Comments Add Comment

दरबन्दी घटेपछि १० एसएसपीको डीआईजीमा बढुवा सिफारिस

२९ चैत, काठमाडौं । गृह मन्त्रायलले नेपाल प्रहरीका १० जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

बढुवा गरिएका मध्ये चार जना ०४९ वैशाखमा भर्ना भएका टोलीका छन् भने ६ जना ०४९ चैतमा भर्ना भएका अधिकृत छन् ।

नेपाल प्रहरीको वेवसाइटमा प्रकाशित सूची अनुसार बढुवा सिफारिसको १ नम्बरमा घनश्याम अर्याल छन् भने त्यसपछि क्रमशः प्रकाशजंग कार्की र वसन्तकुमार पन्त छन् ।

उनीहरुको ब्याचका शैलेश थापा क्षेत्री र हरिबहादुर पाल प्रहरी अतिरिक्ति महानिरीक्षक छन् ।

एक वर्षपछि भर्ना भएको टोलीबाट सहकुल थापा पहिलो नम्बरमा बढुवा भएका छन् । उनी अहिले महानगरीय अपराध अनुसन्धान महाशाखामा कार्यरत छन् ।

थापा अघि महाशाखाको नेतृत्व सम्हालेका धिरजप्रताप सिंह आफ्नो ब्याचबाट दोस्रो नम्बरमा बढुवा भएका छन् । यो टोलीका विश्वराज पोखरेल १९ वैशाखमै डीआईजीमा बढुवा भइसकेका छन् ।

सिंहपछि वसन्तकुमार लामा, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार विसी बढुवा सूचीमा समेटिएका छन् ।

लामा र धानुकले यसअघि काठमाडौं प्रहरी प्रमुखको नेतृत्व सम्हालिसकेका छन् भने सुवेदी हाल काठमाडौंको नेतृत्व गरिरहेका छन् ।

बिसी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत छन् ।

डीआईजीको दरबन्दी घटाउने विषयले प्रवेश पाएपछि लामो समयदेखि बढुवा प्रक्रिया रोकिएको थियो ।

अन्ततः प्राविधिकबाहेक २६ जना रहेको डीआईजीको दरबन्दी घटाएर १४ कायम भएपछि बढुवा भएको हो । यसअघि नै प्रहरीमा ४ जना डीआईजी छन् ।

सरकारले दरबन्दी घटाउने निर्णय गरेपछि यसले प्रहरीमा आकर्षण घटाएको भन्दै अधिकृतहरुले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment