Comments Add Comment

नेपालीको अवस्था बुझ्न भारतीय क्वारेन्टाइनमा पुगे सांसद

Photo Credit : रवीन्द्र गुप्ता

२२ चैत, बुटवल । सुनौली नाकामा अलपत्र परेपछि भारतको नौतनवास्थित क्वारेन्टाइनमा राखिएका नेपालीहरुको अवस्था बुझ्न प्रदेश ५ का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय नौतनवा पुगेका छन् ।

भारतका तीनवटा विद्यालय/कलेजमा बनाइएका क्वारेन्टाइनमा रहेका तीन सय बढी नेपालीको अवस्थाबारे बुझ्न रुपन्देही क्षेत्र नं. ३(क) बाट निर्वाचित प्रदेशसभा सदस्य पाण्डेय नौतनवा पुगेका हुन् ।

भारतले तीन अलगअलग स्थानमा व्यवस्थित ढंगले क्वारेन्टाइनमा नेपालीहरु राखेको प्रदेशसभा सदस्य पाण्डेयले जानकारी दिए ।

पाण्डेयले नौतनवमा रहेका नेपालीहरुलाई आफूले प्रत्यक्ष भेटेर उनीहरुको अवस्थाबारे जानकारी लिएको बताए । सुनौली ग्राम पञ्चायत र नौतनवा नगर पञ्चायत प्रतिनिधिहरुको प्रत्यक्ष निगरानीमा नेपालीहरुलाई राखिएकोले अवस्था सामान्य रहेको उनले बताए ।

‘नेपाल-भारतमा मात्र नभइ विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट आर्थिक रुपमा सम्पन्न मुलुकहरु पनि समस्यामा परेका छन्, यो अवस्थामा सेल्फ क्वारेन्टाइनको आवश्यकता छ,’ समाजवादी पार्टी संसदीय दल प्रदेश ५ का प्रमुख सचेतकसमेत रहेका पाण्डेयले भने । अहिलेको अवस्थामा राजनीतिक दलका नेताहरुले आफू सुरक्षित भएर जनतालाई सुरक्षित राख्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै नेपालीहरुको अवस्था बुझ्न नौतनवा पुगेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक -डीएसपी) खड्कबहादुर खत्रीले तीन ठाउँमा रहेका नेपालीहरुको अवस्था सामान्य रहेको जानकारी दिए । उनले अवस्था बुझ्ने क्रममा समस्यामा परेको कुनै गुनासो नआएको बताए ।

सुनौली ग्राम प्रधानका चेयरम्यान सुधिर त्रिपाठीले मित्र राष्ट्रको धर्म भारतले निर्वाह गरेको बताए । उनले नेपालीहरुको सुविधामा कुनै पनि कमी नहोस् भन्ने उद्देश्यले उचित व्यवस्था गरिएको जानकारी दिए ।

विधायक अमणमणि त्रिपाठीले पनि क्वारेन्टाइनको अवलोकन गरेको बताए । नौतनवा नगर पञ्चायतका चेयरम्यान गुड्डु खानले नेपालीहरुको सेवा सुविधामा कुनै कसर बाकी नराख्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment