Comments Add Comment

कोरोना वीरगञ्जमै छ कि भारतबाट आयो ? सरकारसँग जवाफ छैन

कोरोना भेटियो टेन्सन, बिरामीले ढाँटेपछि झन् टेन्सन !

१ वैशाख, वीरगञ्ज । पर्साको छप्कैयास्थित मक्की जामे मस्जिदमा बस्दै आएका तीनजना भारतीय नागरिकमा आइतबार कोरोना संक्रमण देखियो ।

यो घटनाले वीरगञ्जमा जति त्रास र तनाब फैलियो, त्योभन्दा बढी तनावचाहिँ संक्रमितले झूठो वयान दिँदा उत्पन्न भएको छ । उनीहरुमा कोरोना कहाँबाट सर्‍यो ? सरकारले अहिलेसम्म भेऊ पाउन सकेको छैन ।

विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले समेत बारम्बार भन्दै आइरहेका छन्, कोरोनाको लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्था वा स्थानीय सरकारको सम्पर्कमा जानोस् । बिरामीले आफ्नो यथार्थ हिस्ट्री बताएर कन्ट्याक ट्रेसिङमा सहयोग गर्नुहोस् ।

छप्कैयाको मस्जिदमा बस्दै आएका तीन जनामा शनिबारै कोरोनाको पोजेटिभ लक्षण देखिएको थियो । तर, उनीहरुले झूठो वयान दिएका कारण स्थानीय प्रशासनलाई कोरोनाको जरो पत्ता लगाउन सकस परेको छ । ‘सुरुमा उनीहरुले आफूलाई नेपाली नागरिकजस्तो देखाउनका लागि नेपाली भाषामै कुरा गर्न चाहे,’ पर्साका एक सुरक्षा अधिकारीले अनलाइनखबरसँग भने, ‘बुझ्दै जाँदा उनीहरु भारतीय रहेछन् ।’

अनुसन्धानबाट तथ्य खुल्दै गएपछि उनीहरुले भारतीय नागरिक भएको स्वीकार गरे । तर, फेरि पनि पत्यारिलो वयान दिएनन् ।

दिल्ली फर्कने टिकटसमेत साथमा रहेका उनीहरुले आफूहरु केही महिनादेखि नै नेपालमा रहेको र सप्तरी, सुनसरी, मोरङतिर विभिन्न मस्जिदमा घुमेर वीरगञ्ज आइपुगेको वयान दिएका छन् ।

संक्रमितको यो वयान सत्य हो भने उनीहरुमा नेपालबाटै कोरोना संक्रमित भएको मान्नुपर्ने हुन्छ र यो अर्को तनावको विषय हुने निश्चित छ । किनभने, मोरङ, सुनसरी र सप्तरीमा समेत यसले आशंका बढाउनेछ ।

अल्मलियो सरकारी टोली

प्रारम्भिक विवरण अनुसार संक्रमितहरु दिल्ली बस्ने ४५ बर्षीय, उत्तर प्रदेश वागपात बस्ने ५५ बर्षीय र दिल्लीकै ३७ बर्षीय व्यक्ति हुन् ।

संक्रमित तीनैजना चैत २७ गते बिहीबार वीरगञ्जस्थित नारायणी अस्पतालमा चेकजाँचका लागि आएका थिए । सोही दिन थ्रोट स्बाव संकलन गरेर हेटौंडास्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो । चैत २८ गते शुक्रबार नै प्रयोगशालाले तीनजनाको रिपोर्ट पोजेटिभ देखिएको भन्दै पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशाला लैजाने जानकारी गराएको थियो ।

त्यसलगत्तै उनीहरुलाई बोलाएर वीरगञ्जको नारायणी अस्पतालको आइसोलेसनमा राखिएको थियो । शनिबार बेलुका नै उनीहरुको रिपोर्ट पोजेटिभ नै देखिएको थियो । तर, त्यसको जानकारी स्वास्थ्य मन्त्रालयले आइतबार दिउँसो मात्रै सार्वजनिक गर्‍यो । नारायणी अस्पतालको आइसोलेसनमा कार्यरत डा. उदयनारायण सिंहका अनुसार उनीहरुको अवस्था भने सुधारोन्मुख छ ।

वीरगञ्जमा भेटिएका तीनैजना संक्रमितको कन्ट्याक्ट ट्रेसिङको काम आइतबारदेखि नै जारी छ । जनस्वास्थ्य मन्त्रालयले खटाएको टोली, नारायणी अस्पताल र जनस्वास्थ्य कार्यालयको टोली त्यस कार्यमा खटिएका छन् ।

त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायको संयुक्त टोली पनि सँगसँगै लागिपरेको छ । संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएका ५९ जनाको र्‍यापिड टेस्ट भइसकेको छ । उनीहरुको सबैको रिपोर्ट नेगेटिभ देखिएको छ ।

त्यसैगरी ३८ जनाको थ्रोट स्वाब संकलन भइसकेको छ । स्वाब परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशाला पठाउने तयारी भइरहेको छ । संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिलाई धमाधम क्वारेन्टाइनमा राख्ने कार्य भइरहेको अधिकारीहरुले बताएका छन् ।

तर, यी तीनजना व्यक्तिहरुमा नेपालबाटै कोरोना सर्‍यो कि भारतबाट ? सोमबार रातिसम्म सरकारी टोली निश्कर्षमा पुग्न सकेको छैन ।

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीकाअनुसार संक्रमितहरुको पीसीआर विधिबाट नै परीक्षण गरिएको हो र उनीहमा भाइरस लोड अत्याधिक देखिएकाले संक्रमण भएको ५/७ दिनभन्दा धेरै भएको छैन भन्ने अनुमान गर्न सकिन्छ । तर उनीहरुले लामो समयदेखि नेपालमै छौं भनिनरहेका छन् । उनले भने, उनीहरुले जेजे भनिरहेका छन् त्यो र कोरोनाको विज्ञान मिलिरहेको छैन ।’

कन्ट्याक्ट ट्रेसिङका लागि नेपाली सेना समेत सहभागी भएको संयुक्त कार्यदल खटिएको छ । वीरगञ्जस्थित चण्डीनाथ गणका गणपति मदनजंग राणासमेतको अगुवाइमा संक्रमितको सम्पर्कमा आएका व्यक्तिबारे सूचना संकलन गर्ने, रिपोर्ट तयार गर्ने र ट्रयाक गर्ने काम भइरहेको छ ।

‘संक्रमितहरु आइसोलेसनमा छन्, उनीहरुसँग कुराकानी गर्न नमिल्ने हुँदा अरुकै कुराको भर पर्नुपर्ने अवस्था छ, उनीहरुले बाहिरबाट संक्रमण लिएर आएका हुन् वा यहाँ आएपछि सरेको हो, केही पत्ता लाग्न सकेको छैन,’ राणाले भने ‘संक्रमितको प्रत्यक्ष सम्पर्कमा को को गएका छन्, एकपछि अर्को व्यक्ति पहिचान गर्दै जाने हो, त्यसमा लागेका छौं । ‘

धेरै ठाउँमा घुमेको र वीरगञ्ज आएकै पनि धेरै दिन भइसकेकाले उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुको पहिचानमा समस्या भइरहेको उनी बताउँछन् ।

स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग र विश्व स्वास्थ्य संगठनबाट आएका ५ सदस्यीय टोलीले पनि कन्ट्याक्ट ट्रेसिङ शुरु गरेको छ । टोलीले जनस्वास्थ्य कार्यालयका अधिकारी, नारायणी अस्पतालका चिकित्सकसँगको छलफलपछि संक्रमितसँग ट्राभल हिस्ट्री बुझेर सोमबारबाटै कन्ट्याक्ट ट्रेसिङ शुरु गरेको छ ।

तर, टोलीले तीनजनामा कहाँबाट कोरोना संक्रमण भयो भन्ने प्रश्नको जवाफ पत्ता लगाउन सकेका छैनन् । स्वास्थ्य सेवा विभागका बरिष्ठ कन्सल्टेन्ट मेडिकल जनरलिष्ट डा. नरेन्द्रकुमार खनालले तीनजना संक्रमितको संक्रमणको जरो पत्ता लगाउने कोशिस भइरहेको बताए । ‘कोरोना भाइरस भनेको चीनबाट उत्पत्ति भयो, ट्राभल गर्ने मानिसले विश्वभरि फैलाए भनेर बुझ्दै आएको हो’ डा. खनालले भने ‘उहाँहरु डिसेम्बरदेखि नेपाल बाहिर गएको छैन, बाहिरका मानिसले हामीलाई भेटेको छैन भन्नुहुन्छ, कहाँबाट संक्रमित भए त भनेर जरो पत्ता लागेको छैन ।’

एक सुरक्षा अधिकारीले अनलाइनखबरसँग भने, ‘संक्रमित र उनको समूहका व्यक्तिले मोरङ, सुनसरी र सप्तरीमा घुमेको दाबी गरे पनि उनीहरु दिल्लीबाटै नेपाल आएका र उतै र्फकने टिकट लिएको पाइएकाले भारतबाटै कोरोना संक्रमित भएर नेपाल आएको हुनुपर्छ । पूर्वी तराईमा घुमेको दाबी प्रमाणित हुन बाँकी छ ।’

संक्रमित र सम्पर्कमा आएकाहरुको वयान

संक्रमित तीनजना र उनीहरुको समूहमा रहेका विभिन्न व्यक्तिले दिएको वयान अनुसार संक्रमित तीन जनासहित १४ जनाको टोली १८ डिसेम्बर २०१९ मा बिराटनगरबाट नेपाल प्रवेश गरेर रानीस्थित मस्जिदमा बसेको थियो ।

डिसेम्बर २० देखि ३० तारेखसम्म उनीहरु सुनसरीको दुबहीस्थित जामे मस्जिदमा बसेका थिए ।

त्यसपछिको पछिल्लो तीन हप्ताको भ्रमण विवरण खुलेको छैन । प्रहरीका अनुसार २१ मार्चमा अर्थात चैत ८ गतेदेखि १३ सम्म वीरगञ्ज-१ बजार छप्कैयाको मस्जिदमा एकसाता बसेको भनिएको छ । त्यसपछि मार्च २६ तारेख (चैत १३) देखि उनीहरु वीरगञ्ज-२ छपकैया प्रहरी बिटसँगै रहेको यतिम खाना दारुल यातमा ईस्लामिया मस्जिद (मक्की जामे मस्जिद) मा बसेको विभिन्न व्यक्तिको वयान उधृत गर्दै प्रहरी स्रोत बताउँछ ।

मक्की जामे मस्जिदमा जमातीहरुको व्यवस्थापनमा खटिएका शेख सकिल मियाँका अनुसार जनवरी १ देखि १३ फेब्रुअरीसम्म सुनसरीको इनरुवामा बसेर उनीहरु १४ फेब्रअरीमा सप्तरी निस्केका थिए । सप्तरीको बोदे बसाईन नगरपालिकामा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी भएर फेब्रुअरी १९ तारेखमा वीरगञ्ज आएका थिए । त्यस दिन वीरगञ्जमा बसेर उनीहरु फेब्रअरी २० तारेखमा वीरगञ्जकै सुगौली गाउँस्थित मस्जिदमा गएका थिए । त्यहाँ रहेका ५/६ वटा मस्जिदमा उनीहरुले एक महिना बिताएका थिए ।

मार्च २० गते उनीहरु वीरगञ्जकै मर्कजमा फर्केका थिए । मर्कजमा नेपाल र भारतका जमातीहरु भेला हुने गर्छन् । जमातीहरु घुम्ने क्रममा मस्जिदमा हुने धार्मिक प्रवचनहरुमा सहभागी हुने गरेको मियाँ बताउँछन् । ‘जमातमा धार्मिक प्रवचनहरु हुन्छन्, धार्मिक प्रवचनमा समुदायका अन्य धेरै मानिसहरु पनि सहभागी हुन्छन्,’ मियाँ भन्छन् ।

संक्रमितले एटीएमबाट पैसा निकालेको पाइयो

कट्याक्ट ट्रेसिङ र ट्राभल हिस्ट्री संकलनका क्रममा संक्रमित व्यक्तिमध्ये एकजना जमाती समूहका र अर्का एक व्यक्ति रक्सौलको एटीएममा पैसा निकाल्न गएको तथ्य खुलेको छ ।

फेबु्रअरी २६/२७ गतेतिरै उनीहरु रक्सौल गएर एटीएमबाट पैसा निकालेर फर्केका थिए ।

एटीएमबाट पैसा निकालेको तथ्य खुले पनि यसवीचमा उनीहरु वीरगञ्जमा कहाँ कहाँ घुमे र कोकोसँग सम्पर्क गरे भन्ने सबै खुलिसकेको छैन । त्यसबेला नेपाल र भारत दुवै देशमा लकडाउन आह्वान भइसकेको थिएन ।

रक्सौल गएर एटीएमबाट पैसा निकालेर ल्याएको कुरा उनीहरुबाट आए पनि त्यो धेरै दिनअघिको भएको डा. नरेन्द्रकुमार खनाल बताउँछन् ।

वीरगञ्जमा कोरोना समुदायस्तरमै फैलिसकेको हो कि ?

वीरगञ्जमा भारतीयहरुमा मात्र कोरोना भेटिएको होइन, उहाँ अर्को पनि केस देखापरेको छ । वीरगञ्जबाटै कैलाली गएकी एक महिलामासमेत कोरोना संक्रमण पुष्टि भएको छ ।

यसले वीरगञ्जमा कोरोना समुदाय स्तरमै फैलिसकेको हो कि भन्ने आशंका उब्जिएको छ । तर, यी दुबै केसमा संक्रमणको उद्गम पत्ता लाग्न नसकेको अवस्था छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय वीरगञ्जमा भेटिएको केसलाई गम्भीर रुपमा लिनुपर्ने बताउँछन् ।

उनी भन्छन् ‘संक्रमित क्षेत्रमा गएर आएको छैन भन्छन्, पर्सामै संक्रमित व्यक्तिको सम्पर्कमा आए भनौं भने यसअघि केस देखिएको थिएन । तर, उनीहरुको भनाइलाई काट्न सक्ने कुनै आधार हामीसँग छैन । ट्राभल हिस्ट्री बिरामी र उनीहरुसँग आएका मानिसहरुले भनेकै कुरालाई मान्नुपर्छ ।’

डा. उपाध्यायले अगाडि भने ‘अहिले संक्रमण कसरी भयो भन्ने कुरा नै यक्ष प्रश्न बनेको छ । हामी त्यही प्रश्नको उत्तरको खोजीमा छौं ।’

संक्रमित लुकीछिपी बसेका हुन सक्छन् 

त्यसो त कैलालीमा सोमबार कोरोना पुष्टि भएकी ६५ बर्षीया बृद्धाको पनि कन्ट्याक्ट ट्रेसिङ हुन सकेको छैन । वीरगञ्ज नाकामा व्यवसाय गर्ने उनीसहित १७ जनालाई १७ चैत्रमा स्थानीय प्रशासनले उद्धार गरेर कैलाली पुर्‍याएको थियो । ‘ट्राभल हिस्ट्री’ हेर्दा उनीको संक्रमणको स्रोत पत्ता लगाउन सकिएको छैन ।

संक्रमण फैलिएको देशको भ्रमण गरेकी पनि छैनन् र संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएको हो ती व्यक्ति को थिए भन्ने पनि पहिचान भएको छैन । संक्रमितको ट्राभल हिस्ट्री हेर्ने जिम्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई दिएको छ ।

महाशाखाका निर्देशक वासुदेव पाण्डेका अनुसार वीरगञ्जबाट गएकी कैलालीकी संक्रमित महिलाको संक्रमण स्रोत पत्ता लगाउन सकिएको छैन । पाण्डे भन्छन्, ‘यो केस हाम्रा लागि पनि अनौठो हो ।’ यो केसको प्रकृति हेर्दा वीरगञ्जमा अझै धेरै संक्रमितहरू हुन सक्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन् । उनीहरूको एउटै डर छ, ‘वीरगञ्जदेखि कैलालीसम्म यात्रा गर्दा उनको सम्पर्कमा कतिजना आए र उनीहरू कहाँ के गर्दैछन् ?’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल केन्द्रका डा. शेरबहादुर पुनका अनुसार वीरगञ्ज नाकामा भारतीय नागरिकहरूको आवत-जावत नरोकिएकाले पनि यो संक्रमण देखिएको हुन सक्छ ।

उनी भन्छन्, ‘यो केसमा वीरगञ्जमा देखिएको तीनजना भारतीय नागरिकको सम्बन्ध हुने सम्भावना छ । संक्रमित भारतीय नागरिकहरू लामो समय नेपालमै रहनु र वीरगञ्जमा चिया बेच्दै आएकी महिलामा संक्रमण देखिनुको केही अन्तरसम्बन्ध हुन सक्छ ।’

डा. पुनका अनुसार यो केसले अरू धेरै मानिसमा पनि संक्रमण भएको हुन सक्ने संकेत गर्छ । सोही कारण धेरै भन्दा धेरै नमुना परीक्षण र छिटोभन्दा छिटो कन्ट्याक्ट ट्रेसिङ गरिएन भने कोरोनाले महामारीको रूप लिन सक्छ । उनी भन्छन्, ‘यो केसले भारतबाट लकडाउनको समयमा लुकीछिपी धेरै मानिस नेपाल प्रवेश गरेको प्रष्ट पार्छ ।’

डा.पुनको तर्कलाई पुष्टि गर्न आज मात्रै रौतहटमा देखिएको संक्रमितको केसले सहयोग गर्छ ।

रौतहटमा संक्रमण देखिएका १९ बर्षीय युवक चैत १६ गते मध्यराति लकडाउनको समयमा भारतबाट नेपाल आएका थिए ।
दिल्लीको ब्याग फ्याक्ट्रीमा काम गर्ने उनी भारतीय सीमाबाट नेपाल प्रवेश गरेर इशनाथ नगरपालिकस्थित घरमा पुगेका थिए । तर, परिवारले उनलाई घर बाहिरै राखे । त्यसको भोलिपल्ट नगरपालिकाले उनलाई क्वारेन्टाइनमा राख्यो ।

उनीजस्तै अन्य धेरै मानिसहरू लकडाउनको पालना नगरी लुकीछिपी नेपाल प्रवेश गरेको कारण कोरोना संक्रमण फैलिन सक्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित भन्छन्, ‘अहिलेसम्म देखिएका केसहरू आफै टेस्ट गर्न पुगेका देखिन्छन् । यी पछिल्ला घटनाले अब सरकारले नै चासो दिएर संक्रमितहरू खोज्नुपर्ने देखाउँछ ।’

विशेष गरी भारतबाट लुकीछिपी नेपाल छिरेका नेपालीहरूको परीक्षण गर्नुपर्ने उनको तर्क छ । तर, लकडाउनको समयमा लुकीछिपी नेपाल-भारत नाका कति नेपाल प्रवेश गरे भन्ने तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment