Comments Add Comment

वीरगञ्जमा खोई सतर्कता ? र्‍यापिड टेस्ट किट केका लागि ?

३० चैत, वीरगञ्ज । तीनजना भारतीय जमातीलाई कोरोना संक्रमण भएको पुष्टि हुनासाथ वीरगञ्जमा सरोकारवाला निकाय जसरी सक्रिय हुनुपर्ने हो, त्यो नदेखिएको पाइएको छ ।

औपचारिकरुपमा सञ्चार माध्यमलाई नबताए पनि नारायणी अस्पतालमा शनिबार राति ८ बजे नै तीनजना भारतीयमा पोजेटिभ देखिएको खबर आएको थियो । त्यसयता छपकैयास्थित दुईवटा मस्जिदबाट २६ जनालाई क्वारेन्टाइनमा राख्ने बाहेक अन्य काम केही भएको छैन ।

कोरोना संक्रमित बिरामीलाई राख्ने कोभिड अस्पताल वीरगञ्जमा छैन । आइसोलेसनमै राखेर उपचार गर्नुपर्ने बाध्यता छ । प्रदेश २ सरकारले महानगरपालिकामा पीसीआएर मेसिन दिने र कोभिड अस्पताल बनाउन सहयोग गर्ने भने पनि त्यो कार्यान्वयन भएको छैन ।

यस्तो अवस्थामा कोरोना संक्रमित भेटिएको सूचना लामो समयसम्म बाहिर नल्याउँदा जोखिम बढेको नारायणी अस्पतालका चिकित्सकहरु बताउँछन् । उनीहरु कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा छलफलमा बसेका छन् ।

चिकित्सक संघ नारायणीका अध्यक्ष डा अरुण सिंह भने चाँडै एक्सनमा जानुपर्नेमा सूचना लुकाउँदा चिकित्सक स्वयं अप्ठ्यारोमा परेको बताउँछन् । ‘औपचारिक जानकारी राति नै आएपछि त्यसलाई सार्वजनिक गर्नुपर्ने हो, त्यसले मानिसलाई सतर्क रहन मद्दत पुग्थ्यो’ डा सिंहले अनलाइनखबरसँग भने ‘हामीलाई सार्वजनिक नगर्नू, पहिला मन्त्रालय नै डिक्लियर गर्छ भनिएको छ । तर लामो समयसम्म सार्वजनिक गरिएन । यसले हामी अप्ठ्यारोमा परेका छौं ।’

कोरोना संक्रमण फैलन नदिन जुन किसिमको तयारी हुुनुपर्ने हो, त्यो नदेखिएको उनले बताए । ‘चिकित्सक, स्वास्थ्यकर्मी र समुदाय सबै जोखिममा छन्,’ उनले भने ‘अब के गर्ने, कसो गर्ने भनेर चिकित्सकहरु छलफल गर्दैछौं ।’

कोरोनाले छपकैया क्षेत्रमा समुदाय नै प्रभावित हुन सक्नेतर्फ ध्यान दिँदै आसपासको ठाउँ शील गर्ने र छिटोभन्दा छिटो स्क्रिनिङ र टेष्ट गर्नुपर्ने नारायणी अस्पतालका अर्का चिकित्सक डा. उदयनारायण सिंह बताउँछन् । ‘जुन ठाउँका मानिस संक्रमित भएका छन्, त्यो आसपासको क्षेत्रलाई शील गर्नुपर्छ,’ उनले भने, ‘उनीहरुको सम्पर्कमा आएका व्यक्तिलाई ट्रेसिङ गरेर परीक्षणको दायरामा ल्याउन सक्नुपर्छ । अन्यथा समुदायमै खतरा आउन सक्छ ।’

नारायणी अस्पतालमा एउटा मात्रै भेन्टिलेटर छ । चारवटा आईसीयूको प्रबन्ध छ भने आइसोलेसन वार्ड २५ बेडको छ । नारायणी अस्पतालमा ३ सय थान र्‍यापिड टेष्ट किट आएको छ, जिल्ला जनस्वास्थ्य कार्यालय र नेशनल मेडिकल कलेजलाई १/१ सय थान र्‍यापिड टेष्ट किट प्रदान गरिएको छ ।

तर संक्रमित फेला परेको गाउँमा परीक्षण शुरु गरिएको छैन ।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुर टेष्ट किट आए पनि सुरक्षा उपकरण नहुँदा स्वास्थ्यकर्मी फिल्डमा जान सक्ने अवस्था नरहेको बताउँछन् । ‘जन स्वास्थ्यमा सय थान र्‍यापिड टेष्ट किट आएको छ । तर व्यक्तिगत सुरक्षा उपकरण नहुँदा स्वास्थ्यकर्मी साथीहरु फिल्डमा जान सक्ने अवस्था छैन,’ ठाकुरले भने, ‘स्वास्थ्यकर्मीले व्यक्ति-व्यक्तिलाई गएर भेट्नुपर्ने हुन्छ, उनीहरु स्वयं जोखिममा रहने भएकोले सुरक्षा सामाग्री आएपछि काम गर्न सकिन्छ ।’

उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई होटलको व्यवस्था

नारायणी अस्पतालमा कोरोना संक्रमित र आइसोलेसनमा रहेका बिरामीको उपचारमा संलग्न चिकित्सकलाई बस्न होटलको व्यवस्था मिलाइएको छ । वीरगञ्जको आदर्शनगरस्थित होटल कन्ट्री ईनमा उनीहरुलाई बस्ने व्यवस्था मिलाइएको छ ।

तीन/तीनजना चिकित्सक, नर्ससहितका तीनवटा टीम उपचारमा संलग्न छन् । उनीहरुलाई ३० वटा कोठा भएको होटल कन्ट्री ईनमा बस्ने व्यवस्था मिलाइएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष बुद्धिबहादुर पन्तले अनलाइनखबरलाई जानकारी दिए ।

उनी त्यो होटलका सञ्चालकमध्येका एक हुन् । शनिबारदेखि नै चिकित्सक, स्वास्थ्यकर्मी राख्ने भनिए पनि खानाको प्रबन्ध गराउन नसक्ने भनेपछि समस्या भएको थियो । तर, अध्यक्ष पन्तले चिकित्सकलाई होटलमै खानाको प्रबन्ध मिलाउने व्यवस्था मिलाइसकिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment