Comments Add Comment

लकडाउनपछि सवा ६ अर्ब बढीको अत्यावश्यक बस्तु आयात

२० चैत, काठमाडौं । लकडाउनपछिको आठ दिनसम्म सवा छ अर्ब रुपैयाँ बराबरको सामान नेपालभित्र आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चैत ११ देखि १८ गतेसम्म छ अर्ब २४ करोड मूल्य बराबरका वस्तु नेपाल भित्रिएका हुन् ।

यो अवधिमा सबैभन्दा बढी मूल्यको तयारी औषधिबाट नेपाल भित्रिएको छ । आठ दिनको अवधिमा २८ करोड २३ लाख बराबरको औषधि नेपाल आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । यो बीचमा तीन करोड ६९ लाख बराबरको औषधि पनि आयात भएको छ ।

विभागका महानिर्देशक सुमन दाहाल अहिले अत्यावश्यक वस्तु मात्रै आयात भइरहेको बताउँछन् । अत्यावश्यक तथा दैनिक उपभोग्य वस्तुको आयात बढेपनि अन्य मालसामानको आयात लगभग ठप्प भएको उनको भनाइ छ ।

कुन सामान कति आए ?

अहिले नेपाल र भारत दुबैतर्फ लकडाउन छ । दुबैतर्फ अत्यावश्यक वस्तु मात्रै भन्सार जाँचपास भइरहेको छ ।

यो अवधिमा नौ हजार आठ सय नौ मेट्रिकटन ग्यास आयात भएको छ । बजारमा अहिले ग्यासको चरम अभाव छ । यस्तो अवस्थामा निगमले नियमित अवस्थाकै परिमाणमा ग्यास आयात गरिरहेको देखिन्छ । सामान्य अवस्थामा निगमले महिनामा ३५ हजार मेट्रिकटन ग्यास आयात गर्दछ ।

त्यसैगरी, यो एक हप्ताको अवधिमा तीन हजार तीन सय ९६ किलोलिटर डिजेल र तीन हजार दुई सय किलोलिटर पेट्रोल आयात भएको छ । १४ हजार ४५७ मेट्रिकटन खाद्यान्न पनि आयात भएको विभागका महानिर्देशक दाहालले जानकारी दिए ।

आठ हजार तीन सय १२ मेट्रिक टन तरकारी र पाँच हजार नौ सय ४१ मेट्रिक टन गेडागुडी तथा दाल आयात भएको छ । यसैगरी, भारतबाट एक हजार ६० मेट्रिकटन फलफूल तथा सात हजार मेट्रिक टन दुग्धजन्य पदार्थ नेपाल भित्रिएको छ ।

भन्सार राजश्व प्रभावित

महानिर्देशक दाहालले खाद्यान्न, गेडागुडी, तरकारी तथा फलफूलको आयात सामान्य रुपमा भइरहेको बताए । अत्यावश्यक वस्तुको भन्सार कम हुने भएकाले राजश्व प्रभावित भएको उनको भनाइ छ ।

समीक्षा अवधिमा सिर्सियास्थित सुख्खा बन्दरगाहबाट ३४ करोड ८८ लाखको सामान जाँचपासपछि नेपाल आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयले १६ करोड २२ लाख बराबरको मात्रै सामान भित्रिएको जानकारी दिएको छ ।

लकडाउनपछि भैरहवा भन्सार कार्यालयबाट १७ करोड ८८ लाख बराबरको मालसामान भित्रिएको छ भने विराटनगरस्थित रानी भन्सार कार्यालयबाट ५ करोड ९३ लाख बराबरको समान भित्रिएको देखिन्छ । मेची भन्सारबाट १२ करोड २० लाख मूल्यका सामान नेपाल भित्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment