Comments Add Comment

मुख्यमन्त्री पौडेलको अध्यक्षतामा कोभिड संकट व्यवस्थापन समिति गठन

२१ चैत, हेटौंडा। कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारलगायतका कार्यहरुलाई व्यवस्थित गर्न मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा प्रदेश कोभिड संकट व्यवस्थापन समिति गठन गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कार्यदिशा अनुसार शुक्रबार समिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा सामाजिक विकासमन्त्री, आन्तरिक मामिला तथा कानुनमन्त्री, आर्थिक मामिला तथा योजनामन्त्री, प्रमुख सचिव, नेपाली सेनाका प्रमुख, नेपाल प्रहरी सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख र हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत सदस्य रहेका छन् ।

समितिले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा सहयोग, समन्वय, सहजीकरण र अनुगमन गर्ने, औषधि उपकरण तथा स्वास्थ्य सामग्रीलगायत आवश्यक वस्तु वा सेवाको आपूर्तिको व्यवस्थापन र अनुगमन गर्ने, आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गर्ने, अस्पतालहरुको मापदण्डअनुसारको आइसोलेसन र आईसीयूको व्यवस्थापन गर्ने, मापदण्डअनुसारको क्वारेन्टाइनको निर्माण तथा व्यवस्थापनलगायतका कार्य गर्नेछ ।

यसैगरी, समितिमा उद्योग, पर्यटन, वन तथा वतावरणमन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, उद्योग, पर्यटन, वन तथा वातारवण मन्त्रालयका सचिव, सामाजिक विकास मन्त्रालयका सचिवहरुलाई सदस्यमा र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवलाई सदस्य सचिवमा मनोनित गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment