Comments Add Comment

टाँडीको क्वारेन्टाइनमा राखिएका ८२ जनाको रिपोर्ट नेगेटिभ

२८ चैत, विराटनगर । मोरङको टाँडी स्थित क्वारेन्टाइनस्थलमा राखिएका ८२ जनामा कोरोना संक्रमण नभएको पाइएको छ । छ भारतीय नागरिकसहित ८२ जनाको रिपोर्ट नेगेटिभ आएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले क्वारेन्टाइनमा रहेका उनीहरूको घाँटी र नाकबाट स्वाब लिएर परीक्षण गरेको थियो ।

र्‍यापिड डिटेक्सन टेस्टमार्फत बुधबार ४१ जना र शुक्रबार थप ४१ जनाको स्वाब परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयको निगरानी प्रतिवेदन तथा अनुगमन समितिका संयोजक ज्ञानबहादुर बस्नेतले बताए ।

उनीहरूको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमण परीक्षण गरिएको थियो ।

४१ जना घर फर्काइए

रिपोर्ट नेगेटिभ आएपछि टाँडीको क्वारेन्टाइनमा रहेका ४१ जनालाई घर पठाइएको छ । क्वारेन्टाइनस्थलको व्यवस्थापन जिम्मा लिएको नेपाली सेनाले उनीहरूलाई सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिको रोहबरमा घर पठाएको छ ।

नेपाली सेनाको सूर्यदल गणका गणपति प्रमुख सेनानी रघुनाथ पौडेलले नेगेटिभ रिपोर्ट आएकाहरुलाई जनप्रतिनिधिको जिम्मा लगाइएको बताए । घर पठाइएहरू खोटाङ र उदयपुर स्थायी घरभएकाहरू हुन् ।

अन्यलाई पनि जिम्मा लगाउन सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिसँग सम्पर्क गरिरहेको गणपति पौडेलले बताए ।

वैदेशिक रोजगारीबाट फर्किएका र भारतबाट मोरङको रानी र झापाको काँकडभिट्टा नाका हुँदै प्रवेश गरेकाहरुलाई टाँडीको क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइनमा रहेका धेरैजसो प्रदेश एकका नै रहेका छन् । केही व्यक्ति कैलाली र सुर्खेतका पनि रहेका छन् । क्वारेन्टाइनस्थलमा एक सय ३१ जना राखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment