+
+

सीसीएमसीले माग्यो लकडाउनअघि विक्री भएका सीम कार्डका विवरण

गौरव पोखरेल गौरव पोखरेल
२०७६ चैत २६ गते २१:५४

२६ चैत, काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको कोभिड–१९ क्राइसीस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले चैतमा लकडाउन हुनु अघि नेपाल प्रवेश गर्नेको कन्ट्याक ट्रेसिङ सुरु गरेको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालको नेतृत्वमा रहेको सेन्टरले चैत १ गतेदेखि लकडाउन गरिएको ११ गतेसम्मको वितरण गरिएको सीम कार्ड नम्बर माग्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्राचार गरेको हो ।

स्रोतका अनुसार यो अवधिमा हवाई तथा स्थल मार्गबाट नेपाल प्रवेश गर्ने व्यक्तिको विवरण संकलन गर्नलाई सेन्टरले मोबाइल नम्बरको सूची मागिएको छ ।

‘सीमकार्डको नम्बरबाट ट्रेस गर्नेसहित अन्य विभिन्न विधि प्रयोग गरेर नेपाल प्रवेश गर्ने व्यक्तिको सूची तयार पारिनेछ’, स्रोतले भन्यो, ‘हवाई मार्गबाट आउनेको सूची सजिलै पाइन्छ । तर, स्थलमार्गबाट आउनको विवरण नहुने भएकाले यो उपाय अख्तियार गरिएको हो ।’

यो विवरण मन्त्रालयको स्वीकृतिपछि दुरसंचार प्राधिकरणबाट उपलब्ध हुने बताइएको छ । प्राधिकरणले उपलब्ध गराएको कात्तिक र मंसिर महिनाको तथ्यांकलाई आधार मान्ने हो भने दैनिक औसद १० हजार ६ सय ६२ वटा नयाँ सीम कार्ड जारी हुने गरेको देखिन्छ ।

त्यसैले ११ दिनसम्मको विवरण ठूलो संख्यामा निस्किन्छ यद्यपि, प्राथमिकताका आधार तय गरेर विश्लेषण गर्न सकिने स्रोतले बतायो । त्यसो त यस कार्यका लागि अन्य विभिन्न विधिबारे पनि छलफल भइरहेको स्रोतले अनलाइनखबरलाई बतायो ।

यो कार्यका लागि सीसीएमसीले कल सेन्टर पनि स्थापना गरेको छ । सेन्टरबाट सीमकार्डका विवरण संकलन गरी विश्लेषण हुनेछ । जुन कार्यका लागि २५ हजार सम्पर्क अधिकारी खटाइएको छ भने आवयश्कता अनुसार थप गर्न सकिने पनि बताइएको छ ।

सेन्टरबाटै सम्बन्धित व्यक्तिसँग सम्पर्क गरेर उनीहरुको स्वास्थ्य अवस्थासहिताक जानकारी दिइने जनाइएको छ । दोस्रो चरणमा उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिबारे पनि विवरण संकलन र विश्लेषण गरिने बताइएको छ ।

स्वास्थ्य मन्त्रालय र नेपाल प्रहरीले कोरोना संक्रमित व्यक्तिको कन्ट्याक ट्रेसिङ गरिरहेको छ ।

कोरोना विशेष अस्पतालको निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीबाट विशेष अधिकारीसहित स्थापना भएको सीसीएमसी अपरेशनका संयोजक अर्यालसहितको टोलीले सशस्त्र प्रहरी बलको कोरोना विशेष अस्पतालको निरीक्षण गरेको छ । निरीक्षणका क्रममा सशस्त्र प्रहरीले ६ वटा आईसीयू कक्ष स्थापना गरिसकेको पाइएको छ ।

त्यस्तै, ६०/६० वटा आइसोलेसन र क्वारेन्टाइन बेड तयार गर्ने क्रममा रहेको सीसीएमसीले जनाएको छ । सम्पूर्ण बेडहरु दश दिनभित्र तयार हुने भनिएको छ ।

सेनाको वीरेन्द्र सैनिक अस्पतालमा पनि २० वटा आईसीयू कक्ष तयार हुने क्रममा रहेको बताइएको छ । साथै, ८० वटा आइसोलेसन वार्ड र २० वेडको हाई केयर युनिट तयार हुने क्रममा रहेको बताइएको छ ।

निरीक्षणमा सेनाका उपरथी अशोक सिग्देल, प्राविधिक सहायक रथी डा. सुशिल रावल, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा लगायत सहभागी थिए ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?