Comments Add Comment
पूर्वअर्थमन्त्री डा.लोहनीको सुझाव :

राष्ट्रपति, प्रधानमन्त्री र सांसदको तलब २५ प्रतिशत घटाऔँ

प्रधानमन्त्री ओलीकै संरक्षणमा भ्रष्टाचार भइरहेको दाबी

२७ चैत, काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले कोरोनाविरुद्ध लड्नका लागि राष्ट्रपति, प्रधानमन्त्री र सांसदहरुको २५ प्रतिशत तलब कटौती गर्न सरकारसँग माग गरेका छन् । साना कर्मचारी र सुरक्षाकर्मीको तलब काट्न नहुने उनको सुझाव छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षसमेत रहेका पूर्वमन्त्री लोहनीले उच्च राजनीतिक आहोदामा बसेकाहरुको एक वर्षको तलब २५ प्रतिशत घटाउने हो भने महामारीविरुद्ध लड्न आर्थिक अभाव नहुने बताए । यसो गर्दा राष्ट्रको ढुकुटीमा अर्बौ‌ं रूपैयाँ जम्मा हुने उनको आकलन छ ।

पूर्वअर्थमन्त्री लोहनीले अनलाइनखबरसँग भने, ‘राष्ट्रपति, संवैधानिक अंगका सबै पदाधिकारीहरु र प्रधानमन्त्री, मन्त्रीदेखि सांसदसम्मको तलब र भत्ता एक वर्षको २५ प्रतिशत काटियो भने पैसाको कमी हुँदैन ।’

साथै, निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम पनि महामारीविरुद्धको अभियानमा लगाउनुपर्ने डा. लोहनीको प्रस्ताव छ । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘सांसद विकास कोषको रकम यतापट्टि लगाउनुपर्छ। सांसद विकास कोषको रकमबाटै ३/४ अर्ब आउँछ ।’

राष्ट्रपति, प्रधानमन्त्री र सांसदहरुको तलब नकाटी साना कर्मचारी र सुरक्षाकर्मीको मात्र कटौती गर्न नमिल्ने डा. लोहनीको तर्क छ । उनी भन्छन्, ‘कर्मचारीहरुको तलब नकाट्नोस्, प्रहरीको पनि काट्नुहुँदैन ।’

पूर्वअर्थमन्त्री डा. लोहनीले विकास बजेट कसरी परिचालन गर्ने र खाद्यान्नको जोहो कसरी गर्ने भन्नेबारेमा पनि सरकारले सोच्नुपर्ने अनलाइनखबरलाई बताए ।

‘विकास बजेट त यसै पनि कामै नहुने भइहाल्यो । विकास बजेटको बजेटको पैसा केमा लगाउने, त्यसको पनि एउटा विधि बनाउनुपर्‍यो’ उनले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा त खाद्यान्न नै हो । खाद्यान्नको बचत कति छ, के छ, यी सबै कुराहरु सरकारले हेर्नुपर्‍यो ।’

‘प्रधानमन्त्री राजनीतिभन्दा माथि उठ्न सक्नुहुन्न’

नेकपा नेतृत्वको सरकारले आफूले दिएका सुझाव अनुसार काम गर्नेमा विश्वस्त नरहेको डा. लोहनीले बताए । नेकपाका नेता, प्रधानमन्त्री ओली राजनीतिभन्दा माथि उठ्न नसक्ने डा. लोहनीको आरोप छ ।

डा. लोहनीले अनलाइनखबरसँग भने, ‘यसो गर्न यिनीहरु तयार हुन्छन् जस्तो लाग्दैन, किनभने सांसद विकास कोषको कुरा गर्दा त्यहाँ धेरै नेकपाका सदस्यहरु छन् । हाम्रो पैसा जाला भन्ने होला ।’

कोरोनाविरुद्ध लड्न सबैले राजनीतिभन्दा माथि उठ्नुपर्ने भए तापनि नेकपाका सांसदहरु र प्रधानमन्त्री ओली राजनीतिभन्दा माथि उठ्न नसक्ने डा. लोहनीले संशय प्रकट गरे ।

‘राजनीतिभन्दा माथि उठ्नुपर्‍यो, यिनीहरु राजनीतिभन्दा माथि उठ्न सक्दैनन्’ डा. लोहनीले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्री उठ्न सक्नुहुन्न जस्तो लाग्छ ।’

‘भ्रष्टाचारको संरक्षण प्रधानमन्त्रीबाटै’

डा. लोहनीले यतिबेला भ्रष्टाचारको संरक्षण प्रधानमन्त्री केपी शर्मा ओलीबाटै भइरहेको दाबी गरे ।

‘आजै हेर्नुहोस् त, त्यो कम्प्युटर खरिदमा पनि खाइरहेका रहेछन् । प्रधानमन्त्री भ्रष्टाचार गर्दिनँ भन्नुहुन्छ। तर, उहाँको आँखाका अगाडि यस्ता भ्रष्टाचारहरु उहाँकै नजिक बस्ने मान्छेहरुले गरिरहेका छन्’ डा. लोहनीले भने, ‘तिनीहरुलाई उहाँले कारबाही गर्न नसक्ने हो भने तिनीहरुमात्रै जिम्मेवार छन् भनेर भन्ने अवस्थामा अब नेपाली जनता छैनन् ।’

डा. लोहनीले थपे, ‘भ्रष्टाचारको संरक्षणचाहिँ प्रधानमन्त्रीले नै गरिरहनुभएको छ भन्ने स्थितिमा नेपाली जनता पुगिसकेका छन् ।’

कोरोनाविरुद्ध लड्न नौबुँदे सुझाव

राप्रपा नेता डा. लोहनीले कोरोना भाइरस संक्रमणविरुद्ध लड्न सरकारलाई नौबुँदे सुझाव दिएका छन् –

१. सरकारको लकडाउनको निर्णय सफल पारौँ । देशभित्र कोरोना भाइरस (कोभिड–१९) रोक्ने यही उपाय हो । यो देशभित्र बढ्यो भने स्थिति अकल्पनीय हुनेछ । त्यसैले सरकारी निर्णय पूरा लागू गरौँ।

२. विदेशमा रहेका लाखौँ नेपालीबारे सरकारले ध्यान देओस् । उनीहरु नेपाल फर्कनुपर्ने बाध्यात्मक परिस्थिति आए उनीहरुको कसरी व्यवस्थापन गर्ने भन्नेबारे कार्यक्रम तयार गरियोस् ।

३. देशभित्र तथा सहरी क्षेत्रमा रहेका मजदुरहरु (ज्यालादारी, रिक्सा चालक, असंगठित क्षेत्रमा काम गर्ने) कामदारहरुका लागि कार्यक्रम तयार गरियोस् ।

४. कृषिसँग जोडिएका उद्योग र व्यवसायहरु, जस्तै– डेरी, कुखुरा उत्पादन, दाना उत्पादन, तरकारी उत्पादन आदिलाई कसरी बचाउने भन्नेबारे कार्यक्रम तयार गरियोस् ।

५. पर्यटन उद्योगलाई कमसेकम एक वर्षसम्म सहुलियत प्रदान गर्ने व्यवस्था गरियोस् ।

६. माननीय सांसदहरुलाई उपलब्ध सांसद विकास कोष बन्द गरी उक्त रकम अहिलेको समस्या समाधानका लागि प्रयोग गरियोस् ।

७. राष्ट्रपति, प्रधानमन्त्री, माननीय सांसदहरु संवैधानिक अंगका सदस्य सबैको तलब तथा भत्ता २५ प्रतिशत कटौती गरी कोरोना भाइरससँगको लडाइँमा खर्च गरियोस् ।

८. निजी तथा सरकारी अस्पतालहरु, नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य मन्त्रालयसमेत रहेको समिति बनाई औषधि उत्पादन, वितरण तथा कोरोनसँग लड्न विभिन्न अस्पतालको व्यवस्थापनबारे कार्यक्रम बनाएर लागू गरियोस् ।

९. यो लडाइँमा सफल हुन सरकारले, भनेको कुरो गर्छ, जनतासँग झुटो  बोल्दैन र भ्रष्टाचार गर्दैन भन्ने कुरामा जनता विश्वस्त हुनुपर्छ । त्यसैले भ्रष्टाचारको चर्चा बाहिर आउँदा, के भएको हो तुरुन्त स्पष्ट पार्नुपर्छ । र, भ्रष्टाचारीलाई कारवाही गर्नुपर्छ । तब मात्र जनताले सरकारलाई साथ दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment