Comments Add Comment

‘लडकाउन’ र ‘कानटिनटिन’

एकाबिहानै फोनको घण्टी बज्यो । व्यायाम गर्दै थिएँ । घण्टी बजेको बज्यै भएपछि फोन उठाएँ ।

उताबाट सोझै प्रश्न आयो, ‘नमस्कार माननीयज्यू, यो लडकाउन (लकडाउन) भनेको क्या हो ? कानटिनटिन (क्वारेन्टाइन) मा बस्नुपर्छ भन्छन्, काँ बस्ने भन्या हो ? आइपोछन (आइसोलेसन) मा बस्नुपर्छ पनि भन्छन् । म त अलमल्ल भएँ ।’

बीचैमा सोधेँ, ‘तपाईं को बोल्नुभयो ? नाम भन्नुहुन्छ कि ?’

उताबाट झन् कडा भनाइ आयो, ‘म तपाईंको मतदाता हुँ । मैले सोधेको कुरा प्रष्ट पारिदिनुहोस् न। मेरो नाम नभनी नहुने के छ ?’

म हच्किएँ । बोल्न खोज्दै थिएँ, फेरि प्रश्न आयो–

‘सोचेर डिस्हान्छन् (सोसियल डिस्ट्यान्सिङ) का कुरा पनि गर्छन् । यो भन्याको झन् बुझिएन । स्वाप्प (स्वाब) लिने भन्छन् । हामीले पनि केही दिनुपर्ने हो कि ?’

मैले उनको बोली रोक्ने गरी भनेँ, ‘तपाईं मलाई सोध्ने अनि बोल्न नदिने ? तपाईंले सोधेका कुरा कसरी प्रष्ट पार्न सक्छु त ?’

‘ल, ल, भन्नुहोस्’ उताबाट आवाज आयो ।

‘लडकाउन भनेको होइन । लकडाउन भनेको हो । यो अंग्रेजी शब्द हो । यो भनेको बन्द हो । बन्द भनेको तपाईंलाई थाहै छ । सबैले अति आवश्यक काम नभई घरैमा बस्ने । स्वाप्प लिने भनेको होइन, स्वाब लिने भनेको हो । यो पनि अंग्रेजी हो । मानिसको र्‍याल, सिँगान, थुकको नमुना लिने भनेको हो । यस्तो नमुनाको जाँच गरेर कोरोना विषाणु लागेको छ कि छैन भनी हेर्नलाई हो ।’

जहाँ देश हाँक्ने ठाउँमा रहेका व्यक्तिहरु नै आफ्नो नामलाई अंग्रेजी भाषामा अनुवाद गर्दै वीपी, केपी, जीपी, सीपी जस्ता शब्दमा राख्न रुचाउँछन् त्यहाँ अंग्रेजी भाषाको मोह हुनु सामान्य नै हो

मैले अझ बुझाउने आशयले थपेँ, ‘कानटिनटिन भनेको होइन, क्वारेन्टाइन भनेको हो । यो पनि अंग्रेजी हो । एकान्त वा अलग्गै बस्ने भनेको हो । आइपोछन होइन, आइसोलेसन भनेको हो । यो पनि अरुसँग घुलमिल नगरी अलगै बस्ने भन्ने हो ।’

बीचैमा प्रश्न आयो, ‘यस्तो अप्ठ्यारो बेला यस्ता कुरालाई हामीले सजिलै बुझ्ने गरी भन्न सकिन्न, माननीयज्यू ?’

उताबाट बोली रोकिएको थिएन, मैले बीचैमा भनें, ‘मलाई भन्न त दिनुहोस् । तपाईंले सुनेको सोचेर डिस्हान्छन् होइन, अंग्रेजी भाषामा सोसल डिस्टान्सिङ भनेको हो । यो भनेको पनि समाजमा भिड नगरी अलगै बस्ने भनेको हो ।’

‘ल, ल, तपाईंहरु त धेरै पढेलेखेको, अंग्रेजी धेरै बुझ्नुहुन्छ । हामीजस्ताका लागि बुझ्ने गरी भन्नुपर्‍यो नि । तपाईंलाई हामीले जिताएर पठाएको हो । सरकारलाई हाम्रा कुरा सुनाइदिनुहोला ।’ उताबाट अधिकारयुक्त र निर्देशनात्मक भनाइ आयो ।

‘हुन्छ, हुन्छ । धन्यवाद, तपाईंले राम्रो सुझाव दिनुभयो । सबैले बुझ्ने गरी भन्नुपर्‍यो भन्ने तपाईंको कुरा ठिक छ,’ मैले नम्र स्वरमा भनेँ।

‘ल, हुन्छ । नमस्कार !’ अन्तमा आफ्नो नाम र ठेगाना खुलाउँदै उनले कुरा सिध्याए ।

‘नमस्कार ! कोरोनाबाट सुरक्षित रहनुहोला है,’ मैले शुभेच्छा प्रकट गरेँ।

सुन्दा सामान्य, तर गम्भीर

झट्ट सुन्दा यो कुराकानी सामान्य लाग्न सक्छ । तर, यसले मेरो मन, मस्तिष्कलाई चिमोट्योे । अनेक कुराहरु मनमा आए ।

एक मनले सोच्यो, जहाँ देश हाँक्ने ठाउँमा रहेका व्यक्तिहरु नै आफ्नो नामलाई अंग्रेजी भाषामा अनुवाद गर्दै वीपी, केपी, जीपी, सीपी जस्ता शब्दमा राख्न रुचाउँछन् त्यहाँ अंग्रेजी भाषाको मोह हुनु सामान्य नै हो ।

तर, अर्को मनले भन्यो, आम जनताका अगाडि संकट आएका बेला जनतालाई बुझाउन र बाटो देखाउन जनताले बुझ्ने भाषा नै बोल्नुपर्छ ।

सामान्य लेखपढ गरेका वा पढ्ने मौका नपाएका मानिसले बुझ्ने भाषा बोल्नु अहिलेको संकटको बेला आवश्यक छ । जसलाई भन्नुपर्ने छ, उसले नै नबुझ्ने गरी बोल्नुको सायद औचित्य हुँदैन ।

कोरोना विषाणुको माहामारी संसारभरि फैलिरहेको छ भन्दैमा देशभित्रको सरकारी कामकाजमा अंग्रेजी भाषाको माहामारी नेपालमा फैलाउनु राम्रो होइन ।

विदेशीहरुसँग बोल्नुपर्ने भए अंग्रेजी बोले हुन्छ । यद्यपि राज्यका उच्च पदमा रहने र जिम्मेवारी लिइरहेकाहरुले कनीकुथी अंग्रेजी बोल्नैपर्छ भन्ने छैन । दोभाषेमार्फत कुरा गर्न सकिन्छ । यसलाई अन्तर्राष्ट्रिय स्तरमा सबैले मान्यता दिएकै छन् ।

कतिपय आगन्तुक शब्दहरुलाई पचाउँदै भाषा समृद्ध बनाउनुपर्छ । नेपाली भाषाले पनि धेरै आगन्तुक शब्दलाई पचाएको छ । जनसमुदायले बुझ्ने गरी स्थापित गरेको छ । यसमा विमति छैन । तर, तत्काल कुनै कुरा आम जनतालाई सहजै बुझाउनु आवश्यक भएका बेला सरल र बुझिने भाषा प्रयोग गर्नु उचित हुन्छ । अंग्रेजीका कठिन शब्दहरु नघुसाउनु नै ठिक हुन्छ ।

भाषा र संस्कृति मौलिक जीवन पद्दतिको अंग पनि हो । जनजीवनलाई स्वाभाविक गति दिने माध्यम हो । सबैलाई सहज लाग्ने र सबैले बुझ्ने गरी भन्नु र बुझाउनु सजिलै कुरा बुझाउने तरिका हो । कुरा बुझेपछि मानिसले त्यसै अनुसारको व्यवहार पनि गर्छन् । यो बन्द र बन्देजको समयमा जान्ने, बुझ्ने एवं जिम्मेवारी पाएकाहरुले उपर्युक्त कुरामा ध्यान दिनु उचित हुन्छ ।
(रावल नेकपा नेता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment