Comments Add Comment

सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री देऊ : प्रेस काउन्सिल

२३ चैत, काठमाडौं । सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउन प्रेस काउन्सिल नेपालले माग गरेको छ ।

कोभिड–१९ को जोखिम बढिरहेको उल्लेख गर्दै काउन्सिलले अन्तर्राष्ट्रिय सीमासहित जोखिमपूर्ण क्षेत्रको समाचार संकलनमा खटिने पत्रकारका लागि स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री उपलब्ध गराउन सरकारसँग माग गरेको हो ।

काउन्सिलको आज बसेको बैठकले कोभिड–१९ नियन्त्रणका लागि सबै प्रकारका सञ्चारमाध्यमबाट सन्देशमूलक सूचना सामग्री र कार्यक्रम प्रकाशन÷प्रसारण गर्न स्वास्थ्य मन्त्रालय, सङ्घ/प्रदेश र स्थानीय सरकारबाट आवश्यक सहकार्य र बजेट व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि लिएको छ ।

संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनपछि नेपाली आमसञ्चारमाध्यमले खप्नुपरेको चरम पीडाको समीक्षा गर्दै विद्युत्, टेलिफोन, इन्टरनेटसहितका सञ्चार सामग्रीमा छुट र अनुदानको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । कोभिड–१९ को सङ्क्रमण र रोकथामका लागि राज्य नै बन्दाबन्दी ‘लकडाउन’ रहेको अवस्थामा अहोरात्र खटिएर चेतनामूलक सूचना सामग्री सम्प्रेषण गर्न देशैभरका सञ्चारमाध्यमले निर्वाह गरेको भूमिको प्रशंसा गरेको छ ।

कोभिड–१९ को जोखिमबाट सुरक्षित रही विश्वसनीय, सन्तुलित र सत्यतथ्यपूर्ण सूचना एवं समाचार–सामग्री सम्प्रेषण गर्न आमसञ्चारमाध्यमलाई अपिल पनि गरेको छ । सार्वजनिक आवतजावत बन्द हुनाका साथै वितरण गर्ने, सम्पादन, व्यवस्थापन समूह एक ठाउँमा जुट्न नसक्ने, छापाखानामा प्राविधिकहरू नआउने अवस्था हुँदा प्रकाशन अवरुद्ध पत्रपत्रिकाको हकमा लोककल्याणकारी विज्ञापन भुक्तानी र वर्गीकरणका लागि यस अवधिमा अङ्क नपुगे पनि भुक्तानी र वर्गीकरणको नीतिगत निर्णय गर्न पनि सरकारसँग आग्रह गरेको छ ।

काठमाडौँ प्रेस अनलाइन न्यूज पोर्टलको निर्माणकर्ता÷सेवा प्रदायकबाट नै अनलाइन सञ्चारमाध्यममा प्रवेश गरी ‘कन्टेन्ट’समेत हटाइएउपर ध्यानाकर्षण भएको जनाउँदै बैठकले उक्त कार्य स्वतन्त्र प्रेसको मूल मर्म र भावनाविपरीत भएको ठहर गरेको छ । बैठकले सोकोे सत्यतथ्य छानबिन गरी दोषीमाथि कारवाही र आइन्दा यस प्रवृत्तिका प्रेस स्वतन्त्रताविरोधी हस्तक्षेप कहीँकतैबाट हुन नदिने व्यवस्था मिलाउन सम्बन्धित सबैमा आग्रह गर्ने निर्णय पनि गरेको छ ।

काउन्सिलले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा अध्यक्षको सात, अधिकृत कर्मचारीको पाँच र सहायकस्तरका कर्मचारी सबैको तीन दिनको तलबबराबरको रकम जम्मा गर्ने निर्णय गरेको सूचना अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment