Comments Add Comment

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

२४ चैत, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुने मानिसको संख्या १० हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार तीन सय ३५पुगेको छ । साथै समग्र संक्रमित पनि तीन लाख ४७ हजार नाघेका छन् । अहिलेसम्म अमेरिकामा करिब १९ हजार संक्रमित निको भइसकेका छन् ।

चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको मुलुक अमेरिकामा पछिल्लो केही दिनयता नयाँ संक्रमित र मृतकको संख्या पनि तीव्र गतिमा बढेको छ । बिरामीको संख्या बढेसँगै अमेरिकामा स्वास्थ्य सामग्रीको अभाव चुलिन सक्ने विश्लेषकहरुले चेतावनी दिइसकेका छन् ।

अमेरिकाको न्युयोर्क राज्य कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको राज्य हो । न्युयोर्कमा अहिलेसम्म समग्र संक्रमितको संख्या एक लाख ३० हजार नाघिसकेको छ । न्युयोर्कमा अहिलेसम्म चार हजार सात सय ५८ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच सोमबार न्युयोर्कका गभर्नर एन्ड्र्यु कुओमोले सामाजिक दूरीको लागि सरकारले दिएको दिशानिर्देश अवज्ञा गरे पाँच सय देखि एक हजार डलरसम्मको जरिवाना लगाइने बताएका छन् ।

अहिलेसम्म विश्वभर यो भाइरसबाट संक्रमित हुनेको संख्या १३ लाख नौ हजार नाघिसकेको छ । समग्र मृत्यु हुनेको संख्या ७२ हजार नाघेको छ । त्यस्तै विश्वभर दुई लाख ७३ हजारभन्दा धेरै संक्रमित निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment