Comments Add Comment

कैलाली र कञ्चनपुरमा कोरोनाको र्‍यापिड टेस्ट सुरु

सुरुमा दुई सय र त्यसपछि पाँच हजारको परीक्षण हुने

२५ चैत, कैलाली । कैलाली र कञ्चनपुरमा कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड डाइग्नोस्टिक टेष्ट मंगलबारबाट सुरु भएको छ ।

र्‍यापिड टेष्टका लागि छ सदस्यीय प्राविधिकको टोली सोमबार साँझ धनगढी आइपुगेको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयले त्यसमा चार जना सदस्य थप गरेर परीक्षणका लागि टोली खटाइएको जनाएको छ ।

१० जनाको टोली दुई भागमा विभाजन गरेर र्‍यापिड टेष्ट गरिने स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले बताए ।

दुई टोलीले कैलाली र कञ्चनपुरमा रहेका शंकास्पद व्यक्तिको परीक्षण गर्नेछ । ‘एउटा टोली टीकापुर नगरपालिकाहुँदै लम्किचुँहा, घोडाघोडीलगायतका स्थानीय तहमा रहन्छ,’ उनले भने, ‘अर्काे टोलीले कैलालीको गोदावरी नगरपालिकाहुँदै कञ्चनपुरसम्मको भेगमा परीक्षण गर्छ ।’

केन्द्रबाट पाँच हजार किट आएपछि पहिलो चरणमा दुई सय जनाको मात्रै परीक्षण गरिने जोशीले जानकारी दिए । ‘२ सयको परीक्षणपछि काठमाडौंको टोली फर्किन्छ । त्यसपछि यहीको टोलीले अन्यको परीक्षण गर्छ,’ उनले भने ।

पहिलो चरणका शंकास्पद व्यक्ति, क्वारेन्टाइनमा रहेका र लक्षण देखिएकाहरूको परीक्षण गर्ने टोलीको योजना छ । त्यसपछि सुदूरपश्चिम प्रदेशका सबै क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षण गरिनेछ ।

जोशीले पोजेटिभ रिपोर्ट आएकाहरूलाई धनगढीमै पीसीआर प्रविधिबाट पुनः परीक्षण गर्न सकने बताए ।

सुदूरपश्चिम प्रदेशका चार जनामा कोरोना संक्रमण देखिएपछि संघीय सरकारले बागलुङ, कैलाली र कञ्चनपुरमा र्‍यापिड डायग्नोस्टिक टेष्ट गर्ने निर्णय गरेको थियो । सोही निर्णयानुसार दुई दिनमा कैलाली र कञ्चनपुरका दुई सयको परीक्षण गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment