Comments Add Comment

‘बिहेको कपडा किन्दा’ पक्राउ, बलात्कारको मुद्दा !

२१ चैत, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका निवासी ४० वर्षीय अब्दुल्ला अन्सारी गत चैत ३ गते कटहरिया नगरपालिकास्थित कटहरिया बजारबाट ‘आफ्नै विवाहका लागि’ भन्दै कपडा किनिरहेका थिए । पसलेसँग उनको विवाद भयो । त्यही निहुँमा उनलाई प्रहरीले नियन्त्रणमा लियो ।

सोधपुछका क्रममा सुरुमा उनले आफैंले विवाह गर्न लागेको बताए । केरकार गर्दै जाँदा पहिले नै विवाह भइसकेको र बालबच्चासमेत भइसकेको रहस्य खुल्यो । प्रहरीले अन्सारीलाई ‘दोस्रो विवाह गर्न खोजेको’ आशंका गर्दै ‘अभद्र व्यवहार’को मुद्दा अगाडि बढायो ।

रौतहटको इलाका  प्रहरी कार्यालय गरुडाका नायव उपरीक्षक ज्ञानकुमार महतो भन्छन्– ‘सुरुमा उनले आफूले नै विवाह गर्न लागेको बताएका थिए । विवाहितले दोस्रो विवाह गर्न लागेको थाहा पाएपछि अभद्र व्यवहारको मुद्दा चलायौं ।’

हिरासतमै हुँदा अर्को ट्विस्ट !

डीएसपी महतोका अनुसार अहिले अन्सारीले जबरजस्ती करणी गरेको अर्को उजुरी परेको छ । अब यसमा थप अनुसन्धान अगाडि बढाउन उनलाई जिल्ला प्रहरी कार्यालय पठाउनुपर्ने भएको छ । महतोले भने, ‘बारा जिप्रकामा उनीविरुद्ध किशोरीले जर्बजस्ती करणीमा जाहेरी दिएकी रहिछन् ।’

छोराका लागि केटी हेराउने बहानामा बोलाएर एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अन्सारीमाथि अभियोग लागेको छ । उनले बुहारी बनाउन भनी बोलाएर किशोरीलाई बलात्कार गरेको प्रहरीको दाबी छ ।

प्रहरीले दाबीअनुसार अन्सारीले झण्डै एक महिनाअघि छोरासँग विवाह गराउन भनी १७ वर्षीया किशोरीलाई कलैया बोलाएका थिए । केटा हेर्न भनी किशोरी ७५ वर्षीया हजुरआमालाई लिएर कलैया पुगेकी थिइन् । अन्सारीले हजुरआमालाई फिर्ता पठाएर किशोरीलाई मात्रै कलैयास्थित एक होटलमा राखेका थिए । त्यहीँ उनले किशोरीको बलात्कार गरेको प्रहरीको दाबी छ ।

अन्सारीले जर्बजस्ती गरेको भनी जिल्ला प्रहरी कार्यालय बारामा मंगलबार एक युवतीले मुद्दा दर्ता गराएकी छिन् । अन्सारी भने अझै गरुडा प्रहरीकै नियन्त्रणमा छन् । बलातकारको घटना कलैयामा भएकाले जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दर्ता गराइएको प्रहरी सूत्र बताउँछ ।

उजुरीमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले अनलाइनखबरलाई जानकारी दिए ।

उनले भने, ‘सुरुमा झै-झगडा गरेको आरोपमा अन्सारीविरुद्ध इलाका प्रहरी कार्यालय गरुडाले अभद्र व्यवहारको मुद्दा चलाएको थियो । झगडाको कारण बुझ्दै जाँदा जर्बजस्ती करणी भएको रहस्य खुल्यो । छोरासँग विवाह गराउने शर्तमा केटा हेर्न भन्दै बोलाएर जबर्जस्ती करणी गरेको रहेछ, घरमा पुर्‍याउन जाँदा झगडा भएछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment