Comments Add Comment

ट्रम्पले सिफारिस गरेको औषधिले कोरोना निको हुँदैन : अध्ययन

३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुझाएको औषधि हाइड्रोक्सिक्लोरोक्विनले कोरोना भाइरस (कोभिड-१९) का बिरामीलाई कुनै फाइदा नगर्ने एक अध्ययनले देखाएको छ । फ्रान्सेली शोधकर्ताले गरेको अनुसन्धानमा यो औषधिले कोरोना भाइरसका बिरामीमा कुनै असर नगर्ने देखिएको हो । यो औलोको उपचारमा प्रयोग हुने औषधि हो ।

फ्रान्सेली वैज्ञानिकहरुले एक सय ८० बिरामीमा हाइड्रोक्सिक्लोरोक्विन औषधिको परीक्षण गरेका थिए । अनुसन्धानमा औषधि लिएका र नलिएका मानिसहरुमा कुनै फरक पाइएको थिएन । शोधकर्ताहरुले फ्रान्सका १२ अस्पताल र सार्वजनिक अनुसन्धान संस्थामा यो अनुसन्धान गरेका थिए । यो औषधिबारे गरिएको यो अहिलेसम्मकै सबैभन्दा प्रभावकारी अनुसन्धान मानिएको छ ।

मेडआरसिभ डटओआरजीमा मंगलबार प्रकाशित भएको अध्ययनको प्रतिवेदनमा शोधकर्ताले अस्पतालमा भर्ना भएका बिरामीमा यो औषधिको कुनै प्रभाव नदेखिएको उल्लेख गरेका छन् ।

हाइड्रोक्सिक्लोरोक्विनको आविष्कार सन् १९४५ मा भएको थियो । यो औषधि दोस्रो विश्वयुद्धमा औलोको उपचारका लागि सैनिकहरुले यो औषधि प्रयोग गर्थे । यस वर्षको सुरुमा कोरोना भाइरसको औषधि पत्ता लगाउने प्रयासमा चिनियाँ वैज्ञानिकले क्लोरोक्विन र यसबाट बनेका अन्य औषधिले यो रोगसँग लड्न सक्ने पत्ता लगाएका थिए । तर, यसको प्रमाण अहिलेसम्म भेटिएको भने छैन ।

यसैक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो ओषधिको प्रयोग कोभिड-१९ को उपचारका लागि गर्न सुझाव दिएका थिए । अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले पनि आपतकालीन अवस्थामा यो औषधिको प्रयोग कोभिड-१९ को उपचारको लागि गर्न गत महिना अनुमति दिएको थियो ।

यसअघि चीनको वुहानमा ६२ जना मानिसमा गरिएको एक अध्ययनले भने यो औषधिले बिरामीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको देखाएको थियो । तर, यो अनुसन्धानको फलोअप रिसर्च फ्रान्सको पेरिसमा ११ जनामा अनुसन्धान गर्दा मेल खाएको थिएन । त्यसैले यो औषधिको विषयमा विश्वभर अन्योल छाएको थियो ।

शोधकर्ताहरुले वुहानमा गरिएको अनुसन्धान सामान्य संक्रमण देखिएका मानिसमा गरिएकाले उनीहरुको स्वास्थ्यमा उल्लेख्य सुधार आएको देखिएको बताएका छन् । यो अवस्थामा धेरै मानिस निको हुन्छन् ।
यो पनि पढ्नुहोस ट्रम्पले सिफारिस गरेको औषधि खाँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर

अहिले गरिएको अनुसन्धान भने अस्पताल भर्ना भएका मानिसमा गरिएको हो । यो अनुसन्धान अनुसार अस्पताल भर्ना हुँदा हाइड्रोक्सिक्लोरोक्विन औषधि दिइएका २० दशमलव ५ प्रतिशत बिरामीलाई आईसीयूमा भर्ना गर्नुपरेको थियो वा मृत्यु भएको थियो । जबकी यो औषधि नदिएका मानिसमा भने आईसीयूमा पुग्ने वा मृत्यु हुनेको संख्या २२ दशमलव १ प्रतिशत थियो । शोधकर्ताका अनुसार तथ्यांकको हिसाबमा भने यी दुवै हकमा कुनै भिन्नता भने छैन ।

शोधकर्ताहरुले यो औषधिमा साइड इफेक्टको पनि चेतावनी दिएका छन् । उनीहरुका अनुसार हाइड्रोक्सिक्लोरोक्विनमा हृदयाघातसम्मको जोखिम रहने बताएका छन् । उनीहरुका अनुसार यो औषधि लिएका १० प्रतिशत बिरामीको मुटुको धड्कन असामान्य देखिएपछि उनीहरुको उपचार पनि रोकिएको थियो । अनुसन्धानकर्ताका अनुसार यो औषधि लिँदा मानिसमा हृदयाघातको जोखिम पनि उत्तिकै रहन्छ ।

स्रोत : द साउथ चाइना मर्निङ पोष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment