Comments Add Comment

भारतद्वारा नेपालसहित १३ देशलाई औषधि निर्यातको अनुमति

२८ चैत, काठमाडौं । भारतले नेपालमा हुँदै आएको औषधि निर्यात जारी राख्ने भएको छ । भारतले शुक्रबार नेपालसहित १३ देशलाई हाइड्रोक्सीक्लोरोक्विन (एचसीक्यू) र सिटामोल औषधि निर्यातको अनुमति दिने निर्णय गरेको छ ।

भारतीय विदेश मन्त्रालयका एक अधिकारी दम्मु रविले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार भारतले नेपाल, भुटान, बंगलादेश, अफगानिस्तान, माल्दिभ्स, अमेरिका, स्पेन, जर्मनी, ब्राजिल, बहराइनलगायतका देशलाई यी औषधि निर्यातको अनुमति दिइएको छ ।

कोरोना भाइरसको महामारीसँगै विश्वभर यी दुई औषधिको माग उच्च छ । भारत हाइड्रोक्सीक्लोरोक्विन औषधि धेरै उत्पादन तथा निर्यात गर्ने देश हो । मलेरियाका लागि उपयुक्त हुने भनिने हाइड्रोक्सीक्लोरोक्विन औषधि उपलब्ध गराइदिन यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका थिए ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीबीच शुक्रबारै औषधिलगायतका अत्यावश्यक सामान आयात–निर्यातका विषयमा टेलिफोन वार्ता भएको थियो ।

वार्ताको क्रममा उनीहरुबीच कोरोना भाइरस नियन्त्रणको लागि अहिले भइरहेका प्रयास र यसका लागि आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको थियो । उनीहरुबीच अहिले दुवै मुलुकमा लकडाउन रहेकाले एकअर्काको मुलुकमा रहेका नागरिकहरुलाई आवश्यक कोष र स्वास्थ्य स्याहार प्रदान गर्ने सहमति भएको थियो ।

नेपाल सरकारको तर्फबाट ओलीले भारतलाई आवश्यक मेडिकल सामग्रीहरु निरन्तर पठाएकोमा भारत सरकारलाई धन्यवाद दिएका थिए । उनीहरुले एकअर्को मुलुकले गरिरहेको आवश्यक सामग्रीको आपूर्तिमा सन्तोष व्यक्त गर्दै यो क्रम आगामी दिनमा पनि जारी राख्नुपर्नेमा जोड दिएका थिए ।

उनीहरुले सार्क मुलुकको बीचमा भएको भिडियो कन्फ्रेन्सको माध्यमबाट कोरोना भाइरसको नियन्त्रणका लागि समयमा नै सही कदम चाल्नका लागि सहयोग पुगेको भन्दै खुसी व्यक्त गरेका छन् ।

ओलीले भारतमा कोभिड–१९ को कारण मृत्यु हुने मानिसप्रति दुःख व्यक्त गरे । साथै मोदीले पनि नेपाली जनताले लकडाउनको पालना गरेकोमा आभार व्यक्त गरेका थिए ।

वार्ताको क्रममा उनीहरुको बीचमा दुई मुलुकबीच रहेको बहुपक्षीय मैत्री सम्बन्धको विषयमा पनि छलफल भएको थियो । साथै नेपालमा द्विदेशीय व्यापारलाई पनि यथावत रुपमा निरन्तरता दिने भएको छ । नेपालले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि भारतको प्रयासलाई साथ दिएसँगै भारतले पनि अत्यावश्यक सामग्रीमा रोक नलगाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment