Comments Add Comment

मोरङको टाँडीस्थित क्वारेन्टाइनबाट ९९ जना घर फर्किए

४ वैशाख, विराटनगर । प्रदेश सरकारले तयार परेको मोरङको टाँडीमा क्वारेन्टाइन स्थल खाली हुदै गएको छ । बिहीबारसम्म क्वारेन्टाइनबाट ९९ जना घर फर्किएका छन् ।

नमुना परीक्षण गर्दा कोरोना संक्रमण नभएको पाइएपछि क्वारेन्टाइनमा बसेकाहरु धेरैजसो घर फर्किएका छन् । लकडाउनअघि झापाको काकडभिट्टा र मोरङको रानी नाकाबाट नेपाल प्रवेश गरेका र विदेशबाट फर्किएका प्रदेश १ का वासिन्दालाई क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइनस्थल व्यवस्थापनको जिम्मा लिएको नेपाली सेनाले घर फर्कने व्यक्तिलाई उसको स्थायी ठेगाना भएको स्थानीय तहको जिम्मा लगाएको छ ।

क्वारेन्टाइनबाट घर फर्केपछि पनि एक साता घरमै क्वारेन्टाइनमा बस्न भनिएको छ ।

नेपाली सेनाको सूर्यदल गणका गणपति प्रमुख सेनानी रघुनाथ पौडेलले कोरोना संक्रमण नदेखिएकाहरुलाई जनप्रतिनिधिको जिम्मा लगाइएको बताए ।

क्वारेन्टाइनमा हालसम्म बसेका १ सय २२ जनामा कोरोना संक्रमण परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको निगरानी प्रतिवेदन तथा अनुगमन समितिका संयोजक ज्ञानबहादुर बस्नेतले नेपाली सेनाले क्वारेन्टाइनमा ६ भारतीयसहित १ सय २२ जनाको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताए ।

सुरुमा प्रयोगशालामा परीक्षण गरिए पनि पछि क्वारेन्टाइनमा बस्नेहरुको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो ।

अब क्वारेन्टाइनमा रहेका १२ जनाको मात्र परीक्षण गर्न बाँकी छ । उनीहरु लकडाउनपछि रानी नाकाबाट क्वारेन्टाइनमा ल्याइएकाले दुई सातापछि परीक्षण गरिने संयोजक बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment