्नको पहिचानमा सहयोग गर

२० चैत, जनकपुरधाम । समाजवादी पार्टी प्रदेश २ समितिले लकडाउनको समयमा छाक टार्न समस्या भइरहेकाहरुको पहिचानमा सहयोग गर्न नेता-कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

प्रदेश समितिले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै लकडाउनका कारण गुजारा चलाउन समस्या हुने गरिब, मजदुर, श्रमिक तथा आर्थिक रुपमा विपन्न किसान वर्गका लागि प्रदेश २ सरकारले राहत वितरण गर्न लागेकाले त्यस्ताको पहिचानमा सहयोग गरिदिन आग्रह गरेको हो ।

‘राहत वितरण गर्ने सम्बन्धमा तयार गरिएको निर्देशिका बमोजिम वडा अध्यक्षसँग समन्वय गरी गरिब र विपन्नको खोजीमा सहयोग गरिदिन पार्टीका नेता एवं कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

संघीय सांसद, प्रदेशसभा सांसद, विभिन्न स्थानीय तहका प्रमुख एवं उपप्रमुख, अध्यक्ष-उपाध्यक्ष, वडा अध्यक्ष, अन्य पदाधिकारीहरु, पार्टीका केन्द्रीय नेताहरु, प्रदेश, जिल्ला तथा स्थानीय तहका समिति पदाधिकारी एवं सदस्यहरुसँग अनुरोध छ,’ प्रदेश अध्यक्ष विजय यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तथ्यांक संकलन हुने गरिब र विपन्न समक्ष राहत पुर्‍याउनमा पनि पार्टीका सम्पूर्ण तहका नेता/कार्यकर्ताको भूमिका महत्वपूर्ण भएकाले यसतर्फ पनि तदारुकताका साथ ध्यान दिन समाजवादीले कार्यकर्ताहरुमा निर्देशन दिएको छ । राहत वितरण गर्दा कम्तीमा दुई फिटसम्मको दुरी कायम गर्न र सामग्री वितरण गर्नुअघि र पछि साबुन पानीले हात धुनसमेत सुझाव दिइएको छ ।

वर्तमान समयमा आ-आफ्नो घरमै बसे कोरोनालाई परास्त गर्नसक्ने भएकाले घरमै रहेर लकडाउनलाई सफल बनाउन पनि समाजवादीले सबैलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment