Comments Add Comment

औषधि अभाव छैन, तर भारतबाट ल्याउन केही व्यवधान

२९ चैत, काठमाडौं । कोरोनाको त्रास र लकडाउनका बीच पनि नेपालमा औषधिको अभाव उत्पन्न भएको छैन । तर, भारतबाट औषधि आयातमा केही समस्या रहेको व्यवसायीले बताएका छन् ।

नेपाल औषधि व्यवसायी संघकाअनुसार लकडाउनका कारण भारतबाट औषधि आयातमा जटिलता थपिएको छ । त्यसका बाबजुद पनि आयात नरोकिएको संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले बताए ।

‘कुनै व्यवसायीले एउटै ट्रकमा आफ्नो औषधि भारतबाट मगाएमा सहजै भन्सारबाट जाँचपास हुन्छ,’ उनले भने, ‘तर, फरक–फरक बिक्रेताहरुले सानो–सानो परिमाणमा औषधि मगाउँदा भने भन्सार जाँचविन्दुमा आइपुगेको औषधि नेपाल ल्याउन समस्या छ ।’

व्यवसायीकाअनुसार ट्रान्सपोर्टरले भारतीय भन्सार विन्दुमा ल्याएर विक्रेताहरुको सामान छुट्याउन ट्रकबाट झार्नुपर्छ । त्यो औषधि नेपाल ल्याउन फेरि अर्को गाडी चाहिन्छ । त्यहाँ झारिएको औषधिको प्याक फेरि लोड गर्न मजदुरको अभाव रहेको श्रेष्ठले बताए ।

‘ट्रान्सपोर्टरहरुले लोडरको मात्रै हैन, गाडीको पनि अभाव भएको बताएका छन्,’ श्रेष्ठले भने, ‘यस्तो समस्या समाधान गर्न हामी सहजीकरण गरिरहेका छौं ।’

भारतीय सीमासम्म आइपुगेको सामान नेपाल ल्याउन कठिनाइ भए पनि ट्रान्सपोर्टहरुको समन्वयमा सहजीकरणको प्रयास भइरहेको संघले बताएको छ ।

भारतले यसअघि २६ प्रकारका औषधि निर्यातमा प्रतिबन्ध लगाएको थियो । तर, अहिले सो प्रतिबन्ध हटिसकेको छ ।

अहिलेसम्म भारतबाट पारासिटामोल बाहेकका औषधि आवश्यक परिमाणमा आयात भइरहेका छन् । पारासिटामोलको उत्पादन नेपालमै पनि भइरहेकाले कुनै समस्या नरहेको श्रेष्ठ बताउँछन् । भारतले प्रतिबन्ध लगाएको परासिटामोल इन्जेक्सन भने नेपालमा थोरै संख्यामा मात्रै उत्पादन हुन्छ । तर, मौज्दात रहेकाले सो औषिधको पनि अभावको अवस्था नरहेको श्रेष्ठले बताए ।

हाइड्रोक्सीक्लोरोक्विन आयात गर्न छलफल

व्यवसायीले कोरोनाको उपचारमा प्रभावकारी मानिएको भनिएको मलेरियाको उपचारमा प्रयोग हुने औषधिको आयातका लागि भारतीय कम्पनीहरुसँग छलफल थालेका छन् । भारतले शुक्रबार नेपालसहित १३ देशलाई हाइड्रोक्सिक्लोरोक्विन (एचसीक्यू) र सिटामोल औषधि दिने निर्णय गरेको थियो ।

कोरोना भाइरसको महामारीसँगै विश्वभर यी दुई औषधिको माग उच्च छ । भारत हाइड्रोक्सिक्लोरोक्विन औषधि धरै उत्पादन गर्ने देश हो ।

‘हामीले त्यस्ता औषधि उत्पादक भारतीय कम्पनीहरुसँग छलफल थाल्छौं । सरकारी स्तरबाटै आपूर्ति गर्ने भनिएको हो कि हैन भन्ने बुझ्न बाँकी नै छ,’ श्रेष्ठले भने, ‘निजी कम्पनीमार्फत आपूर्ति गर्न दिने हो भने हामी आयात गर्छौं ।’

औषधि व्यवसायीहरुले नेपालमा औषधि अभाव अवस्था नरहेको बताएका छन् । अझै २ महिनालाई पुग्ने मौज्दात रहेको र भारतबाट पनि औषधि आयात भइरहेकाले औषधि मौज्दातमा नलाग्न उपभोक्तालाई उनीहरुले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment