Comments Add Comment

नेपालमा रहेका विदेशी पर्यटक कडा नियमनमा

गर्न हुने र नहुने कामको सूची जारी

२५ चैत, काठमाडौं । लकडाउन शुरु भएयता करीव ३ हजार विदेशी नागरिक नेपालबाट स्वदेश फर्किएका छन् । अझै सयौं पर्यटक नेपालमा छन् । उनीहरुलाई पर्यटन बोर्डले कडा नियमनमा राखेको छ ।

विभिन्न स्थानमा अड्किएका पर्यटकलाई सरकारले उद्दार गरी काठमाडौं ल्याइरहेको थियो । त्यो काम अब रोकिएको बोर्डले जनाएको छ । अब उनीहरुलाई बसेकै ठाउँमा व्यवस्थापन गरिएको छ ।

कुनै दूतावासले आफ्ना नागरिकलाई फिर्ता लैजान चाहेमा भने बोर्डले स्थानीय प्रशासनको समन्वयमा काठमाडौं ल्याउँछ । बोर्डले आपत्कालिन अवस्थामा प्रयोग गर्ने हटलाइन नम्बर सार्वजनिक गर्दै उनीहरुलाई होटेलभित्रै रहन सचेत गरेको छ । लकडाउन अवधिमा नेपालमा रहँदा पर्यटकले गर्न हुने र नहुने कामको सूचि दिँदै बोर्डले नियमित हात धुन, मास्क लगाउन र सरसफाईमा ध्यान दिन सचेत गराएको छ ।

यसैगरी, मनोरन्जन, किनमेल, घुमघाम र साथिभाई भेटघाटका सबै गतिविधिमा रोक लगाइएको छ । आपतकालिन अवस्थामा अस्पताल तथा मेडिकल जानु परेमा मात्र होटेलको अनुमतिमा बाहिर निस्कन सचेत गराइएको छ । बसिरहेको स्थानमा होटेलका कर्मचारी, आगन्तुक तथा साथिभाईसँग कम्तिमा १ मिटरको दूरी कायम राख्न समेत बोर्डले आग्रह गरेको छ ।

कोरोना भाइरससँग लक्षण मिल्ने गरी स्वास्थ्य समस्या आएमा तोकिएका स्वास्थ्य केन्द्रमा तुरुन्त सम्पर्क राख्न समेत आहृवान गरिएको छ । बोर्डले लकडाउन अवधिमा पर्यटकको सुविधाका लागि तयार पारेको वेवपोर्टलमार्फत नजिकका रेष्टुराँबाट खानालगायत आवश्यक वस्तु मगाउन सकिने व्यवस्था गरिएको छ । सोही पोर्टलबाट होटेलहरुले दिन सक्ने सुविधा तथा कोठाको बारेमा जानकारी लिन सकिने छ ।

पोर्टलमा नजिकको अस्पताल, कोरोना विशेष अस्पताल तथा आवश्यक मेडिकल सहायताका लागि आवश्यक जानकारी उपलब्ध गराइएको छ । भिसासँग आवश्यक जानकारीका लागि अध्यागमन विभागमा सम्पर्क राख्न तथा आफ्नो मुलुकको दूतावाससँग नियमित सम्पर्कमा रहन समेत बोर्डले आग्रह गरेको छ ।

सरकारले लकडाउनको अवधि ३ वैशाखसम्म बढाएको छ । त्यसअवधिसम्म राष्ट्रिय-अन्तराष्ट्रिय उडान समेत ठप्प छ । यस अवस्थामा आफ्नो देशले चार्टर्ड उडान गर्न नसकेका पर्यटक नेपालमै रोकिएका छन् । उनीहरुको भिसा यस अवधिमा सकिएमा निःशुल्क अवधि थप गरिदिने निर्णय सरकारले गरिसकेको छ ।

बेलायतले आफ्ना नागरिक लैजाने

यसैबीच बेलायतले नेपालबाट बुधबार पहिलो चार्टर्ड उडानमार्फत आफ्ना नागरिक फिर्ता लैजाने भएको छ । आफ्नै मुलुकको टीटान एयरवेजको जहाजबाट उसले नागरिकलाई लैजाने भएको हो । बेलायतले दोस्रो उडान भने शुक्रबार गर्ने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment