Comments Add Comment

लकडाउनका बेला फास्ट ट्रयाकको परामर्शतालाई एलओआई

२१ चैत, काठमाडौं । सरकारले लकडाउनको समयमा सरकारी आयोजनाका टेण्डरको म्याद थप्न र होल्ड गर्न निर्देशन जारी गरेको छ । नेपाली सेनाले भने लकडाउनकै बेला काठमाडौँ तराई फास्ट ट्रयाक परियोजनाको डिजाइन तथा निर्माण सुपरीवेक्षणका लागि परामर्शदातालाई लेटर अफ इन्टेन्ट (एलओआई) दिएको छ ।

फास्ट ट्राक परियोजनाको डिजाइन तथा निर्माण सुपरीवेक्षणका लागि परामर्शदाता छनोट गर्न नेपाली सेनाले लकडाउनअघि नै प्रस्ताव आह्वान गरेको थियो । अन्तर्राष्ट्रिय परामर्शहरूदातासँग आशय पत्र माग गरेर ‘फाइनान्सियल ओपनिङ’का लागि पहिल्यै योग्य भइसकेका परामर्शदातालाई आह्वान गरिसकेको अवस्था थियो ।

सेनाले दुईपटकसम्म अन्तर्राष्ट्रिय परामर्शका लागि गरिएको प्रस्ताव आह्वान खारेजसमेत गरिसकेको थियो । तर, परियोजनाको डिजाइन र निर्माण सुपरीवेक्षणका लागि परामर्शदाता टुङ्ग्याउने नेपाली सेनाको तेस्रो प्रयास लकडाउनको समयमा आएर सम्पन्न भएको छ ।

नेपाली सेनाले परियोजनाको डिजाइन र निर्माण सुपरीवेक्षण परामर्श दाताका लागि छ वटा कम्पनीलाई विस्तृत प्रस्ताव पेस गर्न आह्वान गरेको थियो–

१. एमएस युसिन इन्जिनियरिङ कोअपरेसन कोरिया जेभी, कोरिया एक्सप्रेसवे कोअपरेसन र प्युङ्ग्वा इन्जिनियरिङ कन्सल्ट्यान्ट्स कोरिया समेत ।

२. एमएस दसन कन्सल्ट्यान्ट्स कोरिया जेभी, राइट्स इन्डिया लिमिटेड समेत ।

३. एमएस इप्तिसा स्पेन जेभी, सुसुङ इन्जिनियरिङ कोरिया समेत ।

४. एमएस मेनहार्ड सिङ्गापुर जेभी, क्योङदोङ इन्जिनियरिङ र केसीआई कोरिया समेत ।

५.एमएस एसएमइसी इन्टरन्यासनल कोरिया जेभी, दोङसुङ इन्जिनियरिङ कोरिया र कोरिया इन्जिनियरिङ कन्सल्ट्यान्ट्स कोरिया समेत ।

६. एमएस चाइना रेलवे ।

तर, यी ६ वटा कम्पनीहरुमध्ये चाइना रेल्वे कम्पनीको रुची परियोजनाको निर्माणतर्फको ठेक्कामा देखिएकाले भएकाले परामर्शदाताको भूमिकाबाट आफैँ फिर्ता भएको र विस्तृत प्रस्ताव पेस नगरेको स्रोतले बतायो ।

बाँकी पाँच कम्पनीमध्ये दुई कम्पनीलाई जंगी अड्डाले फाइनान्सियल ओपनिङका लागि बोलायो–

१. एमएस युसिन इन्जिनियरिङ कोअपरेसन कोरिया जेभी, कोरिया एक्सप्रेसवे कोअपरेसन र प्युङ्ग्वा इन्जिनियरिङ कन्सल्ट्यान्ट्स कोरिया समेत ।

२. एमएस मेनहार्ड सिङ्गापुर जेभी, क्योङदोङ इन्जिनियरिङ र केसिआई कोरिया समेत ।

फाइनान्सियल ओपनिङमा युसिन कम्पनीले समायोजित अन्तिम अंक ९१.६३ र मेनहार्ड ८९.४३ अंक प्राप्त गरे । युसिनले पाएको वित्तीय अंक ९६.५४ थियो भने मेनहार्डले १०० अंक पायो । त्यसैगरी युसिनले प्राविधि अंक ९१.०१ र मेनहार्डले ८८.२५ अंक पायो ।

विशेषज्ञ शुल्कतर्फ युसिनले भन्दा मेनहार्ड सिङ्गापुरले ८ करोड ३४ लाख ३४ हजार ३९१ नेपाली रुपैयाँ अर्थात, ३२ लाख ५३ हजार ७४१ अमेरिकी डलर कममा प्रस्ताव गरेको थियो ।
नेपाली सेनाले लकडाउनकै बेला मंंगलबार दिउँसो ठेक्का दिने आशयको लेटर अफ इन्टेन्ट (एलओआई) युसिन जेभीलाई प्रदान गर्‍याे ।

कोभिड १९ का कारण सार्वजनिक खरिद अनुगमन कार्यालय र हाल निर्माणाधीन अन्य ठूला परियोजनाहरू बन्द भएको अवस्थामा यसरी हठातमा आशय पत्र जारी गरिएको भन्दै प्रतिस्पर्धी कम्पनी असन्तुष्ट देखिएको छ ।

जब कि सार्वजनिक खरिद अनुगमन कार्यालयले त्यसको अघिल्लो दिनमात्रै आफ्नो वेबसाइटमा एक सूचना जारी गर्दै सबै सार्वजनिक निकायलाई आह्वान गरिएका बोलपत्र पेस गर्ने समय सीमा लकडाउनभरि लम्ब्याउन निर्देशन दिएको थियो ।

सिङ्गो मुलुक नै कोभिड १९ का कारण लकडाउनमा भएको र यातायात आवत–जावत बन्द रहेका बेला यस्तो जोखिमपूर्ण परिस्थितिमा कम्पनीका प्रतिनिधिलाई सम्झौताबारे छलफल गर्ने बैठकमा भाग लिन बोलाइएको भन्दै प्रतिस्पर्धी कम्पनीले असन्तुष्टि जनाएको छ ।

परियोजनाको समय क्रम

आशय पत्र माग– अक्टोबर ४, २०१९

आशय पत्र पेस– नोभेम्बर ३, २०१९ (दिउँसो १ बजे)

सर्टलिस्ट प्रकाशन–नोभेम्बर २७, २०१९

प्रस्ताव आह्वान– डिसेम्बर ३, २०१९

प्रस्ताव पेस–जनवरी १७, २०२० (दिउँसो २ बजे)

फाइनान्सियल ओपनिङको सूचना :– मार्च १६, २०२०

फाइनान्सियल ओपनिङ : मार्च ३१, २०२० (दिउँसो २ बजे)

आशय पत्र जारी : मार्च ३१, २०२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment