+
+
Shares

सशस्त्रमा ७ डीआईजी पद रिक्त, ४ महिनादेखि हुन सकेन बढुवा

लामो समय बढुवा रोकिँदा डीआईजीले कमाण्ड गर्ने कार्यालयहरू एसएसपीको भरमा चल्नुपर्ने अवस्था छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते १३:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सशस्त्र प्रहरी बलमा सात डीआईजी पद चार महिनादेखि रिक्त छन् र बढुवा प्रक्रिया रोकिएको छ।
  • गत मंसिरमा मन्त्रिपरिषद्ले तीन डीआईजी दरबन्दी थप गर्ने निर्णय गरेको थियो।
  • डीआईजी पद रिक्त हुँदा महेश्वरी बाहिनी, बैद्यनाथ बाहिनी र स्टाफ कलेज एसएसपीको कमान्डमा छन्।

१ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) मा सात डीआईजी (नायव महानिरीक्षक) रिक्त भएको चार महिना बित्दा पनि बढुवा हुन सकेको छैन । लामो समय बढुवा रोकिँदा डीआईजीले कमाण्ड गर्ने कार्यालयहरू एसएसपीको भरमा चल्नुपर्ने अवस्था छ ।

गत २ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रमा तीन डीआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको थियो । प्रशासनतर्फ २ र प्राविधिकतर्फ कानुनमा १ गरी तीन दरबन्दी थप भएको थियो ।

तीन दरबन्दी थप भएको करिब डेढ महिनापछि २३ पुसमा तीन डीआईजीहरू अनिवार्य अवकाशमा गएका थिए । त्यतिबेला डीआईजीहरू शम्भु सुवेदी, कमल गिरी र कुलबहादुर नेम्वाङ अवकाशमा गए ।

उनीहरू अवकाशमा गएसँगै रिक्त डीआईजीको संख्या ६ पुग्यो । १ फागुनमा अर्का डीआईजी कुमार न्यौपाने पनि अवकाशमा गए । न्यौपाने अवकाशमा गएसँगै रिक्त डीआईजीको संख्या सात पुगेको छ । उनी अवकाशमा गएको दुई महिना समेत बितिसक्यो । चार महिनादेखि रिक्त हुन थालेको डीआईजी पदमा अहिलेसम्म बढुवा हुन सकेको छैन ।

डीआईजी बढुवाका लागि गृह सचिवको नेतृत्वमा समिति बन्छ । जहाँ गृह सचिवसँगै सशस्त्र आईजीपी र एक एआईजी सदस्य सचिव रहने व्यवस्था छ ।

तर लामो समयदेखि गृह मन्त्रालयले डीआईजी बढुवाको प्रक्रिया रोक्दा वृत्ति विकासमा असर परेको छ । सुशीला कार्की नेतृत्वको सरकारमै पालामा रिक्त डीआईजी बढुवाको प्रक्रिया अघि बढाइएको थियो ।

तर त्यतिबेला निर्वाचन लगायतका कामहरू भन्दै बढुवा रोकिएको थियो । त्यसपछि गठन भएको बालेन शाह नेतृत्वको सरकारले अहिलेसम्म बढुवा रोकेर रोखेको जानकारहरू बताउँछन् ।

विवादरहित ढंगले कसरी बढुवा गर्ने भन्ने छलफलमै रहेकाले बढुवा प्रक्रिया केही लामो भएको दाबी गृह मन्त्रालय सम्बद्ध स्रोतको छ ।

लामो समयसम्म डीआईजीमा बढुवा नहुँदा डीआईजीले कमान्ड गर्ने कार्यालयहरू अहिले एसएसपीले कमान्ड गरिरहेका छन् ।

डीआईजीले कमान्ड गर्ने महेश्वरी बाहिनी सुर्खेत, बैद्यनाथ बाहिनी कैलालीको कमान्ड अहिले एसएसपीले गरिरहेका छन् । त्यस्तै सशस्त्र प्रहरीको स्टाफ कलेजलगायत डीआईजी कमान्ड हुने ठाउँमा पनि एसएसपीले कमान्ड गरेका छन् ।

१८ वैशाखमा हालका सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरेर अवकाशमा जाँदैनछन् । उनी अवकाशमा गएको अवस्थामा फेरि एक डीआईजीको दरबन्दी रिक्त हुन्छ ।

एआईजी नारायण दत्त पौडेल, वंशी दाहाल र गणेश ठाडा मगर मध्ये एक जना आईजीपी बन्ने छन् । त्यसपछि रिक्त एक एआईजीमा एक डीआईजीको बढुवा हुँदा अर्को एक डीआईजी पद रिक्त हुन्छ । नयाँ आईजीपी नियुक्त भएसँगै डीआईजीको बढुवा गर्ने हो भने झनै लामो समयसम्म दरबन्दी रिक्त हुने र वृत्ति विकासमा असर पर्ने देखिन्छ ।

बढुवाका लागि १३ प्रतिस्पर्धी

७ डीआईजीका लागि १३ एसएसपीबीच प्रतिर्स्धा हुने भएको छ । जसमा नेपाल प्रहरीमा भर्ना भएर सशस्त्रमा स्थानान्तरण भएर आएका प्रवीण कँडेलसहित १३ जना प्रतिस्पर्धामा छन् ।

बाँकी १२ जना भने सिसं. २ का ब्याचीहरू हुन् । यो ब्याचबाट दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट एक वर्षअघि २०८१ फागुनमा डीआईजी भएका थिए ।

यही ब्याचबाट दिग्विजय सुवेदी, भुपेन्द्र केसी, कमल तिउसिना, निरकृष्ण अधिकारी, सुदिरजंग थापा, किरण बस्नेत, माधवप्रसाद पौडेल, राजेन्द्र खड्का, उद्धव न्यौपाने, नरेन्द्र सेन, शंकर खनाल र किरण ढुंगाना प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?