Comments Add Comment

कांग्रेसका १० नेताले भने – सांसद कोषको रकम कोरोना रोकथाममा लगाऊ

२७ चैत, काठमाडौं । नेपाली कांग्रेसका १० नेताले सांसद विकास कोष र पूर्वपदाधिकारीको सुविधा कटौती गरेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा लगाउन माग गरेका छन् ।

बिहीबार विज्ञप्ति जारी गरी उनीहरुले संकटको समयमा खर्च कटौतीका लागि सांसद विकास कोषको रकम कोरोना रोकथाम तथा नियन्त्रणमा लगाउन र पूर्वपदाधिकारीले पाउने सुविधा र सुरक्षा कटौती गरेर जनताको हितमा लगाउन माग गरेका हुन् ।

संघीय सरकारले प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत् छ करोड रुपैयाँ दिने गरको छ भने प्रदेशहरुमा पनि सा‌ंसदहरुले खर्च गर्न पाउने गरी निर्वाचन क्षेत्रमा रकम दिने गरिएको छ ।

कांग्रेस नेताहरुले सुरक्षाकर्मीको तब कटाउँदा उनीहरु निरुत्साहित हुनेभन्दै त्यस्तो नगर्न पनि सरकारलाई सचेत गराएका छन् ।

नेताहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, कल्याण गुरुङ र किरण यादवले विज्ञप्ति जारी गरी कोरोना परीक्षणको गति बढाउन आग्रह गरेका हुन् ।

‘यस्तो गतिमा गरिने परीक्षणले भाइरस संक्रमित व्यक्तिको तीब्रगतिमा पहिचान हुन सक्दैन। तसर्थ, सरकारले परीक्षणको दायरा र गति बढाउनु पर्छ। यसका लागि परीक्षण केन्द्रहरू अविलम्ब थपिनु पर्छ’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले कोरोना भाइरसबाट संक्रमित व्यक्तिको पहिचानका लागि आवश्यक पर्ने परीक्षणका लागि चाहिने परीक्षण किट, पीपीइ लगायतका स्वास्थ्य उपकरण तथा सामग्रीको बन्दोबस्त गर्न पनि माग गरेका छन् ।

नेताहरुले विदेशबाट नेपाल आउन चाहने नेपालीलाई सहजै आउन दिने व्यवस्था मिलाइन पनि माग गरेका छन् । ‘सीमामा आइपुगेका नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई नेपाल प्रवेश गराइ क्वारेन्टाइनमा राखिनुपर्छ। आवश्यक स्वास्थ्य परीक्षणको प्रकृया पूरा भएपछि मात्र घर जाने व्यवस्था मिलाइनु पर्छ’ उनीहरुले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment