Comments Add Comment

हनुमान जीसँग योग, ध्यान र दर्शनको कुरा

‘हनुमान जी’ भनेपछि धेरैलाई थाहा हुन्छ, चलचित्र ‘पशुपतिप्रसाद’का एक पात्र । हनुमानको आवरणभित्र आफुलाई लुकाएर राख्ने उनी को हुन् ?

रविन्द्रसिंह बानियाँ ।

खासमा त उनी निर्माता हुन् । जात्रा, जात्रै–जात्रा लगायत चलचित्रका । उनी अभिनयमा भने उत्तिकै खप्पिस छन् । अहिलेको चर्चा भने अभिनयको होइन, उनको जीवनको फरक पाटोको हो । चलचित्रको रसरंगभन्दा अलग छ उनको जीवनशैली ।

खाली पेटमा बेसार पानी

रबिन्द्र सिंह बानियाको उठ्ने नियमित तालिका छ, बिहान ६ बजे । तर, ओछ्यान छाड्नका लागि भने केही समय लाग्छ । उठेपछि खाली पेटमा बेसार पानी पिउँछन् । ‘केही बर्ष भयो नियमित रुपमा बेसार पानी पिएको’ उनी सुनाउँछिन्, ‘यसमा श्रीमतीको हात छ, उनैले बनाएर ल्याइदिन्छन् ।’

बेसार पानी पिउनुपर्छ भन्ने कुरा चाहि उनलाई एक पोषणविद्ले सुझाएकी हुन् । उनी ठट्यौली शैलीमा सुनाउँछन्, ‘अब उमेर बढ्ने होइन, ढल्कने क्रम सुरु भयो । त्यसैले हेल्थ मेन्टेन गर्नका लागि बेसार पानीबाट दिनचर्या सुरु गर्छु ।’

सूर्य नमस्कार

उनको दिनचर्या सूर्य नमस्कारबाट हुन्छ । यो एक योग अभ्यास हो । सरल । तर, शरीरको समूचित व्यायाम हुने । यसमा १२ आसन हुन्छ । सूर्य नमस्कार गर्दै शरीरलाई विभिन्न १२ आसनमा मोड्नुपर्छ ।

सोझो उभिने । नमस्कारको पोजमा बस्ने । त्यसपछि निहुरिएर आफ्नो चरण स्पर्श गर्ने । शरीरलाई लमतन्न भूँइको सतहमा मिलाउने । यस्तै किसिमको यो आसनमा सम्पूर्ण व्यायाम हुने बताइन्छ । यो आसन कम्तीमा १२ पटक विधीपूर्वक गर्नुपर्छ ।

सूर्य नमस्कार पछि उनी शरीरलाई लचिलो बनाउने अन्य व्यायाम गर्छन् ।

सात्विक खानपान

उनले माछा, मासु छाडेको धेरै भयो । अहिले उनी त्यस्तै र त्यतीमात्र खाना खान्छन्, जो शरीरले पचाउँछ । शरीरका लागि अनुकुल खानेकुरा मात्र खान्छन् । अर्थात सागपात, गेडागुडी, झोलिलो पदार्थ ।

उनी सकेसम्म आफ्नो दैनिक खानामा सागपात, सलाद र फलफूल छुटाउदैनन् ।

खानेकुरा पोषिलो र ताजा चाहिन्छ उनलाई । त्यस्तै खाने तालिका पनि मिलाउँछन् । बिहान उठेर सातु, दुध खान्छन् । बेलाबखत श्रीमतीले सागपात मिलाइएको रोटी बनाउँछिन्, बिहानको नास्ता यस्तै हुन्छ ।

त्यसो त सामान्य दिनमा उनी घरबाहिर निस्कदा झोलामा नै खाना बोकेर  हिँड्ने गर्थे । समय समयमा खाइरहन्थे । बाहिर रेष्टुरेन्टको खानाबाट बच्नका लागि उनले यो उपाय निकालेका हुन् ।

प्राय उनले खाने भनेको गाँजर, मुला, कांक्रा यस्तै हो । कहिले ब्राउन राइस पनि । बिहान नास्तापछिको खाना उनी १ बजे खान्छन् ।

सेतो खानेकुरा त्यागे

उनी स्वास्थ्य र खानपानप्रति निकै सचेत छन् । माछामासु त उनले त्यागेका छन् नै, चिनीजन्य खानेकुरा पनि । उनी चिनी सेवन गर्दैनन् । त्यस्तै मैदा । सेतो चामल । यी सेतो खाद्यपदार्थ उनी खाँदैनन्, जो स्वास्थ्यवद्र्धक मानिदैन ।

त्यसो भन्दैमा उनमा यी सबै खानपानप्रति वितृष्णा भने होइन । केवल आफ्नो स्वास्थ्यका ख्याल राख्न मात्र उनले यस्तो शैली अपनाएका हुन् । वाध्यत्मक अवस्थामा भने उनले आफुलाई केही खुकुलो राख्न पनि सक्छन् । जस्तो कि, कसैले एक टुक्रा मासु खाउँ भन्यो भने उनी नाइनास्ती गर्दैनन् ।

आध्यत्मिक चिन्तन

रिम्पोछे गुरु श्रीधर राणाको शरणमा पुगेपछि उनको जीवनको रंग र ढंग नै परिवर्तन भयो । उनी बुद्धमार्गी भए । यसले आफुलाई पथभ्रष्ट हुन नदिएको उनको बुझाई छ । भन्छन्, ‘बुद्धिज्ममा आएपछि मेरो जीवन कायपलट भयो ।’

उनी के पनि ठोकुवा गर्छन् भने, ‘पञ्चशिल मानियो भने हाम्रो जीवनको ८० प्रतिशत समस्या छु मन्तर हुन्छ ।’ जब हामी आफु शुद्ध हुन्छौ, अनुशासित हुन्छौ, धेरै समस्याहरु स्वत हट्छ । किनभने यो आत्म अनुशासनको कडी हो । जब आफुले आफैलाई अनुशासित जीवन शैलीमा डोहो¥याइन्छ, न मन खिन्न हुन्छ, न जीवन छिन्न–भिन्न हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment