Comments Add Comment

दोहोरो दबाबमा चीन : सामान्य अवस्थामा फर्किने कि अर्को महामारी रोक्ने ?

२८ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) निस्किएको चिनियाँ सहर वुहानमा लगाइएको लकडाउन अहिले हटाइएको छ । चीनले यसलाई एक विजयको रुपमा लिएको छ । यससँगै अहिले वुहानबाट मानिसहरु बाहिर आउने क्रम बढेको छ ।

वुहान सहर खुलेको खुसी चिनियाँ सञ्चारमाध्यमहरुमा पनि देखिएको छ । कुनै समय यो सहरमा फैलिएको भाइरस नियन्त्रण असफल ठानिएको थियो । तर, अहिले यो सहर भाइरसबाट बाहिर आउन सफल भएको छ ।

चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले वुहान अँध्यारो लकडाउनबाट न्यायो गर्मीयाममा खुला भएको उल्लेख गरेको छ । साथै अन्य सञ्चारमाध्यमहरुले पनि यो सहर विस्तारै सामान्य हिसाबमा फर्किएको उल्लेख गरेका छन् ।

वुहान खुलेको खुसीका बाबजुद अझै पनि एसियामा देखिएको केही खतराका संकेततिर पनि विश्वको चासो बढेको छ । भाइरसको महामारीबाट सामान्य अवस्थामा फर्किने प्रयासमा रहेको चीनमा यो महामारी पुनः मुलुकमा फर्किने खतरा पनि उत्तिकै छ । यस्तोमा चीनले सामान्य अवस्थामा फर्किने र भाइरसको पुनः संक्रमण रोक्ने दुबै कुरालाई एकैसाथ अघि बढाउनु जरुरी छ ।

महामारी नियन्त्रणको प्रयास जारी

गत साता कम्युनिष्ट पार्टीको एक बैठकमा बोल्दै चिनियाँ राष्ट्रपति सि चिनफिङले यो महामारीबाट पार पाउन सबैले आफ्नो तर्फबाट सक्दो प्रयास जारी राख्नुपर्ने बताएका थिए । उनले बाहिरबाट भित्रिने नयाँ संक्रमितलाई नियन्त्रणमा राख्न र स्थानीयरुपमा यसको प्रकोप बढ्न नदिन सबैले सहयोग पुर्‍याउनुपर्ने उनको भनाइ थियो ।

चीनका धेरै स्थानमा अझै कडाइ गरिएको छ । विशेषगरी राजधानी सहर बेइजिङमा यस किसिमको कडाइ देख्न सकिन्छ। यहाँ यातायातका साधन निकै कम मात्र चलेका छन् भने बाहिरबाट आउने मानिसको गतिविधिमा रोक लगाइएको छ । यसको एउटै उद्देश्य बाहिरबाट आउनसक्ने संक्रमितबाट भाइरस फैलिन नदिनु नै हो ।

चीनले उत्तरी क्षेत्रमा रुससँगको सीमामा पर्ने सुइफेन्हे सहरलाई बन्द गर्ने निर्णय गरेको छ । चीनले यो सहरमा कोभिड–१९ का बिरामी उपचारका लागि अस्पताल निर्माण गरिरहेको छ । साथै यहाँका मानिसलाई आफ्नो घरमा बस्न भनिएको छ ।

बिहीबारसम्म यहाँ एक सय २३ जना बाहिरबाट आएका मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । साथै एक सय ३७ जना लक्षण नदेखिएका कोभिड–१९ का बिरामी भेटिएका थिए ।

हुबेई प्रान्तले अझै पनि कडाइका केही नियम भने कायम राखेको छ । अधिकारीहरुले मंगलबार मुलुकमा संक्रमितको संख्या शून्य हुनुको अर्थ जोखिम पनि शून्य छ भन्नु नरहेको बताएका छन् ।

प्रदेशका रेल स्टेसन र रेल सञ्चालकहरुले डिसइन्फेक्सन स्प्रे छर्किने कामलाई जारी नै राखेका छन् । ७६ दिन लामो लकडाउन खुलेसँगै वुहानबाट यो साता हजारौं मानिसले सहर छाड्ने अनुमान गरिएको छ । वुहानमा लकडाउनभन्दा पहिला धेरै मानिसहरु घुम्न आएका थिए । लकडाउनका बेला उनीहरु वुहानमा नै थुनिएका थिए ।

चीनका ग्वान्झाओ र सेन्जेनजस्ता सहरले यसअघि नै सेल्फ क्वारेन्टाइनको व्यवस्था लागू गर्न सक्ने बताइसकेका छन् । साथै नियमित रुपमा परीक्षणको कामलाई अघि बढाउँदै भाइरस रोक्ने प्रयास जारी राखिने उल्लेख गरेका छन् ।

वुहानमा पनि भाइरसको परीक्षण गरेका मानिसहरुले एक सरकारी एपको प्रयोग गर्नुपर्ने हुन्छ । यो एपमा क्युआर कोडको सहयोगमा उनीहरुको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिने गरिन्छ । यसमा हरियो संकेत देखिएका मानिसलाई मात्र घरबाट बाहिर निस्किने अनुमति छ । अहिले पनि मानिसहरुको नियमित तापमान नाप्ने काम भइरहेको छ ।

कुनै लक्षण नदेखिएका मानिसमा पनि कोरोना भाइरसको संक्रमण हुन सक्ने भएकाले त्यस्ता व्यक्तिबाट स्वस्थ व्यक्तिमा रोग सर्न सक्ने आशंकाका कारण सतर्कता अपनाइएको छ ।

आरामको समय छैन

अहिले युरोप र अमेरिकाको तुलनामा चीन र अन्य एसियाली मुलुक यो महामारीमा केही अगाडि देखिएका छन् । एसियाली मुलुकमा भने यसको त्रास केही कम छ ।

चीनमा भने मानिसहरु काममा फर्किन थालेका छन् । यो अवस्थामा लकडाउन खुकुलो बनाउँदै जाँदा चीनमा फेरि भाइरसको महामारी फैलिने जोखिम छ । अहिले अन्य मुलुकमा महामारी बाँकी रहेको अवस्थामा चीनमा त्यहाँबाट आउने मानिसको माध्यमबाट भाइरस फैलिन सक्ने जोखिम रहेको अनुसन्धानकर्ताहरुले चेतावनी दिइसकेका छन् ।

चीनले कुनै खोप वा औषधि अर्थात् रोग प्रतिरोधी क्षमता बढाउने माध्यमबाट मुलुकमा संक्रमितको संख्या घटाएको होइन। त्यसका लागि चीनले लगाएको लकडाउन नै निकै प्रभावकारी बन्यो । अब फेरि व्यवसाय, कारखाना, विद्यालय बिस्तारै सुरु हुनेबित्तिकै यो भाइरस चीनमा फेरि सजिलै बढ्न सक्छ ।

सतर्कता

चीनका साथै अन्य एसियाली मुलुक पनि कोरोना भाइरस नियन्त्रण प्रयासलाई तत्काल रोक्ने पक्षमा छैनन् । सिंगापुरमा दुई सय ८७ नयाँ संक्रमित भेटिएका छन् । महामारी सुरु भएयता सिंगापुरमा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका हुन् । शुक्रबार सार्वजनिक गरिएको तथ्यांकअनुसार संक्रमितमध्ये तीन जना मात्र अन्य मुलुकबाट आएका थिए ।

यसले पनि समुदायमा यो भाइरस फैलिसकेको देखाएको छ । सिंगापुरले मुलुकमा गरेको कडाइपछि भाइरसको महामारी फैलिएको हो । त्यससँगै पुनः कडाइका नियमहरु अघि सारिएको छ ।

हङकङमा पनि लकडाउन खुकुलो पारिएसँगै भाइरस संक्रमित बढेको थियो । यसमा धेरैजसो विदेशबाट आउनेहरु छन् । यससँगै सरकारले पुनः सतर्कता बढाउन सबैलाई आग्रह गरेको छ ।

दक्षिण कोरियाले कोरोना भाइरसविरुद्ध चालेको कदमको अहिले धेरै मुलुकले प्रशंसा गरिरहेका छन् । भाइरस नियन्त्रण गर्न यो मुलुक धेरै हदसम्म सफल पनि भएको छ । तर, उसले पनि यो भाइरस फैलिन नदिन भन्दै धेरै भिड हुने स्थानमा भने प्रतिबन्ध कायम राखेको छ ।

चीनले अहिले अन्य कुनै पनि मुलुकको तुलनामा धेरै आर्थिक र स्वास्थ्य क्षेत्रको नोक्सानीको सामना गरेको छ । यस्तो अवस्थामा उसले सामान्य अवस्थामा फर्किने प्रयास गर्नु स्वाभाविक हो । तर, अब उसले बाहिरबाट मुलुकमा फैलिन सक्ने भाइरसको महामारी कसरी रोक्छ भन्ने कुरा भने हेर्न बाँकी छ ।

सीएनएनको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment