Comments Add Comment

कोभिड–१९ जितेकी बिरामी भन्छिन् : जीवनको सबैभन्दा डरलाग्दो अनुभव थियो

२० चैत, काठमाडौं । ‘म यति भन्नसक्छु कि म जत्तिकै नर्सहरु पनि डराएका थिए । उनीहरुले मलाई मर्न गइरहेको बिरामीलाई जसरी कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ भएको बताए’, बेलायतको एडिनवर्ग अस्पतालमा भर्ना भएकी ४१ वर्षीया आतीले बताइन् ।

उनी ज्वरो, खोकी, छाती दुख्ने, श्वासप्रश्वासमा समस्या र बास्ना तथा स्वाद थाहा पाउन नसक्ने जस्ता लक्षण देखिएपछि अस्पताल गएकी थिइन् । सुरुमा उनलाई देखिएको लक्षणअनुसार घरमा आराम गर्न भनिएको थियो । तर, समस्या बढ्दै गएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

यो भाइरसको संक्रमण देखिएको १३ औं तथा अस्पताल गएको तेस्रो दिनमा आतीको अवस्था झन् बिग्रियो । उनको ज्वरो पनि बढ्न थाल्यो र श्वासप्रश्वासको समस्या पनि बढ्यो । तर, त्यही रातिदेखि बिस्तारै ज्वरो घट्न थाल्यो । त्यसपछिको अर्को दिन नर्सहरुले अब अवस्था स्थिर देखिएको खण्डमा उनी घर जानसक्ने बताए ।

‘मलाई पहिल्यै अस्पताल आउनुपथ्र्यो भन्ने लाग्न थालेको थियो । धेरै ढिला भएकोमा डर पनि लागेको थियो’, उनी भन्छिन्, ‘यो मेरो जीवनको सबैभन्दा डरलाग्दो अनुभव थियो ।’

बेलायतमा अहिलेसम्म २९ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने दुई हजार तीन सय ५२ जना मानिसको मृत्यु भइसकेको छ ।

संक्रमितमध्ये एक ५१ वर्षीया लोउ हुन् । बकिङहाम शायरको एक अस्पतालमा कोरोनाको उपचार गराएकी लोउ यो रोगलाई जितेर बाहिर आउनु निकै ठूलो कुरा रहको बताउँछिन् ।

उनकाअनुसार अघिल्लो बुधबार उनलाई बाँचिएला जस्तो लागेको थिएन । त्यतिबेला उनलाई सास फेर्नमा कठिनाई भइरहेको थियो भने उनको होस पनि गुमेको थियो । उनको ज्वरो पनि १०४ फरेनहाइट पुगेको थियो । उनको शरीरमा रक्तचाप पनि र अक्सिजनको मात्रामा पनि ठूलो कमी देखिएको थियो ।

त्यसपछि उनी आफ्ना श्रीमान्सँग अस्पताल पुगेकी थिइन् । शुक्रबार उनी कोभिड–१९ संक्रमित भएको पुष्टि भएको थियो । उनका श्रीमान् पनि कोभिड–१९ को लक्षण नदेखिएका संक्रमित हुन् । लोउले अहिलेपनि कोभिड–१९ को परीक्षणको नतिजा कुरिरहेकी छिन् ।

अस्पतालमा उनलाई भाइरसको उपचारका लागि विभिन्न प्रकारका औषधि दिइएको थियो । उनलाई निकै गाह्रो भएको केही दिनपछि अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

अस्पतालमा कोभिड–१९ का गम्भीर बिरामीलाई मात्र भर्ना गरिन्छ । यसै क्रममा भाइरसको सामान्य संक्रमण देखिएका रायनलाई पनि घरमा नै सेल्फ आइसोलेसनमा बस्न भनियो । उनी अहिले पूर्णरुपमा स्वस्थ छन् । उनलाई भाइरसको संक्रमणको बेलामा ज्वरो सबैभन्दा उच्च विन्दुमा पुग्दा उनी ओछ्यानबाट बाहिर निस्किन नसक्ने अवस्थामा पुगेका थिए । उनी बल्लतल्ल उठेर पानी खान सक्थे ।

धेरैजसो बिरामी नपर्ने रायनलाई यो भाइसको संक्रमणले अचम्ममा पार्‍यो । अहिले उनी आफ्नो घर मलेसिया फर्किन चाहन्छन् । आफ्नो परिवारमा कोरोना भाइरसको संक्रमण देखिएपछि आफैं सेल्फ क्वारेन्टाइनमा बसेकी ५९ वर्षीया जेन्नीले यो भाइरसका लक्षणहरुको अनुभव गरेकी थिइन् ।

उनलाई आफूमा पक्कै कोभिड–१९ को संक्रमण भएको विश्वास थियो । उनलाई गाउँ चहार्दा अत्यधिक थकाई लाग्ने र श्वासप्रश्वासमा कठिनाई देखिएको थियो । तर, अहिले उनी यो भाइरसबाट निको भएर सामान्य जीवनमा फर्केकी छिन् ।

आतीको लागि कोभिड–१९ ले सामाजबारे नयाँ ज्ञान दिएको छ । उनले यो भाइरसको कारण मानिसहरु छिमेकमा म्यासेज आदानप्रदान गर्न थालेको, समस्यामा परेका मानिसलाई सहयोग गर्न थालेको बताइन् । यो रोगले मानिसलाई एक बनाएको उनको बुझाइ छ ।

द गार्डियनबाट अनुवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment