Comments Add Comment

मेरो तर्फबाट रु. ५० हजार है !

डेढ हप्ताअघि भारतका प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो तलबको ३० प्रतिशत कोरोना भाइरस (कोभिड १९) बिरुद्वको आपतकालीन कोषमा जम्मा गने निर्णय गरेको खबर सुन्न पाइयो । हरेक बिहान धेरैजसो नकारात्मक र दुखद् समाचार सुनिने गरेकोमा यो खबरले मलाई खुशी तुल्यायो ।

त्यसपछि म बन्दाबन्दीमा नेपालतर्फको यस्तै खबर पर्खेर बस्न थालें । सुरुमा त अब हाम्रो सरकारमा बसेकाहरुले यसको राम्रो सिको आज या भोलि नै गर्छन् भन्ने आशा थियो । तर, त्यस्तो सकारात्मक खबर ललितपुरको धोबीघाटमा रहेको मेरो घरसम्म आइपुगेन । उहाँहरुले यस्तो निर्णय गरिसकेर समाचार मात्र नआएको हो कि जस्तो पनि लाथ्यो, घरिघरि । देउसी भैले पारामा मतो मिलाइरहँदा समय लागेको हुनसक्ने अर्को सम्भावना थियो ।

हामी नेपालीमा मौलिकता कम छ, प्रायः अरुकै देखासिकी गरिरहेका हुन्छौं, त्यो पनि लोसे–लोसे तालले । हाम्रो उखानले पनि कहन्छ– ‘देखासिकी गरी खा, आफूसुके (आहारिसे) मरीजा ।’ र पनि, नेपालको खबर आएन, बरु भारतकै साहुमहाजन जुर्मुराएर अम्बानीले यति, मित्तलले उति दिएका खबरहरु आउन थाल्यो ।

अहिले मेरो गोजीको टाँक खोल्दा ५० हजार एक रुपैयाँ रहेछ । पालना गर्नैपर्ने बन्दाबन्दीको बेला यति रकम कसरी कोषमा जम्मा गर्ने होला ? भन्ने अलमलमा छु । यसका लागि सजिलो तरिका के छ, सुझाव पाउँ

यता हाम्रोमा चाँहि देशको ठूलोमध्येको एउटा औद्योगिक–व्यापारिक घरानाका अग्रवाललाई प्रहरीले पक्रेको खबर आयो । ती नेपाली महाजन भाइले भूमण्डलीय ब्याधि आइलागेका बेला कोरोना निवारण सम्बन्धि सामान आयात गरेर कालो धन्दा गर्न लागेका थिए रे !

मैले यसो पनि सम्झें– हाम्रा प्रधानमन्त्री, मन्त्री र नेताहरुले आफ्नो खल्तीबाट ‘दुई पैसा’ झिकेर कोरोना विरुद्वको कोषमा जम्मा गरेर ल योबेलाको तरिका यो हो है भन्ने सन्देश बेलैमा दिन सकेको भए ती अग्रवाल जस्ता उद्योगपति–व्यापारीले आफ्नो आम्दानीको ‘चार पैसा’ कोषमा हाल्ने प्रेरणा पाउँथे कि !

त्यसो त यसबीचमा अर्का उद्योगपति–व्यावसायी बसन्त चौधरीले कोरोना विरुद्वको कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने समाचारले मेरो मनलाई शान्त्वना पनि दिएकै हो । देशमा महाविपत भित्रिन लागेको बखत मन अलिकति ठूलो पारेर मुठी खोल्ने चौधरी जस्ता कर्मवीरहरु हाम्रोमा देखिएनन् ।

यस्ता सकारात्मक र नकारात्मक समाचारहरुबीच मन खेलाइरहँदा म एक अकिञ्चन शिक्षक पनि आफ्नो गोजी छाम्ने निर्णय गर्न पुगें । गृहस्थ आश्रममा आर्जन गरेको सानो निवृत्तिभरणले वानप्रस्थ आश्रम जसोतसो ठेलिरहेको छु । अब त लगभग डेढ महिनापछि म सन्यास आश्रममा पनि प्रवेश हुँदैछु ।

चार आश्रमको विषय सत्य युगको सामाजिक व्यवस्था भए पनि चौथो आश्रम पूरापूरी छिचोल्ने उम्मीद भने राखेको छैन । ईश्वरको कृपा भएछ र आफ्ना पूर्खाहरुको आशिर्वाद लागेछ भने ‘सहस्र चन्द दर्शन’ भने गर्ने मन छ । यो मनुवालाई ‘ईच्छा मरण’को वरदान छैन । फेरि ईच्छा मरणले कुनै कालमा असजिलो अवस्था ल्याउने पनि बुझियो ।

हिजोआज हाड–मासुको नश्वर शरीरमा होस रहुन्जेल समाजलाई कति र कसरी सहयोग पुर्याउन सकिएला भनेर पनि घोत्लिने गरेको छु । त्यसैले आफूले सरकारबाट पाउने मासिक निवृति मरणमा अतिकता थप गरी कोरोना भाइरस नियन्त्रण गर्न खडा गरिएको कोषमा जम्मा गर्ने मनसुवा गरेको छु ।

अहिले मेरो गोजीको टाँक खोल्दा ५० हजार एक रुपैयाँ रहेछ । पालना गर्नैपर्ने बन्दाबन्दीको बेला यति रकम कसरी कोषमा जम्मा गर्ने होला ? भन्ने अलमलमा छु । यसका लागि सजिलो तरिका के छ, सुझाव पाउँ ।

यो मेरो सानो निर्णय र छुद्र लेखोटले अरु नेपाली मनहरु पनि पगार्न सक्ला कि भन्ने आशय लुकाउदिनँ । साथै, यो निवेदन पनि छ– हामी मानिसका सबै भाँडा भरिन सक्छन् । तर, एउटा भाँडो कहिल्यै भरिँदैन ।  त्यो भाँडोको नाम हो– लोभ । तसर्थ पनि मैले यो भाँडो भर्न नपर्खेर कमिजको गोजी खोतलेको हुँ ।

यहाँनेर यो नेपाली उखान पनि सम्झौं– ‘मागेर धनी र दिएर गरीब कहिल्यै भइँदैन ।’ यसरी पनि सोचौं– यो बेलासम्म मेरो देश र समाजबाट थुप्रै कुरा पाएको छु । तर, सचेत मन र उदार भावले दिएको के पो छु र ? फेरि अहिले यति दिँदा ‘एक थुकी सुकी, हजार थुकी नदी’ हुने सम्भावना पनि छ ।

मलाई एउटा जर्मन उखान पनि याद आयो (अघि म एक कार्यकाल संघीय गणतन्त्र जर्मनीका लागि शाही नेपाली राजदूत भएको थिएँ ।) त्यो उखान भन्छ–Die Laste Hemde hat keire Tashe  (तिम्रो अन्तिम कमिजमा खल्ती हुने छैन) ।

यता हाम्रोमा पनि घाट वा जंगल जानेबखत ‘एकफेर गोजी छाम्नुपर्यो’ भन्ने अवस्था हुँदैन । तसर्थ होस–चेत हुँदाकै बखत आफ्नो गोजीको व्यवस्थापन गर्नु उचित हो । यो अवस्थाको ज्ञान भएरै विश्व विजेता सिकन्दरले आफ्नो दाहसंस्कार गर्न लैजाँदा हात कफिन बाहिर निकाल्न मृत्युपूर्व आदेश दिएका थिए ।

आजको हाम्रै परिवेशमा भेलबाढी आएको बखत अग्रवालजी माछा मार्न निस्कँदा त्यही भेलमा परे भने चौधरी भेल रोक्न अग्रसर देखिए । दुबैको रोजाई आ–आफ्नै हो । कोभिड– १९ को यो विश्वव्यापी व्याधिका बखत बाँकी हामीले आ–आफ्नो गच्छेअनुसार चौधरीजीको सिको गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment