Comments Add Comment

कोरोना भाइरसलाई फाइभजीसँग जोड्ने सामग्री युट्युबद्वारा प्रतिबन्ध

फाइभ जी नेटवर्कका कारण कोरोना भाइरसको महामारी फैलिएको भन्ने षडयन्त्र सिद्धान्तका हल्ला सोसल मिडियामा भाइरल बनिरहेका छन् । गलत सन्देश दिने खालका यस्ता सामाग्रीहरू युट्युबमा फैलिएसँगै गुगलले कठोर कदम चालेको छ । गुगलले कोरोना भाइरसलाई फाइभ जी नेटवर्कसँग जोड्ने खालका षड्यन्त्र सिद्धान्तका भिडियो सामाग्रीहरूलाई युट्युबमा बन्देज लगाएको छ ।

कोरोना भाइरसबारे अफवाह फैलाइएका भिडियोलाई अब युट्युबले हटाउनेछ ।

एकजना चर्चित षड्यन्त्र सिद्धान्तकार डेभिड इकेले युट्युबमा लाइभ प्रशारण भएको एक अन्तर्वार्ताका क्रममा अहिले फैलिरहेको कोरोना भाइरस महामारीको सम्बन्ध फाइभ जी प्रविधिसँग रहेको बताएसँगै यस विषयमा आम जनमानसमा अफवाह फैलिरहेको छ । उक्त अफवाहसँगै बेलायत र उत्तरी आयरल्याण्डका फाइभजी नेटवर्कका टावरहरूमा आगजनी समेत भएको थियो ।

फाइभजी नेटवर्कको जहासुकै विस्तार गर्ने हो भने मानिसको अस्तित्व खतरामा पर्ने भन्दै उनले मानिसले अब कठोर निर्णय लिने बेला भएको जिकिर गरेका थिए ।

अब कोरोना भाइरसविरुद्धमा बन्ने भ्याक्सिनसमेत अति सूक्ष्म प्रविधिको माइक्रोचिप्सको रूपमा हुने र त्यसले मानिसलाई नै नियन्त्रण गर्ने दाबी उनको थियो । कोरोना भाइरसविरुद्धको खोपको विकासमा लगानी गरिरहेका बिल गेट्सलाई जेल हाल्नुपर्ने पनि उनको माग थियो । उनको अन्तर्वार्ता प्रत्यक्ष प्रशारणमै हजारौँले हेरेका थिए ।

उनले फैलाएको यस्तो अफवाह र गलत तथ्य सम्मिलित उक्त भिडियो युट्युबले हटाइसकेको छ । अब यस्तो षड्यन्त्र सिद्धान्तका अन्य सबै भिडियोमाथि प्रतिबन्ध लगाइने युट्युबको भनाइ छ ।

युट्युबका अनुसार कोभिड–१९ का विषयमा विश्व स्वास्थ्य संगठनद्वारा प्रतिपादित तथ्यको विपरीतका दाबीहरू रहेका सबैखाले सामाग्रीहरू युट्युबको नीतिविरुद्धमा हुनेछन् र त्यस्ता सामाग्रीलाई युट्युबमा प्रतिबन्ध लगाइनेछ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment