Comments Add Comment

‘सेनालाई स्वास्थ्य सामग्री किन्न लगाउनु शुभ लक्षण होइन’

२१ चैत, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सामग्री खरिदको जिम्मेवारी सेनालाई दिनु गलत भएको बताएका छन् ।

कांग्रेस नेता पौडेल भन्छन्, ‘नागरिक सरकारले गर्नुपर्ने काम सेनालाई गर्न दिनु भनेको शुभ लक्षण होइन ।’

यो पनि पढ्नुहोस ‘सरकारले गर्न नसकेको काम सेनालाई दिने भए क्याबिनेट नै बुझाए भैहाल्यो नि’

संकटको घडीमा राजनीतिक नेतृत्वले नै निर्णायक भूमिका खेल्नुपर्नेमा पौडेलको जोड छ । शुक्रबार अनलाइनखबरसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले भने, ‘सेनाले गरेपछि छानबिन पनि नहुने र मन्त्रिपरिषदले निर्णय गरेपछि अख्तियारले पनि हेर्न पाउँदैन, त्यसैले जे गर्दा पनि हुन्छ भन्ने बेइमानीपूर्ण मनोवृत्ति देखिएको छ ।’

स्वास्थ्य सामग्री खरिदबारे कांग्रेस नेता पौडेलको धारणा उनकै शब्दमाः

सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि केही गरेको छैन त भन्दिनँ । तर, पर्याप्त काम भने भएको छैन । यति नजिकको छिमेक चीनमा कोरोना देखिएको तीन महिना भइसकेको छ । त्यतिबेलै हामीले पर्याप्त तयारी गर्नु पथ्र्याे ।

ढिलो गरी केही सामान त आयो । तर, विवादमा पर्‍यो । सामान खरिदमा भ्रष्टाचार र कमिसनको धेरै ठूलो खेल भएको कुरा आएको छ ।

सामान त आयो । तर, अधुरो आयो । पूरा शरीर सुरक्षित गर्ने गरी पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युइपमेन्ट) ल्याइएन । पीपीई भनेको त शीरदेखि पैतालासम्मै बचाउने चाहियो नि । स्वास्थ्यकर्मी नै सुरक्षित भएनन् भने अरु कसरी सुरक्षीत हुन्छ ।

सामान अधुरो मात्रै होइन मुल्यमा पनि अत्यन्त ठूलो हिराफेरी भएको कुरा आएको छ । यसमा राज्यको गैर–जिम्मेवारीपन र असावधानी देखियो ।

अहिले सेनालाई स्वास्थ्य सामग्री खरिद गर्न दिने भनिएको छ । ओहो, नेपालमा कति ठूलो विश्वासको संकट रहेछ । अविश्वासकै कारण सबै कुरा सेनालाई दिनुपर्ने ? ठेक्का, टेन्डरमा ठेकेदारले बेइमानी गर्ला भनेर त्यो पनि सेनालाई दिने ?

सेनालाई जिम्मा लगाएपछि सत्ताधारीहरू पनि आफूलाई सुरक्षित ठान्ने । सेनाले गरेपछि छानविन पनि नहुने र मन्त्रिपरिषदले निर्णय गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि हेर्न पाउँदैन, त्यसैले जे गर्दा पनि हुन्छ भन्ने बेइमानीपूर्ण मनोवृत्ति देखिएको छ ।

नागरिक सरकारले गर्नुपर्ने काम सेनालाई गर्न दिनु भनेको शुभ लक्षण होइन । यो विस्तारै सेनालाई सुम्पँदै जाने लक्षण त होइन भन्ने आशंका पनि उब्जाएको छ ।

जे पनि सेनाले नै गर्नुपर्छ भन्दा राजनीतिक नेतृत्व, नागरिक सरकारले काम गर्न नसकेको जस्तो अर्थ लाग्छ । राजनीतिक नेतृत्वले नै गर्नुपर्ने हो ।

लोकतन्त्रमा यस्तो हुनु भनेको दुर्भाग्यपूर्ण कुरा हो । यस्तो संकटका बेला सामान खरिद गर्दा अनुगमन र अनुशासन झनै बलियो बनाउनु पर्दथ्यो ।

यो सामान्य कुरा होइन । भ्रष्टाचारले प्रजातन्त्रलाई नै खतरामा पारेको छ । चीनबाट स्वासथ्य सामग्री खरिद गरिएको प्रकरणमा पनि छानविन हुनुपर्दछ । संलग्न जो भए पनि कारवाही हुनै पर्दछ । ढाकछोप गर्ने, लुकाउने वा शक्तिशालीले जे गर्न पनि हुने गरियो भने आमजनतामा के प्रभाव पर्ला ?

भ्रष्टाचारमाथिबाटै रोकिनु पर्छ । शक्तिशाली मान्छेको आडमा कसैलाई पनि जोगाउनुहुँदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment