Comments Add Comment

पाहुनाको कथा र नेताको भाषणको घुमाउरो अर्थ

एउटा घरानियाँले कुनै बखत एउटा भव्य भोजको आयोजना गरेछ । उसले देशका राष्ट्रपति, प्रधानमन्त्रीलगायतका करिब एक सय जना विशिष्ट अतिथिहरु आमन्त्रण गरेछ ।

पार्टी प्यालेसको समस्याले भोज अपरान्ह ठिक ४ बजे सुरु गर्नुपर्ने थियो । ४ बज्दा केही विशिष्टहरु आइपुगेनछन् । उसले बाटो हेर्दै मन खिन्न बनाउदै भनेछ– “आउनुपर्ने मुख्य अतिथिहरु आइपुगेका छैनन् । तर भोज सुरु गरौं ।”

त्यहाँ उपस्थित करिब दुई दर्जन अतिथिहरु “हामी त आउनुपर्ने अतिथि नै होइन रहेछौं । आउनुपर्ने त बाँकी पो रहेछन्” भनेर भोजमा सरिक नै नभई हिँडेछन् ।

आएका पाहुना भोजमा सरिक नै नभई हिँडेको देखेपछि त्यो घरानियाँले झन खिन्न हुँदै भनेछ -“नजानुपर्ने पाहुना भोज नखाई गए ।”

अरु करिब दुई दर्जन पाहुनालाई लाग्यो-“ए, उनीहरुचाहिँ नजानुपर्ने पाहुना, हामीचाहिँ जानुपर्ने पाहुना ?” उनीहरु पनि भोजमा सरिक नभई हिँडे ।

भोज आयोजकको खिन्नताको पारो झन् बढ्यो । उसले फेरि भन्यो -“ हरे, मैले यो कुरा कहाँ उहाँहरुलाई भनेको हो र ! ” बाँकी पाहुना पनि त भोज नखाई हिँडे, किनभने उनीहरुले ठाने- “त्यो कुरा उनीहरुलाई नभनेको भए पक्का हामीहरुलाई भनेको हो ।”

तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको चुनावी अभियानमा उनकी पत्नी न्यान्सी रेगनले एउटा टेलिफोन वार्तालापमा त्यहाँको आमसभामा उपस्थित सबैले सुन्ने गरी भनेकी थिइन् -“म यहाँ सुन्दर गोरा मानिसहरुसँग रमाइरहेकी छु ।”

त्यहाँ उपस्थित सबै काला जातिका मानिस रिसाए । किनभने, उनीहरुले न्यान्सीको भनाइको यस्तो अर्थ लगाए- “न्यान्सीको बुझाईमा काला मानिस सुन्दर नहुँदा रहेछन् र उनी काला जातिसँग रमाउने रहिनछिन् ।”

एकपटक फ्रान्समा ईसाई प्रार्थना गृहमा बम प्रहारबाट थुप्रैको हताहती भयो । त्यहाँका प्रधानमन्त्रीले सो कार्यको भर्त्सना गर्दै भने -“यो निर्दोष फ्रेन्च जनतामाथि गरिएको बर्बर आक्रमण हो ।”

त्यो वक्तव्यको आलोचना गरियो, किनभने यसको यस्तो अर्थ लगाईयो-“के फ्रेन्च जनतामात्र निर्दोष हुँदारहेछन् ? के यो आक्रमण यहुदी वा डचमाथि गरिएको भए कम बर्बर हुन्थ्यो ?”

यी प्रसङ्गहरुमा काहीँ कतै वक्ताको नियतमा समस्या देखिँदैन । यहाँ समस्या वक्ताको भाष्यमा छ । आलोचकहरुको नियतमा समस्या छ । कतिपयले त यसलाई राम्रोसँग बुझेका पनि छैनन् ।

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाको विश्वव्यापी महामारीबाट मर्नेहरुको संख्या एक लाखमा सीमित गर्नसके उपलब्धि हुने बताए । अमेरिकामा मात्र साढे दुई लाख मानिसको मृत्यु हुनसक्ने प्रक्षेपण भइरहँदा राष्ट्रपति ट्रम्पको यो भनाइलाई नकारात्मक रुपमा लिनुपर्ने कुनै कारण छैन ।

तर, कुतर्क गर्ने हो भने, “अमेरिकी राष्ट्रपति एकलाख मान्छे मार्न चाहन्छन्”, “अमेरिकी राष्ट्रपतिले एकलाख जनताको ज्यान लिए”, “एकलाख जनता मार्न अमेरिकी राष्ट्रपतिको निर्देशन” जस्ता शीर्षक बनाएर टिप्पणी गर्न सकिएला । अनि हाम्रा प्रधानमन्त्रीले नेपाली कोरोना संक्रमणसम्बन्धी अमेरिकी राष्ट्रपतिले जस्तो टिप्पणी गरेको भए नेपाली सञ्चार जगत र आलोचकहरुले केभन्दा हुन् ?

कोरोनाको संक्रमण यति भयावह बन्यो कि संसारको सबभन्दा धनी र विश्व महाशक्ति राष्ट्र अमेरिकाले आफ्नो देशमा यसको संक्रमणविरुद्ध सही उपाय र व्यवस्थापन गर्न सकेको छैन । देशभरका स्वास्थ्यकर्मीहरुलाई अत्यावश्यक पर्ने मास्क र पीपीईको यथोचित प्रवन्ध गर्न सकिएको छैन । भेन्टिलेटरको अभाव छ । जर्मनीको भेन्टिलेटर कम्पनीसँग एकलाख भेन्टिलेटर अर्डर गरेपनि दश गुणा बढी माग आएका कारण तत्काल उपलब्ध गराउन नसकिने जनाएपछि अमेरिका आफैं भेन्टिलेटर उत्पादन गर्न तम्सेको छ ।

आज सिङ्गो युरोप कोरोनाको आतंकविरुद्ध लडिरहेको छ । संसारका ठूला विश्वविद्यालय, अनुसन्धान केन्द्र भएको र इतिहासका ठूलाठूला महामारीविरुद्ध खोप र औषधि पत्ता लगाउन सफल युरोप कोरोना नियन्त्रण गर्न नसकेर आज अवाक भएको छ ।

यस्तो विषम परिस्थितिमा केही छिटपुट घटनाबाहेक कोरोनाको कहरबाट नेपाल बचेको छ । आफैंलाई प्रश्न गर्न मन लाग्छ–हाम्रो देश आजका मितिसम्म ‘पशुपतिनाथको कृपा’ले सुरक्षित भएको हो कि यसो हुनुमा नेपाल सरकारले समय नघर्कँदै चालेको कदम र नेपाली जनताको सचेतनाले ? कि जनताको स्वास्थ्यको सवालमा युरोप अमेरिकाकोभन्दा हाम्रो नीति र व्यवस्थापन अगाडि छ ?

कोरोना आक्रमणको प्रतिरक्षामा नेपाल सरकारले चालेका अधिकांश निर्णय र पहलकदमी सही छन् भनौं भने ‘अर्को हनुमान जन्मेछ’ भन्ने आरोप आफूमाथि बर्सिने भएपछि बोल्ने आँटै आउँदैन ।

कोरोनाबाट बच्न सरकारले चालेका कदमको समर्थनमा सत्तारुढ नेकपाका दोस्रा अध्यक्ष प्रचण्डको भिडियो सन्देशमा लुकेका असन्तुष्टिका स्वर, नेकपाका केन्द्रीय सदस्य रामकुमार शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न दिएको ‘दबाब–पत्र’, सरकारका वर्तमान कदमप्रति केही केन्द्रीय सदस्यहरुको एकोहोरो आलोचना, सत्तारुढ नेकपा निकट मानिएका सञ्चारमाध्यमको एकोहोरो सरकारमाथि प्रहार भइरहेका बखत सरकारका कदम राम्रै भएपनि किन रक्षा गर्नु ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment