Comments Add Comment

गल्फर प्रतिमा शेर्पा भन्छिन्- कोरोनाले खुशी साट्नै पाइनँ

२२ चैत, काठमाडौं । दुई दिनयता गल्फर प्रतिमा शेर्पाको मन उकुसमुकुस भइरहेको छ । उनी घरी सामाजिक सञ्जाल नियाल्छिन् त घरी विश्वभरिका समाचारलाई पछयाइरहन्छिन् । उनको शरीर अमेरिकामा त मन नेपालमै छ । अमेरिकामा दिनप्रदिन बढ्दै गएको कोरोना भाइरसको संक्रमणका कारण कतै निस्कन मिल्ने अवस्था छैन ।

हाल अमेरिकाको क्यालिफोर्नियामा स्नातक तहमा अध्ययनरत प्रतिमा बिहीबार फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको सन् २०२० को एशियाका ३० वर्षमुनिका ३० युवा प्रतिभाशाली व्यक्तिको सूचीमा परेकी एक मात्र नेपाली खेलाडी हुन् । उनी नेपालको एक नम्बरकी महिला गल्फ खेलाडी हुन् ।

फोर्ब्सले सार्वजनिक गरेको ३०० जनाको सूचीमा नेपालका छ युवा परेका छन् । उनीसँगै सूचीमा परेका निकिता आचार्य, किरण तिम्सिना, शुभांगी राणा, जेसलिना राणा र रोहित तिवारी भने उद्यमी हुन् । बीस वर्षीया प्रतिमा मनोरञ्जन र खेलकुद विधामा २४औँ स्थानमा पर्न सफल भएकी छिन् । फोर्ब्सले यो सूचीमा भविष्य परिवर्तन गर्नसक्ने क्षमता राख्ने व्यक्तिलाई समावेश गरेको छ।

उक्त सूची तीन हजार पाँच सय जनाबाट छानिएको हो । फोर्ब्सले यस्ता व्यक्ति छान्नका लागि समिति बनाउँछ । बिहीबार राति फोर्ब्सको सूचीमा परेपछि नेपालमा रहेका उनका साथीले प्रतिमाले उक्त खबर सुनाएका थिए । त्यसयता उनको मन फुरुङ्ग भएको छ ।

बाबुआमाको निकै चिन्ता लागिरहन्छ, कोरोनाको त्रास हटेपछि छिट्टै बाबुआमालाई खुशी साट्न नेपाल फर्कन्छु- गल्फर प्रतिमाले भनिन्

‘चाँडोभन्दा चाँडो नेपाल फर्कन पाए हुन्थ्यो जस्तो भएको छ,’ अमेरिकाको क्यालिफोर्नियाबाट फोनमा कुरा गर्दै उनले भनिन्, ‘कोरोना भाइरसका कारण साथीभाइ र आफन्तलाई खुशी साट्नै पाइनँ ।’

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपालले सबै अन्तर्राष्ट्रिय उडानहरु रोकेका कारण उनी नेपाल आउन सकिरहेकी छैनन् । प्रतिमा बस्दै आएको क्षेत्रमा एक सय २० कोरोनाबाट संक्रमित छन् भने एक जनाको मृत्यु भएको छ । यसले उनको मन झन् त्रसित छ । ‘यस्तो अवस्थामा नेपाल फर्कन पाए हुन्थ्यो, बाबुआमा र आफन्तका साथमा बस्न पाए मन हलुका हुन्थ्यो,’ उनी भन्छिन् ।

घर बाहिर ननिस्के खासै समस्या नहुने प्रतिमा बताउँछिन् । अमेरिकामा रहेका नेपालीसित सामाजिक सञ्जालमा खबर आदान–प्रदानका माध्यमबाट मन बहलाउने गरेको उनले बताइन् । ‘नेपालमा अमेरिकाकोभन्दा कोरोनाको त्रास कम रहेछ,’ उनले साथीभाइबाट पाएको खबर सुनाइन् ।

प्रतिमाको घर सोलुखुम्बुको नाम्चे हो । उनको जन्म काठमाडौ‌ंमै भएको हो । ‘एकपटक मात्र जन्मथलो गएकी छु’, उनले सुनाइन्, ‘टाढा छ पटक–पटक जान सकिन्नँ ।’

उनको परिवार गौचरन स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छेउमै रहेको रोयल नेपाल गल्फ क्लबको कोर्ष (मैदान) सँगैको छाप्रोमा बस्दै आएको छ । उनका बुबा पासाङ सो मैदानका सुरक्षागार्ड हुन् भने आमा त्यहीँ मैदानको रेखदेख गर्छिन् ।

हाल पढाइ र गल्फ प्रशिक्षणका लागि अमेरिकामा रहेकी उनी नेपालकी पहिलो एम्च्योर महिला गल्फर हुन् । पछिल्लोपटक प्रतिमा गत असारमा नेपाल आएकी थिइन् । यस्तो महामारीमा उनको मन नेपालमै छ । ‘बाबुआमाको निकै चिन्ता लागिरहन्छ, कोरोनाको त्रास हटेपछि छिट्टै बाबुआमालाई खुशी साट्न नेपाल फर्कन्छु’, उनले भनिन् ।

काठमाडौंको खुशीबुँ स्थित प्राइम कलेजबाट १२ कक्षा उत्तीर्ण गरेपछि उनी अध्ययन र प्रशिक्षणका लागि अमेरिकातर्फ हान्निएकी हुन् । खेलका माध्यमले सर्वत्र चिनिन्छ भन्ने उनको बाबुआमाको धारणा थियो । यसलाई प्रतिमाले सत्य सावित गरिदिएकी छिन् । नौ वर्षयता उनले झण्डै ६० प्रतियोगिता खेलेकी छिन् । करिब ३५ प्रतियोगितामा प्रथम भएको उनी बताउँछिन् ।

यो पनि पढ्नुहोस किशोरी गल्फरको यात्रा : काठमाडौँदेखि क्यानिफोर्नियासम्म

उनी अमेरिकामा कलेजको टोलीबाट गल्फ खेल्छिन् । कलेजमा सधैं अभ्यास हुन्छ । अहिले कोरोनाका त्रासले कलेज बन्द छ । प्रतियोगिता निरन्तर भइरहने भएकाले उनको खेलको स्तर बढ्दै गएको छ । अहिले कोरोनाका कारण अभ्यास गर्न नपाएकामा छटपटी भइरहेको उनले सुनाइन् ।

‘चाँडै कोरोना संक्रमण हट्ने छ र अभ्यास गर्ने वातावरण बन्छ होला’, प्रतिमा भन्छिन्, ‘नेपालमा पढ्दा विद्यालय र कलेजमा गल्फ खेल्ने साथी पाउन सकेकी थिइनँ, यहाँ त्यो सब छ ।’
रोयल नेपाल गल्फ क्लबको सहयोगमा उनले गल्फको यात्रा थालेकी हुन् । उनी घरेलु गल्फ कोर्समा सर्वाधिक उपाधि जित्ने महिला गल्फर हुन् ।

त्यसैले उनलाई गल्फ क्लबले नेपालको नम्बर वान नेपाली महिला गल्फरको उपाधि दिएको हो । उनले यसको श्रेय रोयल नेपाल गल्फ संघका अध्यक्ष टासी घले तथा बाबुआमालाई दिएकी छिन्। उनले अमेरिकामा छँदा विश्व चर्चित गल्फ स्टार टाइगर उड्सलाई समेत भेटिसकेकी छिन् ।

छोरीको प्रगतिबारे आमा कल्पनालाई त्यति धेरै थाहा छैन । तर जे-जति प्रतिमाको साथीबाट सुनेकी छिन् त्यसमा उनको एक मात्र सन्तानप्रति गर्व छ । ‘तपाईंको छोरीले राम्रो गरिन्, नाम कमाइन्’, बिहीबार साँझ काठमाडौँमा रहेका प्रतिमाका साथीहरुले फोनमा सुनाएको खबरबारे प्रतिक्रिया जनाउँदै आमा कल्पनाले भनिन् ।

तर, फोर्ब्सको सूचीबारे भने उनलाई कत्ति पनि थाहा छैन । ‘एक हप्तादेखि इन्टरनेट चलाउन पाएका छैनौं‌, खबर के हो थाहा छैन,’ शुक्रबार मध्याह्न रासससित फोनमा कुरा गर्दै कल्पनाले भनिन् ।

गल्फ खेलमा राम्रो गरेकै कारण छोरीले नाम कमाएको भन्ने कुरा मात्र उनले बुझेकी छिन् । गौचरनस्थित गल्फ मैदानमा काम गरेको २२ वर्षपछि उनले जागिरबाट अवकाश पाएकी छिन् । उनले अहिले पनि त्यो मैदानमा पानी हाल्ने, घाँस काट्ने तथा मैदान चुस्तदुरुस्त पार्ने काम गर्दै आएकी छिन् ।

प्रतिमाका बुबा पासाङ पनि त्यही खेलमैदानका सुरक्षागार्ड हुन् । आमा कल्पनाले जस्तै बुबा पासाङले पनि गल्फमा छोरीले राम्रो गरिन् भन्ने मात्र थाहा छ । ‘के-कसरी नाम कमाइन् भन्ने थाहा छैन, जे गरेको भए पनि खुशी छौं,’ उनले भने । प्रतिमाको प्रगति उसकै मुखबाट सुन्ने प्रतिक्षामा शेर्पा दम्पती छन् ।

–राससको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment