Comments Add Comment

स्वास्थ्यमन्त्रीको निर्देशन-उपचारमा कमी हुन नदिनू

२१ चैत, काठमाडौ‌ं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सबै किसिमका बिरामीको उपचारका कुनै कमी हुन नदिन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई निर्देशन दिएका छन् ।

शुक्रबार न्याम्सका पदाधिकारीलाई मन्त्रालयमा बोलाएर मन्त्री ढकालले कोरोनाको उपचारको तयारी बारे जानकारी लिँदै अन्य बिरामीको उपचारमा पनि कमी हुन नदिन निर्देशन दिएका हुन् ।

मन्त्री ढकालले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनका निम्ति सरकारले कुनै कसर बाँकी नराखेको बताउँदै प्रोत्साहन भत्ता र बीमाको व्यवस्था भइसकेको बताए ।

मन्त्री ढकालले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को पनि अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे । उनले बिरामीको उपचार अघि बढाउन र अन्य अस्पतालसँगको सहकार्यमा समेत बिरामीको उपचार गर्न गराउन निर्देशन दिए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीले सरकारको निर्देशन पालना गर्ने जानकारी गराउँदै बिरामीलाई कुनैपनि किसिमको असुविधा हुन नदिने बताए ।

न्याम्सका उपकुलपति डा देवनारायण शाहले मन्त्रालयको निर्देशन अनुसार कोरोनासहितका बिरामीको उपचारका निम्ति पूर्ण रूपमा तयार रहेको बताए ।

वीर अस्पतालका कार्यकारी निर्देशक डा. केदारप्रसाद सेञ्चुरीले वीर अस्पतालले गरिरहेको तयारीबारे बताउँदै सोमबारदेखि कोरोनाको नमुना परीक्षण समेत हुने जानकारी दिए ।

यस्तै, राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा‍. सन्तोष पौडेलले कोरोना उपचारमा विशेष सजकता अपनाउनुपर्नेभन्दै ट्रमा सेन्टरले अहिले पनि घाउचोटका बिरामीको उपचार गरिरहेको जानकारी गराए ।

उनले कोरोनाका बिरामीको उपचारमा विशेष सजकता अपनाउनुपर्ने भन्दै कोरोनाको नाममा अन्य बिरामीले उपचार नपाइ ज्यान जाने अवस्था आउन दिन नहुनेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment