
३० चैत, तुलसीपुर । दाङको तुलसीपुरमा खाद्यान्न पसलहरु आइतबारदेखि दैनिक तीन घण्टा खोल्न थालिएको छ । अब हरेक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म पसल खोल्न सुरु गरिएको हो ।
उद्योग वाणिज्य संघ तुलसीपुरका अध्यक्ष बिरु रावतले नयाँ वर्षको अवसरमा स्थानीय प्रशासनसँग समन्वय गरेर पसल खोल्न थालिएको बताए । पसलहरुमा सामाजिक दुरी कायम गर्दै किनमेलको व्यवस्था गरिएको उनले बताए ।
यसअघि स्थानीय प्रशासनले तुलसीपुरमा हप्तामा तीन दिनमात्रै खाद्य पसलहरु खोल्न दिएको थियो । हप्तामा तीन दिन पसल खुल्दा किनमेल गर्नेहरुको भिड बढेको भन्दै हरेक दिन तीन–तीन घण्टा पसल खोल्ने निर्णय गरिएको हो ।
लकडाउनको बेला पसल खोल्दा किनमेल गर्नेहरुको चहल पहल बढ्ने र कोरोना संक्रमणको जोखिम हुने भन्दै कतिपयले सामाजिक सञ्जालमार्फत् विरोध जनाएका छन् ।
सदरमुकाम घोराहीमा उद्योग वाणिज्य संघले दैनिक उपभोग्य वस्तुहरुको घुम्ती पसल सञ्चालन गरेको छ । घोराही उपमहानगरपालिकाका हरेक वडाहरुमा घुम्ती पसल पुग्छ र उपभोक्ताले आफ्नो घर अगाडिबाट चाहिएका सामान किन्न पाउँछन् ।
दाङको अर्को बजार लमहीमा पनि बिहान ९ बजेसम्म हरेक दिन पसलहरु खुल्छन् । नयाँ वर्षको अवसरमा किनमेल गर्न आएकाहरुको आज भने भिड देखिएको छ ।
प्रहरी निरीक्षक अर्जुन थपलियाले अन्य दिनहरुको तुलनामा आइतबार लमही बजारमा भिड धेरै देखिए पनि प्रहरी परिचालन गरेर व्यवस्थित गरिएको बताए ।
लकडाउन उल्लंघन गर्दै सवारी साधन सन्चालन गर्नेहरुमाथि पनि कडाइ गरिएको उनले बताए । लकडाउन उल्लंघन गर्दै चलाइएका सवारी साधनको साँचो खोसेर राख्ने गरिएको प्रहरी निरीक्षक थपलियाले बताए ।
प्रतिक्रिया 4