 
																			२५ चैत, वीरगञ्ज । कोरोना विशेष अस्पताल स्थापनाका लागि दबाब बढेपछि प्रदेश सरकारले वीरगञ्जमा विज्ञ टोली पठाएको छ ।विज्ञ टोलीका सदस्य पूर्वस्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादव, डा.रामकेवल साह, डा.विजय सिंह वीरगञ्ज आएर फर्केका हुन् ।
प्रदेश २ सरकारले गठन गरेको विज्ञ टोलीका तीनै जना सदस्यले अस्पताल स्थापनाका लागि वीरगञ्जका सरोकारवालासँग समेत छलफल गरेका छन् ।
कोरोना रोकथाम उच्चस्तरीय चिकित्सकीय सल्लाहकार विज्ञ समूहले वीरगञ्ज हेल्थ केयर, नेशनल ट्रेडिङ र कृषि ज्ञान केन्द्र पर्साको संरचनाको पनि निरीक्षणसमेत गरेको छ ।
अवलोकनपछि विज्ञ टोलीले तत्काल वीरगञ्ज हेल्थ केयर हस्पिटललाई भाडामा लिएर कोरोनाको विशेष अस्पताल बनाउन सकिने अनौपचारिक जानकारी गराएको सांसद प्रदीप यादवले बताए ।
‘विज्ञ टोलीले गण्डकस्थित वीरगञ्ज हेल्थ केयर हस्पिटललाई भाडामा लिएर कोरोना विशेष अस्पताल बनाउन सकिने औल्याएका छन् । सञ्चालकले पनि सकारात्मक प्रतिक्रिया दिएका छन्,’ सांसाद यादवले भने ।
तीनदेखि ६ महिना भाडामा लिएर कोरोना विशेष अस्पताल बनाउन सकिने अध्ययन टोलीले निष्कर्ष निकालेको तर अन्तिम निर्णय भइनसकेको उनको भनाइ छ ।
नेशनल ट्रेडिङ, कृषि ज्ञान केन्द्रमा अस्पतालका लागि आवश्यक प्रबन्ध मिलाउन समय र खर्च बढी लाग्ने भएकोले तयारी अवस्थामा रहेको हेल्थ केयरलाई भाडामा लिएर कोरोना विशेष अस्पताल स्थापना गर्नु उपयुक्त हुने उनको भनाइ छ ।
नारायणी अस्पतालका चिकित्सकले पनि अस्पतालमा कोरोना विशेष अस्पताल स्थापना गर्दा अन्य सेवा प्रभावित हुने भएकोले निजी अस्पताललाई भाडामा लिन उपयुक्त हुने सुझाव दिएका थिए ।
प्रदेश सरकारले मंगलबार नै केही स्वास्थ्य सामग्री नारायणी अस्पताललाई उपलब्ध गराएको छ । प्रदेश सरकारले ४० थान पीपीई, ४० थान एन ९५ मास्क र १५० थान सेनिटाइजर नारायणी अस्पताललाई हस्तान्तरण गरेको मुख्य मन्त्रीका स्वकीय सचिव दीपक यादवले जानकारी दिए ।
यसअघि, सांसद प्रदीप यादव, वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगी, नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा मदन उपाध्याय सहितको टोली सोमबार जनकपुर पुगेर मुख्यमन्त्री राउतलाई वीरगञ्जमा छुट्टै कोरोना विशेष अस्पताल स्थापना गर्न दबाब दिएको थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4